पूर्वमन्त्रीदेखि जागिरेसम्म गरिबको सूचीमा, साहु अति गरिब, हलिया धनी!

बाजुरा, १५ असोज – बाजुराका जनकराज गिरी सुदूरपश्चिम प्रदेशकै चर्चित नाम हो । स्वामीकार्तिक खापर गाउँपालिका–४, वाईगाउँका गिरी राष्ट्रिय व्यक्तित्व हुन् । उनी २०५६ सालको निर्वाचनमा नेपाली कांग्रेसबाट सांसद पदमा निर्वाचित र २०५८ सालमा शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा भूमिसुधार सहायकमन्त्री थिए।

उनको नाम गरिब घरपरिवार सहयोग समन्वय बोर्डको सूचीमा ‘अति गरिब’मा क्रम संख्या २,६६,२४० मा सूचीकृत छ । गिरी राजनीतिमा आउनुअघि स्वामीकार्तिक माविका स्थायी शिक्षक थिए । यसबारे गिरीले आफूूलाई कुनै जानकारी नभएको बताए । उनले भने, ‘आमा मात्रै घरमा भएका बेला नाम संकलन गरिएछ । मलाई केही थाहा छैन ।’

क्रम संख्या २,६९,५५६ मा सूचीकृत अजबहादुर मल्ल तत्कालीन नेकपा एमालेबाट दुईपटक जिल्ला विकास समिति सदस्य भइसकेका व्यक्ति हुन् । उनी गएको स्थानीय तह निर्वाचनमा हिमाली गाउँपालिका अध्यक्षमा उठेर पराजित भएका थिए ।

मल्लले सदरमुकाम मार्तडीमा दाजुभाइ ग्रिल उद्योग सञ्चालन गरेका छन् । मल्लको स्वामीकार्तिक मानासरोवर यातायात प्रालिमा आबद्धता छ । उनले गरिबको सूचीमा आफ्नो नाम समावेश भएकोबारे गिरीले जस्तै ‘आफूलाई केही जानकारी नभएको’ बताए ।

जिल्ला स्वास्थ्य कार्यालय बाजुराका प्रमुख डा. रूपचन्द्र विश्वकर्माका बुबा नरवीर विश्वकर्मा पूर्वशिक्षक हुन् । बूढीनन्दा नगरपालिका–५, काल्सिलका नरवीरको नाम मध्यम गरिबमा क्रम संख्या २,१६,०२० मा सूचीकृृत छ । यसबारे डा. विश्वकर्मासँग प्र्रश्न गर्दा उनको भनाइ थियो, ‘मलाई केही जानकारी छैन । त्यस्तो भए सूचीबाट हटाउन लगाउँछु ।’

गरिब घरपरिवार सहयोग समन्वय बोर्डको सचिवालयले वितरण गर्न तयार पारेको गरिब परिचयपत्रको सूचीमा यस्ता थुप्रै विसंगति भेटिएका छन् । सुविधा पाउने लोभमा गाउँका नेता, कर्मचारी र टाठाबाठा सबैले आफूलाई गरिबको सूचीमा राखेको पाइएको छ ।

यतिसम्मकी महिनामा २०÷२५ हजार रुपैयाँ कमाउने कर्मचारी, शिक्षक, प्रशस्त सम्पत्ति भएका नेतादेखि सहरमा घरघडेरी भएका गाउँका धनाढ्य समेतले आफूलाई वर्षमा १९ हजार रुपैयाँ खर्च गर्न नसक्ने गरिब परिवारमा राखेका छन् । गरिबको सूचीमा समावेश भएका ‘धनी’हरू भने एउटै जवाफ दिन्छन्, ‘थाहै भएन, नाम कसरी लेखियो ?’ अधिकांश वास्तविक गरिबको भने यो सूचीमा नाम नै छैन । भएकाहरूलाई पनि वर्गीकरणमा कम गरिबको सूचीमा पारिएको छ।

स्वामीकार्तिक खापर गाउँपालिका–४, वाईगाउँका खम्बीर बुढा गाउँपालिकाका लेखापाल हुन् । यसअघि उनी जिल्ला स्वास्थ्य कार्यालयका कर्मचारी थिए । खम्बीरकी आमाको नाम ‘क’ वर्गको अति गरिबको सूचीमा छ । क्रम संख्या २,६६,७१८ मा उनको नाम छ । यसबारे प्रश्न गर्दा खम्बीरको पनि उही जवाफ छ, ‘हाम्रो नाम कसरी प¥यो, थाहै छैन, हटाउन लगाउँछु ।’

गाउँपालिकाका स्वास्थ्य संयोजक, सिनियर अहेब भक्त कैलाकी आमा जनकलाको नाम पनि क्रम संख्या २,६६,६९५ मा अति गरिबको सूचीमा छ । भक्तको पनि जवाफ छ, ‘हामी घरमा नहुने भएकाले छरछिमेकीलाई सोधेर सूची बनाइयो होला । परिचयपत्र बाँड्ने कुरा भएपछि मात्र हामीले थाहा पायौं । अहिलेसम्म कुनै सुविधा लिएका छैनौं ।’

स्वामीकार्तिक खापर–२, साप्पाटास्थित राधुमाता माध्यमिक विद्यालयका प्रधानाध्यापक प्रकाशबहादुर बमका बुबा वृजबहादुर बमको नाम क्रम संख्या ६,०५,२९३ मा मध्यम गरिबको सूचीमा छ । हिमाली गाउँपालिका–४, बछ्यास्थित सरस्वती प्राथमिक विद्यालयका प्रधानाध्यापक देवकुमारी मल्लका बुबा रत्नबहादुर मल्लको नाम पनि मध्यम गरिबको सूचीमा समावेश छ, क्रम संख्या २,३७,५८३ मा ।

बूढीनन्दा नगरपालिका– ८, पाण्डुसैनस्थित सत्य माविका शिक्षक मनरुप बोहरा (क्रम संख्या २,४६,७२१), हिमाली गाउँपालिका–५, नदापाटस्थित मंगलमय प्राथमिक विद्यालयका शिक्षक दीपचन्द्र उपाध्याय (क्रम संख्या २,६९,०५४) र बूढीनन्दा नगरपालिका–३, भुलेनास्थित कालिका निम्न माध्यमिक विद्यालयका राहत शिक्षक राजेन्द्रप्रसाद तिमिल्सेना (क्रम संख्या २,६९,०५४) सामान्य गरिबमा सूचीकृत छन् ।

मंगलमय प्राविकै शिक्षक देवराज पाण्डेको नाम क्रम संख्या २,६९,६४१ मा मध्यम गरिबको सूचीमा छ । स्वामिकार्तिक माविका शिक्षक मनिप्रसाद जोशी (क्रम संख्या २,६६,६९२) र कालिका प्राविका शिक्षक मानबहादुर बूढा (क्रम संख्या २,६६,७३२) अति गरिबको सूचीमा छन् भने बूढीगंगा नगरपालिका–७, बारबिसस्थित शारदा माविका शिक्षक टेकबहादुर केसी मध्यम गरिबमा सूचीकृत (क्रम संख्या ३,१०,३२१) छन् ।

धिमस्थित बडिमालिका माविका शिक्षक पूर्णलाल रावतका बुबा रनसुर (क्रम संख्या २,३७,८०४) र सोही वडानिवासी खोलीखाँडा निम्न माध्यमिक विद्यालयका शिक्षक पदम रोकायाका बुबा अजवीरको नाम (क्रम संख्या २,३७,७६६) अति गरिबको सूचीमा छ ।

बडिमालिका नगरपालिका–२, जुगाडाका कर्ण केसी र कालु केसी दाजुभाइ क्रमशः कैलाश प्रावि, घागर र सत्यवादी मावि, भौनेराका शिक्षक हुन् । केसीद्वयकी आमा मनमतीको नाम (क्रम संख्या २,५७,४०९) पनि अति गरिबको सूचीमा छ ।

सरकारले ‘गरिबीको रेखामुनि रहेका जनतालाई राज्यको स्रोत, साधन र क्षमताले भ्याएसम्म सामाजिक संरक्षण प्रदान गर्ने’ भन्दै ‘गरिब घरपरिवारलाई राज्यले प्रदान गर्न सक्ने सेवासुविधा परिचयपत्र प्रणालीमार्फत प्रदान गर्ने’ भनेर गाउँ गाउँबाट गरिबको विवरण संकलन गरेर यो सूची तयार गरेको हो ।

अन्य सुविधाको टुंगो नलागिसके पनि पाँचजना सदस्य रहेका गरिब घरपरिवारलाई २ हजार ५ सय रुपैयाँ स्वास्थ्य बिमा शुल्कमा प्रतिव्यक्ति ५० हजारसम्मको उपचार निःशूल्क गर्ने निर्णय सरकारले गरिसकेको छ ।

अति गरिब परिवारको बिमा शुल्क शतप्रतिशत सरकारले तिरिदिन्छ भने मध्यम गरिबको ७५ प्रतिशत तथा सामान्य गरिबको ५० प्रतिशत स्वास्थ्य बिमा शुल्क सरकारले बेहोर्छ । गरिब घरपरिवार सहयोग समन्वय बोर्डको सचिवालयले तयार पारेको सूचीअनुसार बाजुराका नौवटै स्थानीय तहमा स्वास्थ्य बिमा कार्यक्रम लागू भइसकेको छ । यी र यस्तै सुविधाको लोभले समाजका सम्पन्न र हुनेखाने पनि ‘गरिब बन्ने’ दौडमा सामेल भएका हुन् ।

जनप्रतिनिधि र कर्मचारी पनि

जनक रोकाया स्वामीकार्तिक खापर गाउँपालिका–१ का वडाध्यक्ष हुन् । वडाध्यक्ष हुनुअघि उनी गैरसरकारी संस्था मानव संसाधन केन्द्र ‘एचआरसी’ का कर्मचारी थिए । गरिब घरपरिवार सहयोग समन्वय बोर्डको सचिवालयले तयार पारेको सूचीमा उनी क्रम संख्या २,०६,७३३ मा मध्यम गरिबमा सूचीकृत छन् । वडा–३ का अध्यक्ष वीरजन कटेलको नाम त अति गरिबकै सूचीमा (क्रम संख्या २,०६,४५६) समावेश छ ।

हिमाली गाउँपालिका–७ का वडाध्यक्ष जयबहादुर अधिकारी सामान्य गरिबको सूचीमा (क्रम संख्या २,३७,९००) छन् भने बूढीनन्दा नगरपालिका–८ का वडाध्यक्ष टेकबहादुर रोकाया (क्रम संख्या ३,०६,१७७) र वडा–१० का सदस्य नन्दबहादुुर रोकाया (क्रम संख्या ३,०६,६५१) मध्यम गरिबमा सूचीकृत छन् । दुईपटक जुगाडा गाउँ विकास समितिको अध्यक्ष भइसकेका बडिमालिका नगरपालिका–२ का वडासदस्य अर्जुनबहादुर कार्कीको नाम सामान्य गरिबको सूचीमा (क्रम संख्या २,५७,५००) छ ।

गौमुल गाउँपालिका–४ स्थित मानाकोट स्वास्थ्य चौकीकी अनमी जमुना रोकायाको परिवार पनि सामान्य गरिबको सूचीमा छ । जमुनाका श्रीमान् कलकबहादुर सिंह गाउँपालिकाको न्यायिक समिति सदस्य हुन् । जेठो छोरा कृतिचौर माविमा शिक्षक छन् । छोरी सुमीत्रा सिंह गैरसरकारी संस्था ‘गिफ्ट बाजुरा’मा सामाजिक परिचालक पदमा कार्यरत छिन् । सुमीत्राको नाम (क्रम संख्या २,१९,६२९) गरिबको सूचीमा छ ।

बूढीनन्दा नगरपालिका–९, पाण्डुसैनको स्वास्थ्य चौकीका अहेब वीरबहादुर बोहरा मध्यम गरिब तथा स्वामीकार्तिक खापर–२, फयाल गाउँका अहेब कबेर भण्डारीका बुबा चुरे भण्डारी मध्यम गरिबको सूचीमा छन् ।

अति गरिबको सूचीमा रहेका स्वामीकार्तिक खापर गाउँपालिका–५, जेराका जयलाल शाही (क्रम संख्या २,६६,५३६) गाउँपालिकास्थित पशु सेवा शाखाका संयोजक (नायब सुब्बास्तरका कर्मचारी) हुन् । सोही गाउँपालिकाको वडा–४ निवासी साँफे–मार्तडी सडक डिभिजन कार्यालयका प्राविधिक कृष्ण बुढा पनि मध्यम गरिबको सूचीमा (क्रम संख्या २,६६,७३२) छन् ।

स्वामीकार्तिक गाउँपालिका कार्यालयका सहायक लेखापाल बलरुप कठायत (क्रम संख्या २,६६,३२१) मध्यम गरिबको सूचीमा छन् । स्वामिकार्तिक–४ का प्रहरी निरीक्षक (इन्सपेक्टर) चन्द्र गिरीकी आमा मुगा गिरीको नाम सामान्य गरिबको सूचीमा (क्रम संख्या २६६७३२३) छ।

बडिमालिका नगरपालिका–२ का दीपक कार्की मध्यम गरिबको सूचीमा छन् (क्रम संख्या २,५७,४६५) । दीपक नेपाल सरकारका ओभरसियर हुन् । उनकी श्रीमती श्रीमती बिन्दु बडाल कार्की महिला विकास कार्यालय बाजुरामा नायब सुब्बा तहको कर्मचारी हुन् भने भाउजू लक्ष्मी कार्की जिल्ला सरकारी वकिल कार्यालय अछाममा नायब सुब्बा पदमै कार्यरत छिन् ।

गरिबको सूचीमा सरकारी कार्यालयका सहयोगी, हल्कारा र हुलाकीको संख्या ठूलो छ । सरकारी जागिरबाट नियमित तलब खाने उनीहरु भूमिहीन, सुकुम्बासी र हलियाले पाउने सुविधा लिन गरिब बनेका हुन् ।

साहु अति गरिब, हलिया धनी !

पूर्वभूमिसुधार सहायकमन्त्री जनकराज गिरी अति गरिबको सूचीमा छन् भने उनकै खेतबारी जोतेर गुजारा गर्ने राजित विक सूचीमै परेनन् । सुदूरपश्चिममा चरम गरिबी भोगिरहेका राजित हलिया समुदायका सदस्य हुन् ।

सरकारले हलिया मुक्तिको घोषणा गरेको १० वर्ष बित्यो । बाजुरामा एक हजार पाँच सय हलियाको प्रमाणीकरण भए पनि साहुबाट लिएको ऋण मिनाहा र पुनस्र्थापनाको व्यवस्था नहुँदा हलियाहरुले अहिलेसम्म मुक्तिको अनुभूति गर्न पाएका छैनन् । तीमध्ये थुप्रै अहिले पनि गुजाराका लागि साहुको खेत जोत्छन् । तर, यीमध्ये धेरै हलिया गरिबको सूचीमै छैनन् । स्वामीकार्तिक खापर गाउँपालिकाका लेखापाल खम्बीर बुढा अति गरिबमा सूचीकृत छन् तर उनको खेत जोत्ने बिर्ख भियालको नाम सूचीमै परेन ।

छिमेकी जिल्ला बझाङमा पनि यस्तै छ । बझाङको जयपृथ्वी नगरपालिकाका धनबहादुर सुनार, प्यारु सुनारलगायतको नाम ‘अति गरिब’को परिचयपत्र पाउने सूचीमा राखेको थाहा पाएपछि उनका छिमेकी गगन बादीको चित्त दुखेको छ ।

आफ्नो नाम उनीहरुभन्दा दुई तहमाथिको धनी अर्थात् ‘सामान्य गरिब’को सूचीमा राखेको थाहा पाएका गगन रिसाएका छन् । कारण, अति गरिब भनिएका व्यक्ति गगनका साहु थिए । तिनै साहुबाट लिएको ऋण र त्यसको ब्याज तिर्न नसक्दा उनले पटक–पटक दुव्र्यवहार पनि भोगेका छन् ।

आफूजस्तै आर्थिक अवस्थाका राजु बादी र दीपक बादीको नाम पनि सामान्य गरिबको सूचीमा देखेपछि उनले आक्रोश पोखे, ‘यस्तो पनि हुन्छ ? उनीहरु साहु भए पनि गरिब हुने । उनीहरुलाई सयकडा पाँच प्रतिशत ब्याज तिर्ने हामीहरुचाहिँ धनी ? यस्तो गरिबमारा सरकारको परिचयपत्र चाहिएन !’

जयपृथ्वी नगरपालिकास्थित बादी समुदायका १५ परिवारका बालबच्चाबाहेक सबैले छिमेकी सुनार समुदायका मानिसबाट ऋण लिएका छन् । क्रण लिन लालपुर्जा, बादी परिचयपत्र, नागरिकतालगायतका कागजात धरौटी राखेकाले बादी समुदायका कोहीसँग परिचय खुल्ने सरकारी कागजात छैन । त्यसमाथि साहुले कम रकम दिएर बढी रकमको कागज बनाइदिन्छन् ।

उनीहरुकै नाम आफूभन्दा गरिबको सूचीमा परेको देख्दा छक्क परेको बाटु बादीले बताइन् । आफ्नै घर र जग्गा नभएका, मागेर गुजारा चलाइरहेका यहाँका १२ बादी परिवारमध्ये चार परिवार गरिबको सूचीमै परेनन् ।

जयपृथ्वी नगरपालिकाका प्रशासकीय अधिकृत सुरेश जोशी भन्छन्, ‘नगरपालिकाले लागू गरेको एकीकृत कर प्रणालीअन्तर्गत सबैभन्दा बढी कर तिर्नेहरु अति गरिबको सूचीमा छन्, जो कर तिर्नै नपर्ने सूचीमा छन्, उनीहरु या त गरिबको सूचीमै छैनन् या सामान्य गरिबको सूचीमा मात्र छन् ।’

जिल्लाभरकै अवस्था यस्तै छ । छविस पाथिभेरा गाउँपालिकाका रणबहादुर कठायत जिल्ला हुलाक कार्यालय बझाङका प्रमुख हुन् । सदरमुकाम चैनपुरमा उनको चारतले घर छ । आफ्नै गाडी छ । अन्य सम्पत्ति पनि छ ।

तिनै कठायत अति गरिबको सूचीमा छन् । ‘कुन फर्मुला लगाएर तथ्यांक लिएका हुन्, बुझिनसक्नु छ,’ गाउँपालिका अध्यक्ष अक्कल धामीले भने, ‘धनीहरु अति गरिब भए, अति गरिबहरु गरिबको सूचीमै परेनन् ।’

यो गाउँपालिकाकै सबभन्दा धनीका रूपमा चिनिने बान्नीचौर उच्च माध्यमिक विद्यालयका प्राचार्य वकिलबहादुर सिंहको महेन्द्रनगर र धनगढीमा घर छन् । काठमाडौं, धनगढी, कञ्चनपुरमा र बझाङमा जग्गा छ । तर, उनकै नाम अति गरिबको सूचीमा भेटियो । बुङल नगरपालिका प्रमुख धनबहादुर विष्टले भने, ‘लाजमर्दाे हुने भएपछि परिचयपत्र नै बाँडेका छैनौं ।’

बझाङका कुनै पनि स्थानीय तहले परिचयपत्र वितरण गर्न सकेका छैनन् । यहाँ १६ हजार २१९ परिवारका १ लाख २६ हजार ८७५ जनालाई गरिबको सूचीमा राखिएको छ । यीमध्ये ६३ हजार ४३५ अति गरिब, ४५ हजार २५३ मध्यम र ३० हजार १६६ जना सामान्य गरिबको सूचीमा छन् । खप्तड छान्ना गाउँपालिकाका अध्यक्ष बर्कबहादुर रोकायाले अधिकांश धनीहरुको नाम गरिबको सूचीमा परेकाले छानबिन गरेर मात्र परिचयपत्र वितरण गरिने बताए ।

गरिब घरपरिवार सहयोग समन्वय बोर्डको सचिवालयका अनुसार अक्सफोर्ड विश्वविद्यालयको गरिबी तथा मानव विकास प्रयास (ओपीएचआई)ले विकास गरेको र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी)ले अन्तर्राष्ट्रिय रूपमा अभ्यासमा ल्याएको वैज्ञानिक सूचकका आधारमा गरिब घरपरिवारको तथ्यांक संकलन गरिएको हो ।

त्यसरी संकलित तथ्यांकलाई विश्व बैंकको पहलमा विकास गरिएको पीएमटी (प्रोक्सी मिन्स टेस्ट) विधिमा परीक्षण गरिएको थियो । यो विधि ल्याटिन अमेरिका, पाकिस्तान, श्रीलंका, फिलिपिन्स र बंगलादेशमा प्रयोग भइसकेको बोर्डको दाबी छ ।

बोर्डले कुनै परिवारको गरिबीमाथि शंका लागे उजुरी गर्न आह्वान गर्दै संकलित सूची सम्बन्धित ठाउँमा टाँस्न लगायो । सुरुमा २५ जिल्लाका १२ लाख २४ हजार ४१७ जना गरिबको सूची तयार पारेको बोर्डले गुनासोमाथि छानबिन गरेर ३ लाख ९१ हजार ८३१ जनाको मात्र अन्तिम सूची प्रकाशित गरेको थियो ।

२१ जेठ २०७४ मा बोर्डको बैठकले ३ लाख ९१ हजार ८३१ जनालाई अति, मध्यम र सामान्य गरिबमा विभाजन गर्दै प्रकाशित गरेको अन्तिम सूचीलाई १२ साउन २०७४ मा मन्त्रिपरिषद्ले अनुमोदन गरेपछि परिचयपत्र वितरण प्रक्रिया सुरु गर्न बाटो खुल्यो । तर, मनपरी तथ्यांक भएकाले स्थानीय तहमा परिचयपत्र वितरण प्रक्रिया अघि बढ्न सकेको छैन ।

चौतारोमा बन्यो सूची

बाजुराको हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर मल्ल गाउँको चौतारामा बसेर संकलन गरिएको सूचीलाई आधिकारिकता दिन नसकिने बताउँछन् । ‘सूचीमा गरिबको नामै छैन, हुनेखानेको हालीमुहाली छ । यस्तो सूचीलाई आधिकारिकता दिएर कसरी काम गर्नु ?’ उनले भने, ‘अन्धाधुन्ध संकलित यो सूची सच्याउनुपर्छ ।’

बूढीगंगा नगरपालिका प्रमुख दीपक शाहले पनि यो सूची हुबहु कार्यान्वयन भए गरिबका नाममा आएको सुविधा हुनेखानेले पाउने बताए । उनी भन्छन्, ‘यसलाई सच्याउनुपर्छ ।’

स्वामीकार्तिक गाउँपालिका अध्यक्ष चिरञ्जीवी शाही अब जनप्रतिनिधिलाई राखेर पुनः सूची तयार गर्नुपर्ने बताउँछन् । उनले भने, ‘अहिलेको सूचीअनुसार सुविधा दिने हो भने गरिबले केही पाउँदैनन्, हुनेखानेकै हात माथि पर्छ ।’

गरिब को ?

गरिब घरपरिवार सहयोग समन्वय बोर्डको सचिवालय काठमाडांैका निर्देशक रामहरि गैरेका अनुसार ‘क’ वर्गका गरिब अर्थात् अत्यन्तै गरिबमा वार्षिक १९ हजार ६ सय रुपैयाँ खर्च गर्न नसक्ने परिवार पर्छ । त्यसैगरी, वार्षिक ३१ हजार ६ सय रुपैयाँ खर्च गर्न नसक्ने परिवार ‘ख’ वर्गमा पर्छ भने ‘ग’ वर्गमा सामान्य गरिबमा वार्षिक ४० हजार रुपैयाँ खर्च गर्न नसक्ने परिवार पर्छ ।

कार्यक्रमअनुसार घरको छानो, जग र गारोदेखि खाना पकाउने इन्धनको प्रकार, घरायसी सुविधाको उपलब्धता, शैक्षिक र सामाजिक अवस्थालगायतका १८ वटा सूचकका आधारमा २५ जिल्लामा गरिब घरपरिवारको पहिचान गरिएको छ । बाजुरा र बझाङ धेरै गरिब बसोबास गर्ने ती जिल्लामध्येमा पर्छन् ।

तत्कालीन सहकारी तथा गरिबी निवारण मन्त्रालय (हाल कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालय) ले निर्माण गरेको गरिब घर परिवार पहिचान र परिचयपत्र व्यवस्थापन तथा वितरण निर्देशिका, २०६९ (तेस्रो संशोधन, २०७२) अनुसार घर धुरीको सूचीकरण गरिएको छ ।

सुदूरपश्चिम प्रदेशको विकट पहाडी जिल्ला बाजुराका ६४ दशमलव १ प्रतिशत जनता गरिबीको रेखामुनि छन् । मन्त्रालयअन्तर्गतको ‘गरिब घरपरिवार सहयोग समन्वय बोर्डको सचिवालय’ले २०७० मा तयार पारेको प्रतिवेदनले यो संख्या अझै बढेको देखाएको छ । बोर्डका अनुसार बाजुराको गरिबी ७१ दशमलव १ प्रतिशत पुगेको छ । नेपालको उच्च गरिबीयुक्त २५ जिल्लामा बाजुरा पहिलो नम्बरमा पर्छ ।

त्यसैगरी, केन्द्रीय तथ्यांक विभागले आर्थिक वर्ष २०६६÷६७ मा गरेको दोस्रो जीवनस्तर सर्वेक्षणका अनुसार बझाङको गरिबी दर ५६ दशमलव ७९ प्रतिशत छ । त्यसको तीन वर्ष पछि ‘गरिब घरपरिवार सहयोग समन्वय बोर्डको सचिवालय’ले निकालेको तथ्यांकमा बझाङमा गरिबी पनि झन् बढेको देखाएको छ । बोर्डले सार्वजनिक गरेको तथ्यांकअनुसार बझाङमा ६२ दशमलव ८ प्रतिशत जनता गरिबीको रेखामुनि छन् । (खोज पत्रकारिता केन्द्रको सहयोगमा)

बाजुरामा स्थानीय तहअनुसार गरिबको सूची

स्थानीय तह जम्मा परिवार गरिब घरधुरी प्रतिशत गरिबी रेखा माथिको परिवार प्रतिशत
त्रिवेणी नपा २८८१ १८६४ ६४.७ १०१७ ३५.३
बडिमालिका नपा २३८६ १२८७ ५३.९ १०९९ ४६.१
बूढीगंगा नपा ३७०६ २०२९ ५४.७ १६७७ ४५.३
बुढीनन्दा नपा ३६०० २०१७ ५६ १५८३ ४४
गौमुल गापा १३६५ ४४७ ३२.४ ९१८ ६७.६
जगन्नाथ गापा १५७४ १०९३ ६९.४ ४८१ ३०.६
स्वामीकार्तिक खापर गापा २१८५ १८३८ ८४ ३४७ १६
खप्तड छेडेदह २९११ १९८९ ६८.३ ९२२ ३१.७
हिमाली गापा १६९२ १२६५ ७४.५ ४३२ २५.५
जम्मा २२३०० १३८२६ ८४७४

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार