https://www.saurabhgroup.com/

सरकारको नयाँ नीतिले ५० हजार चेली घर फर्किन पाएनन्

दुबई (यूएई) २० भदौ  – गैरआवासीय नेपाली संघ (एनआरएनए) को कार्यक्रममा दुबई आएका श्रम मन्त्रालयका उपसचिव विपीन आचार्यलाई नेपाली महिलाले घेरे । र, सोधे, ‘लौ भन्नुहोस्, हामीलाई कुन कानुन प्रयोग गरेर घर फर्किनबाट रोक्नुभयो ? ’

आचार्य अलमल्ल परे । उनीहरूले प्र्रश्न बर्साइरहे, ‘के हामीलाई सरकारले देशमै ५०–६० हजारको जागिर दिन सक्छ ? सक्दैन भने किन हाम्रो मुख थुन्छ ? किन बाटो छेक्छ ? किन खुसी लुट्छ ? ’

उनीहरू रहेछन्– दुबईमा कार्यरत नेपाली घरेलु कामदार । सरकारले डेढ वर्षदेखि महिला घरेलु कामदारको श्रम स्वीकृति रोकेको छ । पहिल्यैदेखि आएर काम गरिरहेकालाई पनि पुनः श्रम स्वीकृति दिँदैन । उक्त नियमका कारण खाडीमा कार्यरत ५० हजारभन्दा बढी महिला बिदामा घर फर्कन पाएका छैनन् । जानेलाई फर्किएर आउन रोकिन्छ ।

गुल्मी तम्घासकी सम्झना पन्थीले आमा बिरामी हुँदा पनि भेट्न जान पाइनन् । ‘आमालाई नेपालमा आईसीयूमा राखिएको थियो । भाइ–बहिनी सानै छन् । स्याहार गर्ने कोही छैन’, उनले भनिन्, ‘जन्म दिने आमालाई त्यस अवस्थामा भेट्न जान मैले पाइनँ । गएपछि सरकारले आउन दिँदैन । उतै बसौं यस्तो राम्रो जागिर छाड्नुपर्छ ।’

उनी यस्तो घरमा काम गर्छिन्, जहाँ उनले छोरीसरह सम्मान पाउँछिन् । ‘मलाई कुनै दुःख चिन्ता छैन । आमालाई भेट्नसम्म घर जान नपाएकामा मेरो म्याडम स्वयम् चिन्तित हुनुहुन्छ’, उनले गुनासो राखिन्, ‘मैले कुनै अपराध गरेको छैन । विदेश आएर जागिर खान किन नपाउनु ? ’

नवलपरासी दुम्कीबासकी लक्ष्मी पौडेल केही महिनाअघि घर गइन् । उनको पुरानो श्रम स्वीकृति थियो । त्रिभुवन विमानस्थलमा अध्यागमन अधिकारीहरूले रोक्दै भने, ‘तपाईं जान पाउनुहुन्न ।’

‘किन ? ’ उनी कड्किइन् ।

‘सरकारले घरेलु कामदारलाई फर्किएर जान रोकेको छ’, उताबाट उत्तर आयो ।

‘म सबैलाई फाँडेर भित्र छिरें । लु हेरौं त कसरी छाप लगाउनुहुन्न रहेछ ? म किन जान पाउँदिनँ ? ’ उनले त्यस दिनको घटना सुनाइन्, ‘तीनजना भेला भए र सबैले मिल्दैन भन्दै जिद्दी गरे । तर, म तीनै जनासँग लडेर आएँ । तिनीहरूले रोकेर रोकिन्छु म ? बाध्य भएर छाप लगाए ।’

अब भने उनमा त्यो हिम्मत छैन । फेरि गयो भने आउन नपाउनेमा ढुक्क छिन् । नियमको पासोले बाँधिगए भने आफ्नो तर्कको केही लाग्ने छैन भन्ने उनलाई थाहा छ । ‘सरकारले लगाएको नियम संविधान र कानुनविपरीत छ’, उनी भन्छिन्, ‘त्यो थाहा छ । तर, एयरपोर्टमा बुझ्ने को छ र ? सेटिङ मिलाएर पैसा खुवायो भनेचाहिँ तिनैले सरक्क आउन दिन्छन् भन्ने सुनेकी छु ।’

रूपन्देही देवदहकी सरस्वती रिजाल पौडेल १३ वर्षदेखि दुबईमा घरेलु श्रमिक छिन् । ‘मैले काम गर्ने घरमा मेरै खटनपटन चल्छ । कुनै समस्या छैन । मलाई वर्षैपिच्छे टिकटसहित बिदा दिन्छन् । पहिला जान्थें । अहिले सरकारको नियमले जान पाएकी छैन’, उनले भनिन्, ‘हामीमाथि ठूलो अन्याय भयो । यताको कमाइले घर चलेको छ । बालबच्चाले राम्रो शिक्षा–दीक्षा पाएका छन् । फर्किएपछि त्यो सबै खोसिन्छ । बाख्रा चराउने बाध्यता आइलाग्छ । हाम्रो मर्म सरकारले किन बुझ्दैन ? ’

उनको पनि आमा बिरामी भएर अस्पताल भर्ना गरेको खबर आएको छ । जान सकेकी छैनन् । ‘सरकारले हाम्रो परिवार टुटाइदियो’, उनले गुनासो गरिन्, ‘यो असह्य हो ।’

बागलुङ रायडाँडाकी खुमादेवी पौडेलको व्यथा बेग्लै छ । सरकारले रोक्ने उनलाई थाहा थियो । तैपनि छोराहरूलाई भेट्न घर जान मन लाग्यो । जे होला भनेर गइन् । तीन महिनाअगाडि फर्किन चाहँदा रोकिइन् । दुबईको जागिर माया मार्न पनि सकिनन् । अनि, भारतको बाटो हुँदै ल्याउने दलालको पछि लागिन् ।

‘दलालले १ लाख १० हजार ज्याला लियो । नक्कली भिजिट भिसा बनाउन थप ३० हजार । यताबाट दिएको टिकट काम लागेन । टिकट र अन्य खर्च गर्दा ३ लाख रुपैयाँ सकियो’, उनले भनिन्, ‘ठूलो कष्ट सहेर दुबई आइपुगें । सरकारले रोकेर म रोकिएँ र ? तर, मेरो खर्च र सास्तीको क्षतिपूर्ति सरकारले तिर्छ ? ’

सरकारले घरेलु महिला कामदारलाई भारतका विमानस्थलहरूबाट पनि रोकिदिन पत्राचार गरेको छ । त्यसैले उनीहरू नक्कली भिजिट भिसा बनाई दलालको सहयोगमा आउन बाध्य छन् । भारतीय बाटो हुँदै घरेलु कामदारको मानव तस्करी भइरहेको छ ।

‘बैधानिक बाटोबाट आउन रोकियो । तर, खाडीमा नेपाली घरेलु कामदार आउने क्रम रोकिएकै छैन’, गैरआवासीय नेपाली संघका सचिव डीबी क्षत्री भन्छन्, ‘त्यसले उल्टो मानव तस्करी बढायो । खर्च धेरै लाग्ने भयो । असुरक्षा झन् बढ्यो । सरकारले यसमा पुनर्विचार गर्नुपर्छ ।’

संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले रोक्न भनेपछि २०७३ चैत २० गते सरकारले घरेलु कामदारमा रोक लगाएको हो । समितिका तत्कालीन सभापति प्रभु शाहले त्यसअघि खाडीका विभिन्न मुलुकको भ्रमण गरेका थिए । ‘त्यहाँबाट आएको सुझाव’ भन्दै उनले त्यस्तो निर्देशन दिएका थिए । त्यसमा मुख्य कारण महिला ‘असुरक्षित हुने’ देखाइएको थियो ।

‘हाम्रो देशमा दैनिक बलात्कार भइरहेका छन् । असुरक्षा त त्यहाँ छ । यहाँ हामी सुरक्षित छौं । असुरक्षाको बहानामा सरकारले हामीलाई झन् असुरक्षित बनाइरहेको छ’, लक्ष्मीले भनिन्, ‘यहाँको कानुन कडा छ । कसैले नराम्रो नजरलेसम्म हेर्न पाउँदैन । कसैकसैमाथि अन्याय त नेपालमा पनि हुन्छ, संसारभरि जहाँतहीँ हुन्छ । हचुवा तालमा हाम्रो खुसी खोस्न मिल्छ ? ’

एनआरएनएका सचिव क्षत्रीको सुझाव छ, ‘पहिल्यैदेखि कार्यरत घरेलु कामदारलाई उनीहरूको इच्छाअनुसार आउन दिनुपर्छ । असुरक्षित भए उनीहरू फर्किएर आउनै चाहँदैनन् । नयाँका हकमा दूताबासले कागज प्रमाणित गर्नुपर्छ । बरु काम गर्ने घरमै गएर अवलोकन गर्नुपर्छ । तर, रोक्नु हुँदैन ।’

एनआरएनएको मध्यपूर्व बैठकमा महिला घरेलु कामदारमाथि भइरहेको रोक मुख्य एजेन्डा बन्यो । मन्त्री बिना मगरदेखि पूर्वमन्त्री रमेश लेखकसम्मले समाधानको आश्वासन दिए । श्रममन्त्री गोकर्ण विष्ट आउने आसमा धेरै महिला गुनासो लिएर त्यहाँ आएका थिए । तर, उनी नआएपछि खिन्न हुँदै फर्किए ।

श्रम मन्त्रालयबाट प्रतिनिधित्व गरेका उपसचिव आचार्यले ‘सकेको पहल गर्ने’ सम्म बताए । कार्यक्रम सकिँदा रातको १२ बजेको थियो । घडी देखाउँदै घरेलु कामदार महिलाले उनलाई भने, ‘अब यति बेला हामी २ घण्टा टाढा काम गर्ने ठाउँमा जानुपर्छ । कसैले केही गर्न सक्दैन । नेपालमा यति अबेला कुनै चेलीले हिँड्न सक्छन् ? ’

सरकारलाई उनीहरूले सुझाव दिए, ‘हाम्रो सुरक्षाको चिन्ता नलिनुहोस् । स्वदेशमा छोरी–चेलीलाई बलात्कार हुनबाट जोगाउनुहोस् ।’ – अन्नपूर्ण पोस्ट दैनिक

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार