लेखापाललाई नगरपालिकाका मेयरले हाने झापड

महोत्तरी, ११ असोज – काममा ढिलासुस्ती गरेको भन्दै महोत्तरीको भँगाहा नगरपालिकाका मेयर सञ्जीवकुमार साहले लेखा अधिकृतलाई झापड हानेका छन् । लेखा अधिकृत पवनकुमार अधिकारीलाई मेयर साहले बुधबार साँझ आफ्नै कार्यकक्षमा झापड हानेको पुष्टि भएको हो।

गत वर्षको आयव्यय र हिसाबकिताब पारदर्शी गर्न पटक-पटक आग्रह गर्दा पनि उल्टै विभिन्न बाहाना गरेको र गैरजिम्मेवारी तवरले जे गर्न सक्नुहुन्छ गर्नु भनेपछि आफूले झापड हानेको मेयर साहले स्वीकार गरेका छन् ।

नगरप्रमुखको कार्यकक्षमा लेखा अधिकृत अधिकारीसँग हिसाबकिताब दिन आग्रह गरेका थिए । अधिकारीले जे गर्नु छ गर्नुस भन्दै उल्टै गैरजिम्मेवारी जवाफ दिएपछि आफूले बुधबार हात छोडेको नगरप्रमुख साहले बताए ।

पटक-पटक मौखिक र लिखित निर्देशन दिँदा पनि अटेरी गरेपछि दुई झापड हानेको मेयर साहले बताए । भगाह नगरपालिकाका प्रमुख प्रशाशकीय अधिकृत रामचन्द्र लामगादेले गत वर्षको आय ब्ययसमेत नआएको बताए । उनले आर्थिक वर्ष सकिसक्यो अहिलेसम्म पनि हिसाब किताब नआएको बताएका छन् ।

मेयरलाई कारवाहीको माग गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र दिने र अन्य कानुनी प्रक्रियाबारे आन्तरिक छलफल भइरहेको लेखा अधिकृत अधिकारीले बताएका छन् ।

नगरपालिकाको हिसाबकिताब पारदर्शी राख्न पटक-पटक लिखित निर्देशन दिएपनि लेखा अधिकृतले अटेरी गर्दै आएको र गतबर्सको योजनाहरुको रकमसमेत भुक्तानी गर्ने निर्णय भएपनि लेखा अधिकृतले अटेर गरेको जनप्रतिनिधिको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार