भारतीय पूर्वप्रधानमन्त्री देवगौडाले गरे पशुपतिमा विशेष पुजा, आजै पूर्वप्रधानमन्त्रीसँग भेटवार्ता गर्ने

काठमाडौं, २१ भदौ – भारतका पूर्वप्रधानमन्त्री एचडी देवगौडाले आज (शुक्रबार) पशुपति पुगेर पुजाअर्चना गरेका छन्। धार्मिक भ्रमणका परिवारका साथ लागि बिहीबार काठमाडौं पुगेका देवगौडा शुक्रबार बिहान पशुपतिमा पुगेर पुजा अर्चना गरेका हुन्।

श्रीमती चेन्नाममा देवगौडा, छोरा, नातिनीसहित १० जना पारिवारिक सदस्य र तीनजना मित्रसहित उनी काठमाडौं आएका हुन्। उनीसहित सबै तीर्थयात्रीलाई नेपालस्थित भारतीय दूतावासले होटेल ह्यातमा बस्ने प्रबन्ध मिलाएको छ। उनलाई मूलभट्ट गणेश भट्टले विशेष वासुकीको पूजा गराएका हुन्। देवगौडा परिवारले पशुपतिनाथ मन्दिरमा लाखबत्ती पनि बालेका छन्।

आजै उनले नेपालका पूर्वप्रधानमन्त्रीहरुसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको जनाइएको छ। उनी बिहीबार नेपाल एयरलाइन्सको उडानबाट काठमाडौं आएका हुन्। उनको नितान्त व्यक्तिगत र धार्मिक भ्रमण भएको बताइएको छ।

यसअघि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले १५ भदौमा पशुपतिनाथ दर्शन गरेका छन् भने त्यही दिन काठमाडौं आएका भारतीय राष्ट्रिय कंग्रेसका अध्यक्ष राहुल गान्धी १६ भदौमा कैलाश मानसरोवरतर्फ लागेका छन्। देवगौडा यसपटक नेपाल भ्रमण गर्ने तेस्रो भिभिआइपी हुनेछन्।

देवेगौडा आजै अपरान्ह‍ पाँच बजे जेट एयरलाइन्सको उडानबाट उनी भारत फर्किने कार्यक्रम छ। दक्षिण भारतका शक्तिशाली राजनीतिज्ञ मानिने देवगौडा सन् १९९६ जुन १ देखि १९९७ अप्रिल २१ सम्म भारतका प्रधानमन्त्री थिए। भारतको कर्णाटकका पूर्वमुख्यमन्त्री भइसकेका उनी लोकसभाका सांसद पनि हुन्।

देवगौडाका छोरा एचडी कुमारास्वामी हाल कर्नाटकका मुख्यमन्त्री छन्। उनी भारतीय राष्ट्रिय कंग्रेससँगको सत्ता गठबन्धनबाट मुख्यमन्त्री भएका हुन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार