निर्मलाको न्यायका लागि देशभर विशाल प्रदर्शन

काठमाडाैं, ३० भदौ  – बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तका निम्ति न्याय अभियानअन्तर्गत अाज देशभर प्रदर्शन भइरहेको छ । निर्मला घटनाका दोषीलाई अझै पक्राउ गर्न नसकेको भन्दै अभियन्ताहरूले उक्त प्रदर्शन गरेका हुन् ।

‘निर्मलाका निम्ति न्याय’ #JusticeForNirmala #RageAgainstRape अभियानमा सहयोग पुर्‍याउन स्वत: स्फुर्त रूपमा यो कार्यक्रम आयोजना गरिएको हो । दोषी पत्ता लगाई कारबाही गर्न सरकारलाई दबाब दिन यो प्रदर्शन भएकाे हाे ।

माइतीघर मण्डलामा पनि प्रदर्शन
यसैबीच काठमाडौंको मण्डलामा पनि प्रदर्शन गरिएको छ । प्रदर्शनमा सहभागीहरुले सरकारलाई दोषी पत्ता आग्रह गरेका छन्। उनीहरुले निर्मलाको तस्बिर बोक्नुका साथै #JusticForNirmala , #RageAgainstRape लगायतका प्लेकार्डहरु पनि बोकेका छन् ।

घटनाको ५१औं दिन बितिसक्दा समेत दोषी पत्ता लाग्न सकेको छैन । साथै, नियोजित रुपमा प्रमाण लुकाइएका वा नष्ट गरिएका खबरहरु सार्वजनिक भएका छन् । प्रहरीले असम्बन्धित व्यक्तिहरुलाई यातना दिई घटनाका दोषी करार गर्न खोजेको भन्दै व्यापक विरोध भइरहेका छन् । घटनामा उच्च तहकै व्यक्तिको संलग्नताको आशंका बढ्न थालेका छन् ।

गत साउन ११ गते निर्मला पन्तको शव उखुबारीमा मृत अवस्थामा फेला परेको थियो । घटना भएको २ महिना बित्न लाग्दा पनि प्रहरीले अपराधीलाई नियन्त्रणमा लिन सकेको छैन । निर्मलाका बुबा यज्ञराज र आमा दुर्गादेवी न्याय माग्दै कञ्चनपुरबाट काठमाडौं आउनु भएकाे छ । उहाँहरूले पत्रकार सम्मेलन नै गरेर आफूहरूलाई न्याय दिन माग गरिरहनु भएकाे छ ।

हिजाे संघीय संसदमा सम्बोधन गर्दै गृहमन्त्री रामबहादुर थापाले हत्याका दोषी छिट्टै कानूनी  कठघरामा आउने जानकारी दिनुभएकाे थियाे । यसअघि पनि माइतीघर मण्डलामा निर्मलाका निम्ति न्याय माग्दै मौन विरोध प्रदर्शन गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार