काठमाडौं – गोर्खाको सामागाउँबाट काठमाडौं आउँदै गर्दा दुर्घटनामा परेको अल्टिच्यूड एयरको हेलिकोप्टर नुवाकोट र धादिङको सीमानामा पर्ने दारका भन्ने ठाउँमा दुर्घटना भएको पुष्टि भएको छ ।
हेलिकोप्टरका पाइटलसहित ६ जनाको मृत्यु भएको बताईएको छ भने एक जना जिवितै भेटिएका छन् । जीवितै भेटिएकी ल्हो आनी डोल्माको उद्दारको प्रयास भइरहेको नुवाकोट प्रहरीले जनाएको छ । यसअघि हेलिकोप्टरमा पाइलट निश्चल केसीसहित ६ नेपाली र एक जापानी भनिएकामा पछिल्लो जानकारी अनुसार पाइलटसहित पाँच नेपाली र एक जना जापानीज नागरिक थिए, भनिएको छ ।
हेलिकोप्टरमा रामेछापका ४० वर्षीय दिल्ली बहादुर गुरुङ, दोलखाका ३७ वर्षीय हिरा शेर्पा, गोर्खाको चुमनुब्री गाउँपालिका २ की ल्हो आनी डोल्मा, गोर्खाको सामागाउँ चुमनुब्री सम्दो १ का छोवाङ नुर्बु, सिन्धुपाल्चोकका २२ वर्षीय सुनिल तामाङ, पाइलट निश्चल केसी र जापानी नागरिक हिरोमी कोमात्सु थिए ।
दुर्घटनापछि आनीले फोन गरेर आफू सकुशल रहेको जानकारी दिएको प्रहरीले जनाएको छ । उनको फोनका आधारमा दुर्घटनास्थल धादिङ लोकेट गरिएको थियो । तर, सीमा जोडिएको मेघाङ गाउँपालिका १ बर्सङचेत मैलुङपाखाको घनाजंगलमा हेलिकोप्टर भेटिएको छ । उनले दिएको सूचनाका आधारमा हेलिकोप्टर दुर्घटना भएको स्थल ट्रेश गरेको प्रहरीको भनाई छ ।
घाइते आनी डोल्माको ललितपुरको मेडिसिटी अस्पतालमा उपचार हुँदैछ । ५५ सय मिटर उचाइमा रहेको उक्त हेलिकोप्टर ल्यान्ड हुन नसक्दा दुर्घटनामा परेको हुन सक्ने आशंका गरिएको छ ।