पोखरा, २४ भदौ — बेगनास तालमा शनिबार डुंगा दुर्घटना हुदा बेपत्ता भएको ६ जनाको शव फेला परेको छ । बेपत्ता ६ जनाको शव भेटिएसैँगै दुर्घटनामा मृत्यु हुनेको संख्या ८ पुगेको छ । डुंगा चलाउने सीप नभएकोले चलाएको र डुंगा चुहिने भएका कारण डुंगा डुुबेको प्रहरीको भनाई छ । बेगनास तालको लिब्दी टुडँमा डुंगा डुबेको हो । उनीहरु लाइफ ज्याकेट नलगाइकनै डुंगा लिएर गएका थिए ।
जिल्ला प्रहरी कार्यालयका कास्कीका प्रवक्ता डिएसपी रवीन्द्रमान गुरुङ अनुसार बेपत्ता भएका ५ वर्षीय प्राचीन पौडेल, १७ वर्षीया मनिशा बजगाईं, ८ वर्षीय शिव खनाल, ७ वर्षीय शंकर खनाल र ४ वर्षीय रञ्जित गैरको शव आइतबार बिहान भेटिएको हो । ३२ वर्षीय रवी खनालको आइतबार दिउँसो शव फेला परेको छ ।
घटनापछि उद्दार गरि उपचार गर्न पठाइएका पोखरा–२८ की कृष्णकुमारी बजगाईंको लेखनाथ सामुदायिक अस्पतालमा र तनहुँ भीमादकी जमुना गैरेको पश्चिमाञ्चलकी क्षेत्रीय अस्पताल पोखरामा शनिबारै उपचारको क्रममा निधन भएको थियो ।
सपना खनाल र निशा पौडेललाई भने स्थानीयले उद्दार गरेका थिए । दिलकुमारी जलारी र उनका छोरा १७ वर्षीय कुमारले २ जनाको उद्दार गरी ज्यान बचाएका थिए । तर, सपनाले श्रीमान र छोरा गुमाएकी छन् भने निशाको छोराको पनि डुंगा दुर्घटनामा मृत्यु भएको छ ।