क्वालालम्पुर, ४ असाेज — मलेसियामा गत सोमबार विशाक्त मदिरा सेवन गरेपछि बिरामी परेका भनिएका ६ जना नेपालीसहित १९ जनाको मृत्यु भएको पुष्टि भएको छ । मृत्यु हुनेमा सबैजना पुरुष रहेका छन् ।
दूतावासबाट प्राप्त पछिल्लो जानकारी अनुसार मृत्यु हुनेमा मिम बहादुर घले (बसेरी–३ धादिङ), रामकुमार यादव (मसिना–६, रुपन्देही), बिशाल बुढाथोकी (अमरगढी–५, डडेलधुरा), सञ्जय उराव (पश्चिमकुसाहा–९ सुनसरी), बल बहादुर कुलुङ (सिद्धिथुम्का–९, इलाम) र आइत सिंह गोले (ठेगाना खुल्न बाँकी) रहेका छन्।
१६ जना नेपालीको यहाँका सुंगाईबुलो, काजाङ, बान्तिङ, आम्पाङ र क्लाङस्थित अस्पतालहरुमा उपचार भइरहेको दूतावासले बुधबार जारी गरेको विज्ञप्तीमा उल्लेख छ। ती बिरामीमध्ये कतिपय गम्भीर अवस्थामा रहेका छन्।
‘हामी मंगलबार राती सुंगाईबुलो र काजाङस्थित अस्पतालमा पुग्यौँ। त्यहाँ उपचाररत रहेका नेपालीलाई भेट्यौँ। ’ कार्यबहाक राजदूत कुमार राज खरेलले भने, ‘मृतक र बिरामी नेपालीको अवस्था बुझ्दा ६ जनाको मृत्यु भएको र १६ जना उपचाररत रहेको पाईयो।’
मलेसियाली स्वास्थ्य मन्त्रालयले मंगलबार साँझ एक सूचना जारी गर्दै नेपालीसहित १९ जनाको मृत्यु भएको जनाएको छ। मृत्यु हुनेमा एक स्थानीय रनेपालीसहित म्यानमार, भारत, बंगलादेशका नागरिक रहेका बताइएको छ। यद्यपी मृतकहरुको पोष्टमार्टम रिपोर्ट आउन बाँकी रहेको बताइएको छ।
मन्त्रालयका अनुसार ‘मेथानोल’ मिश्रित विशाक्त मदिरा सेवन गरेपछि उनीहरुमा त्यस्तो समस्या देखिएको ठानिएको छ। बिरामी परेका ५१ जना अस्पतालमा आएका पाइएको जनाएको छ। यस्तो समस्या लिएर अस्पताल आउनेमा ६ जना क्वालालम्पुरमा र ४५ जना सेलाङगरका अस्पतालमा आएका पाइएको छ।
स्थानीय सञ्चारमाध्यमहरुका अनुसार अस्पतालबाट ९ जना उपचारपछि घर फर्किसकेका छन् भने २३ जना अझै उपचाररत छन्। ती मध्ये १६ जना नेपाली छन्। मन्त्रालयका अनुसार बिरामीमध्ये १४ जनाको अवस्था गम्भीर छ। ती बिरामीहरुमा पेट दुख्ने, टाउको दुख्ने, वाकवाकी लाग्ने, रिंगटा लाग्ने र श्वास फेर्न अफ्ठ्यारो हुने लगायतका लक्षणहरु देखिएको बताइएको छ।
उनीहरुले म्यानडले ह्विस्की, किङफिसर बियर र ग्राण्ड रोयल ह्विस्की नामक मदिराहरु सेवन गरेपछि आफूहरुलाई यस्तो समस्या देखिएको डाक्टरलाई बताएका समाचारहरुमा उल्लेख गरिएको छ।
ती मदिरा र सम्बन्धित बिरामीका रगत, पिसाब थप अनुसन्धान एवं परीक्षणका लागि ‘राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला’मा पठाइएको अधिकारीहरुले जनाएका छन्। मन्त्रालयले उक्त घटनापछि बिरामीको संख्या बढ्न सक्ने अनुमान गरेको छ। साथै घटनाबारे छानबिन गरी त्यस्तो मदिराको विक्री वितरण एवं उत्पादन गर्नेमाथि अनुसन्धान अघि बढाउन भन्दै प्रहरीकहाँ उजुरी गरेको जनाइएको छ।
अधिकारीहरुले ५ नेपालीको मृत्यु भएको संगाईबुलोस्थित दुई किराना पसलहरुबाट घटनासँग सम्बन्धित ठानिएको मदिरा जफत गरी जाँचका लागि प्रयोगशालामा पठाइएको बताएका छन्। विशाक्त मदिरा विक्री वितरण वा उत्पादन गरेमा ५० हजार रिंगिटदेखि एकलाख रिंगिट जरिवाना वा १० वर्ष जेल वा दुवै सजाय हुनसक्ने कानुनी प्रावधान रहेको बताइन्छ।
दूतावासले यस्ता हानिकारक र निम्नस्तरका मदिरा सेवन नगर्न नेपालीहरुलाई अनुरोध गरेको छ। मलेसियामा नेपालीमा देखिने समस्याहरुमध्ये स्वास्थ्य समस्या पनि एक हो। पछिल्ला सरकारी तथ्यांकलाई हेर्ने हो भने प्रत्येक साता सरदर ४ जना नेपालीको विभिन्न कारण मृत्यु हुने गरेको छ।
तीमध्ये अधिकांशको सुतेकै अवस्थामा मृत्यु हुने गरेको पाइएको छ। तर यसो हुनुका कारणबारे अझैसम्म पनि सरकारी तहबाट गहिरो अध्ययन एवं अनुसन्धान भएको छैन। — कान्तिपुर दैनिक