नेपाल भारत मैत्री बस सेवा सुरु

जनकपुर, ३१ भदाै — प्रदेश २ को राजधानी जनकपुरधामलाई भारत विहार प्रदेशको राजधानी पटनासम्म जोड्ने नेपाल-भारत मैत्री बस सेवा आइतबारदेखि सुरु भएको छ । प्रदेश २ का मुख्यमन्त्री लालबाबू राउत, जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साह तथा विहार राजपथ परिवहन निगमका एसएन झाले हरियो झण्डा देखाएर बसलाई रवाना गरे ।

जनकपुर बस स्टेण्डस्थित स्थानीय एक होटलमा एक कार्यक्रम आयोजना गरी बस सेवा सञ्चालनलाई औपचारिकता प्रदान गरिए पनि चार दिन अघि अर्थात बिहीबार नै विहारका मुख्यमन्त्री नितिशकुमारले पटना-जनकपुरधाम बस सेवालाई हरियो झण्डा देखाई आरम्भ गरेका थिए ।

करिब २ सय २५ किलोमीटर लामो सीधा बस सेवा सञ्चालन भएपछि जनकपुरको शिक्षा, स्वास्थ्य तथा धार्मिक-सांस्कृतिक पर्यटनमा टेवा पुग्ने विश्वास मुख्यमन्त्री राउतले व्यक्त गरे । उनले भने, खुला सीमाको सदुपयोग गर्दै दुवै देशका हजारौँ नागरिक दैनिक आवागमन गर्छन् । सीधा बस सेवाले उनीहरुलाई सुविधा हुन्छ ।

गत बैशाख १८ गते भारतीय प्रधानमन्त्रीको जनकपुर भ्रमण पश्चात पर्यटकहरुको संख्यामा उल्लेख्य वृद्धि भएको जानकारी गराउँदै मुख्यमन्त्री राउतले दुई देशीय मैत्री बस सेवा सञ्चालनले दुवै देशका नागरिकलाई सुविधा हुने बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार