काठमाडौं, ८ असोज – एसिड आक्रमणमा परेकी रौतहटको चन्द्रपुर नगरपालिका-६ की सम्झना दासको उपचारका क्रममा काठमाडौंमा ज्यान गएको छ। १८ वर्षिया दासको आइतबारराति ११ : ४० बजे मृत्यु भएको हो ।
आक्रमणमा घाइते उनकी बहिनी सुस्मिताको पनि किर्तिपुर अस्पतालमै उपचार भइरहेको छ । सम्झनाको मृत्युपछि बाबु जादुलाल दासले भने ‘एसिड छर्किएर मेरी छोरीको हत्या गर्ने अपराधिलाई फाँसिको सजाय हुनुपर्छ ।
उनले थपे ‘ एसिडको पीडा कस्तो हुन्छ, अपराधिलाई पनि छर्किएर तड्पाइ तड्पाइ मार्नुपर्छ ।’ आक्रोशित हुँदै उनले भने ‘त्यति पनि नभएर अर्काको छोरीचेलीमाथि गिद्धे आँखा लगाउनेको आँखा फुटाइदिनुपर्छ । ’
२६ भदौमा राति सुतिरहेको बेला सम्झना र उनकी १५ वर्षीया बहिनी सुस्मिता दासमाथि एसिड प्रहार गरिएको थियो। पछि दुवै जना चिच्याएपछिमात्रै छिमेकी थाहा पाएको र उपचारका लागि लगिएको थियो।
जिल्लामा उपचार सम्भव नहुनेभएपछि काठमाडौं ल्याइएको थियो। अर्की छोरी सुस्मिताको अवस्था पनि गम्भिर रहेको र बाँच्छिन् वा मर्छिन् केही थाहा नभएको उनले बताए । घटनाा संलग्न रामबाबु पासवान अहिले प्रहरी हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।