रोल्पा तरुण दलका नगर सभापति रोहितको गोली हानी हत्या

तरुण दलका अध्यक्ष पुनकाे हत्याको विरोधमा रोल्पा बन्द

रोल्पा – रोल्पा नगरपालिका तरुण दलका अध्यक्ष रोहित पुनको गोली हानी हत्या भएको छ । रोल्पाको सुलिचौरमा पाण्डेश्वरी यातायात प्रालिको उद्घाटन गर्न पुगेका उनको गोली हानी हत्या गरिएको थियो । उनलाई देवबहादुर घर्तीले गोली हानेका थिए । गोली हानेपछि देवले प्रहरीसँग आत्मसमर्पण गरेका छन् ।

देव नेकपा निकट रहेको प्रहरी स्रोतले जानकारी दिएको छ । गोली हान्ने  उर्जा मन्त्री वर्षमान पुनका  नजिको मान्छेले भन्ने बुझिएको छ।  घटना इलाका कार्यालयदेखि १५ मिटर नजिक होटल रेस्ट प्वाइन्ट रेष्टुरेन्टमा भएको प्रत्यक्षदर्शीले बताएका छन्।

प्रत्यक्षदर्शीका अनुसार पुनको छातीमा दुई र बायाँ कोखामा एउटा गोली लागेको थियो। उनको घटनास्थलमै ज्यान गएको प्रत्यक्षदर्शीले जनाएका छन्।

 प्रहरी प्रवक्ता एसएसपी शैलेश थापा क्षेत्रीले घटनाको पुष्टि गर्दै गोली हान्ने व्यक्ति प्रहरी नियन्त्रणमा रहेको बताए । प्रहरीका अनुसार रोहितलाई सुलिचौरमा रहेको एक रेष्टुरेन्टमा गोली हानिएको थियो । घाइते अवस्थामा रहेका उनलाई उपचारका लागि लैजाने क्रममा मृत्यु भएको थियो ।

यसैबीच कांग्रेसले घटनाको विरोध गर्दै दोषीलाइ कारवाहीको माग गरेको छ । कांग्रेसका मुख्यसचिव कृष्ण पाैडेलले विज्ञप्ति जारी गर्दै यस्तो माग गरेका हुन् । यस्तो छ कांग्रेसले जारी गरेको विज्ञप्ति

                                                                                                                                                                     भाद्र २४, २०७५

प्रेस विज्ञप्ति

रोल्पा जिल्ला लिवाङ्ग  नगरसमितिका नेपाल तरुण दलका अध्यक्ष रोहित पुनलाई सुनिल स्मृति गाउँपालिकामा अवस्थित सुनिलचौरमा आज अपरान्ह ४ः४० बजे तत्कालिन नेकपा (माओवादी केन्द्र) का देवबहादुर घर्ती मगर लगायतले गोली हानी हत्या गरेको घटनाप्रति नेपाली कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको छ । यस्ता अपराधिक क्रियाकलापको नेपाली कांग्रेस घोर भत्र्सना र निन्दा गर्दछ ।

साथै, इलाका प्रहरी कार्यालय सुलिचौरबाट घटनास्थल १५ मिटरको दुरीमा रहेको र हत्याराले गोली हान्दा प्रहरी मुकदर्शक भई बस्नु र तत्कालै हत्यारालाई पक्राउ गर्न तदारुकता नदेखाउनु अत्यन्त गम्भीर र दुःखद छ । यस्ता अपराधिक क्रियाकलाप रोक्न र हत्यारालाई कडा भन्दा कडा कार्वाही गर्न नेपाल सरकारसंग नेपाली कांग्रेस जोडदार माग गर्दछ ।

हत्या गरिएका रोहित पुनप्रति नेपाली कांग्रेस श्रद्धाञ्जली व्यक्त गर्दछ र शोक सन्तप्त परिवारमा समवेदना प्रकट गर्दछ ।

कृष्णप्रसाद पौडेल
मुख्य सचिव

हत्याको विरोधमा रोल्पा बन्द

तरुण दल रोल्पा नगरका अध्यक्ष रोहित पुनको हत्याको विरोधमा सोमबार रोल्पाको लिवाङ बजार बन्द गरिएको छ। पुनको गोली हानी हत्या भएको विरोधमा तरुण दल रोल्पाले रोल्पा बन्दको आह्वान गरेको हो। इलाका प्रहरी कार्यालय सुलिचौरको नजिकै रहेको एक रेष्टुरेन्टमा आइतबार बेलुकी पुनको गोली हानी हत्या गर्ने केही व्यक्ति फरार भएका थिए।

उनीहरुलाई पक्राउ गरी कडा कारबाही हुनुपर्ने माग गर्दै बन्द आह्वान गरिएको तरुण दल रोल्पाका सचिव लिलाधर आचार्यले जानकारी दिए।बन्दका कारण बजार, शिक्षण संस्था र यातायात सेवा पूर्ण रुपमा ठप्प भएको छ।

गोली हानेको आरोपमा प्रहरीले तत्कालिन माओवादी केन्द्र समर्थक रोल्पा नगरपालिका–१० धबाङका ३० वर्षिय देवबहादुर घर्तीलाई पेस्तोलसहित पक्राउ गरेको भए पनि अन्य केही युवा फरार रहेकाले तत्काल पक्राउ गरी कारबाही गर्न तरुण दल रोल्पाले माग गरेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार