https://www.saurabhgroup.com/

निर्मला पन्तका अामा बुवा र आफन्तहरु सहित न्याय माग्न काठमान्डाैंमा

किशोरी बलात्कार र हत्या प्रकरण- प्रमाण लुकाउनेमाथि नै अनुसन्धान हुनुपर्छ

काठमान्डाैं, २८ भदौ — निर्मला पन्तका बुवा यज्ञराज, आमा दुर्गादेवी, आफन्तहरु र महिला अधिकारकर्मी सहित न्याय माग्न काठमान्डाैंमा अाएका छन् । उनिहरुले निर्मला पन्त हत्याकाण्डका दोषी बचाउन र घटना ढाकछोप गर्न प्रहरी नै सक्रिय रहेको भन्दै उनका आफन्तले कञ्चनपुर प्रहरीका तत्कालीन प्रमुख एसपी डिल्ली बिष्ट र डिएसपी ज्ञानबहादुरको सेठीको डिएनए परीक्षण गर्न माग गरेका छन्।

निर्मला पन्त हत्यापछि प्रमाण नष्ट गर्न संलग्न हुनेहरूमाथि नै अबको अनुसन्धान केन्द्रित हुनुपर्ने कानुनविद्हरूले समेत बताएका छन् । प्रहरीले दोषी भनेर सार्वजनिक गरेका दिलीप बिष्ट निर्दोष ठहर भएपछि स्थानीयले दोषी बचाउन निर्दोष फसाउने प्रहरी अधिकारी नै घटनामा संलग्न रहेको आशंका मजबुत भएको बताएका छन्।

दिलीप बिष्टको डिएनएले मेल नखाएपछि अब कञ्चनपुर प्रहरीका तत्कालीन प्रमुख एसपी डिल्ली बिष्ट शंकाको घेरामा तानिएका छन्। स्थानीयले एसपी बिष्टमाथि निर्मला हत्यापछि अनुसन्धान फितलो गरेको र प्रमाण नष्ट गराउन भूमिका खेलेको आरोप लगाउँदै आएका छन्। दिलीप निर्दोष साबित भइसकेपछि जनताको औंला त्यतिबेला जिल्लामा रहेका एसपी, डिएसपी र उच्च तहका प्रहरीतिरै सोझिएको स्थानीय सन्तोष भट्ट बताउँछन्।

‘एसपी बिष्ट, डिएसपी सेठी र सिआइबीका डिएसपी अंगुर जिसीलाई निलम्बन मात्र होइन, हिरासतमा राखेर अनुसन्धान गरिनुपर्छ, उनीहरूका कल डिटेल हेरिनुपर्छ,’ निर्मलाका मामा केशव भण्डारीले भने, ‘एसपी बिष्ट र डिएसपी सेठीको डिएनए पनि परीक्षण गरिनुपर्छ।’

निर्मलाका आफन्तले अनुसन्धानमा खटिएका प्रहरी टोलीलाई हिरासतमा राखेर अनुसन्धान गर्न पनि माग गरेका छन्। एसपी बिष्ट, डिएसपी जिसीलगायतका अनुसन्धानमा संलग्न प्रहरी टोलीलाई हिरासतमा राखेर अनुसन्धान गरेमात्र निर्मला हत्याको दोषी पत्ता लाग्ने उनकी आमा दुर्गादेवीले बताइन्। ‘४८ दिनसम्म मेरी छोरीको हत्यारा पत्ता लागेको छैन। निर्दोषलाई फसाएर दोषी बचाउने प्रहरी नै मेरी छोरीको हत्यामा संलग्न छन्,’ दुर्गादेवीले भनिन्, ‘प्रहरीभित्रका मान्छेलाई हिरासतमा राखेर अनुसन्धान गरेमात्र छोरीको हत्यारा पत्ता लाग्न सक्छ।’

घरमा भेट्न प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल आउँदा पनि छोरीको हत्यामा प्रहरीभित्रैको मान्छेको हात भएको शंका छ, प्रहरीभित्रै अनुसन्धान गरिदिनुहोस् भनेर आफूले अनुरोध गरेको उनले स्मरण गराइन ।

निर्मलाका बुबा यज्ञराज पन्त प्रहरी सुरुदेखि नै धम्क्याउन र दोषी बचाउने खेलमा मात्र लागेको बताउँछन्। ‘अहिलेसम्म दोषी पत्ता नलाग्नुको कारण छोरीको हत्यामा प्रहरी संलग्न भएकाले नै हो,’ उनले भने, ‘कानुन सबैलाई लाग्नुपर्छ, शंकास्पद प्रहरीलाई हिरासत लिएर अनुसन्धान गर्नुपर्छ।’ सुरुदेखि प्रमाण नष्ट गर्न खोज्ने प्रहरीमाथि अनुसन्धान गर्नुपर्ने उनी बताउँछन्।

‘शक्तिशाली हत्यारा बचाउन प्रहरीले नियतबस प्रमाण नष्ट गर्ने, अनुसन्धान गर्नुपर्नेलाई नगर्ने र निर्दोषलाई दोषी साबित गर्न खोजेको हो,’ भीमदत्त नगरपालिका–२ का स्थानीय तथा भूतपूर्व सैनिक मोतीकुमार नेपाल भन्छन्। आफूले सुरुमा प्रमाण र केही सुझाव दिन खोज्दा अनुसन्धान गर्न सिकाउनु पर्दैन भनेर प्रहरीले धम्क्याएको उनी बताउँछन्। प्रहरीले निर्मलाका पक्षमा अवाज उठाएमा गोली हान्ने धम्की दिएको उनले बताए।

इन्सेकका क्षेत्रीय संयोजक खडकराज जोशी डिएनए मेल नखाएर दिलीप निर्दोष भएपछि प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा अनुसन्धानमा खटिएको प्रहरी नै दोषी हो भन्ने प्रस्ट भएको बताउँछन्। ‘दोषी बचाउने र घटना ढाकछोप गर्न संलग्न प्रहरी अधिकारीलाई हिरासतमा राखी अनुसन्धान गरिनुपर्छ,’ उनी भन्छन्, ‘उनीहरूलाई बाहिर राखेमा चलखेल गर्ने र अझै पनि प्रमाण नष्ट गर्न सक्ने खतरा छ।’ कञ्चनपुरका एसपी कुवेर कडायतले अहिलेसम्म भन्न लायक कुनै तथ्य फेला नपरेको बताएका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार