दाङ, १४ असाेज — माटाको ढिस्कोले पुरिएर एकै घरका तीन जनाको मृत्यु भएपछी दाङको माैरीघाट गाँउ साेकमा डुबेकाे छ । दशै नजिकिदै गर्दा घर रंगाउने कमेराेमाटाे लिन गएका राप्ति गाँउपािलका ४ माैरीघाट निवासी शिव चरण चौधरीकाे छाेरी ३० वर्षीया श्यामकुमारी चौधरी, बुहारी ३५ वर्षीया मीनाकुमारी चौधरी र चार वर्षीया नातिनि रेजिना चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए ।
बिहान १० बजे घरदेखि केहि टाढाकाे दुरीमा रहेकाे दाैलै खाेलामा मा घर लिप्नलाई माटो लिन गएका वेला माटोको ढिस्कोले पूर्दा उनीहरुको घटनास्थलमै मृत्यु भएको हो । उनीहरुको शव परीक्षण लमही अस्पतालमा गरी मृतक तिनैजनाकाे थारु संस्कार अनुसार शनिवार रातिनै अन्तेस्टी गरीएकाे प्रहरी नायब उपरीक्षक घर्तीले जानकारी दिए ।
दशैंको स्वागत गर्ने तयारीस्वरुप घर लिप्ने माटो लिन गएका एकै घरका तीन जनाको एकैसाथ मृत्यु भएपछि अहिले मौरीघाट शोकमा डुबेको छ । घटनालगत्तै बेहोस भएका शिवचरण र उहाँकी श्रीमती लामो समयपछि होसमा आए पनि परिवारसहित सिंगो गाउँ शोकमा डुबेको छ ।
सामान्य सावधानी नअपनाउँदा माटोको ढिस्कोमा पुरिएर ज्यान गुमाउनेको संख्या धेरै छ । माटो खन्दा सामान्य सावधानी अपनाउने हो भने अकाल मृत्यु रोक्न सकिने जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रका सूचना अधिकारी खिलानाथ दाहालले बताउनुभयो ।
‘ओडार भएको ठाउँमा माटो खन्न नपस्ने, धेरै गहिरो खाडल हुने गरी माटो नखन्ने हो भने अकाल मृत्युबाट जोगिन सकिन्छ’, उहाँले भन्नुभयो– ‘माटो खन्दा जोखिम हुन्छ भने त्यस ठाउँमा नजाने, गहिरो खाडल भएको ठाउँमा नपस्ने, समथर ठाउँमा खन्ने गर्नुपर्छ ।’ चाड पर्वको बेला ढिस्कोमा पुरिएर मृत्यु हुन सक्ने भन्दै सार्वजनिक सूचना जारी गरिएको छ । त्यसो त व्यक्तिको निजी जग्गा पर्ने भएकाले जग्गाधनीले पनि पटकपटक माटो नखन्न भन्दै आएका थिए ।