काठमाडौं, १८ असोज -चितवनको भरतपुरबाट उपचारका लागि काठमाडौं लाने क्रममा एक बिरामीको एम्बुलेन्समै मृत्यु भएको छ। नौबिसे–नागढुङ्गा सडकखण्ड पार गर्न घण्टौँ लागेपछि बिरामीको बुधबार बिहान १० बजे त्रिभुवन राजपथस्थित टायलघर भन्ने ठाउँमा पुगेपछि मृत्यु भएको हो।
चितवनको सौराहा निवासी अन्दाजी ५५ वर्षीया रजनी चौधरीलाई भरतपुरस्थित एक निजी अस्पतालले काठमाडौं रिफर गरेको थियो। तर नागढुङ्गा–नौबिसे सडकखण्डमा घण्टौ जाम हुँदा बिरामीको एम्बुलेन्समै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
चौधरीलाई बोकेको एम्बुलेन्स मुस्किलले पृथ्वी राजमार्ग पार गरेको भएपनि त्रिभुवन राजपथ सुरु हुने बित्तिकैको टायलघर पार गर्न नसक्दा उनको मृत्यु भएको हो। बाटोमै बिरामीको मृत्यु भएपछि जाम खुल्नासाथ एम्बुलेन्स शव लिएर चितवन फर्किएको छ।
सडक विभागले काम सहज बनाउन सोमबार राति ८ बजेदेखि बिहान ५ बजेसम्म एक सातासम्म दुवैतर्फ सवारी साधन रोकेर मर्मत थालनी गर्दा लामो दूरीका सवारी साधन ९ देखि १४ घण्टासम्म जाममा बस्न बाध्य भएकाछन् ।
नौबिसेदेखी नागढुङगासम्म सधैजसो हुने जाम हटाउन भन्दै काठमाडौँ जिल्लाको पिपलामोडदेखी नागढुङगासम्मको दुई किलोमिटर बाटो मर्मत थालिएसँगै जाम बढेको छ।
यो सडकखण्डमा जाम हुँदा यात्रुको बिचल्ली हुने गरेको छ। राजधानी भित्रने गाडीको लाइन नागढुङगादेखि ४५ किलोमिटरको दूरीमा रहेको सिम्ले बजारसम्म पुग्ने गरेको छ।
सडक विभागले काम सहज बनाउन सोमबार राति ८ बजेदेखि बिहान ५ बजेसम्म एक सातासम्म दुवैतर्फ सवारी साधन रोकेर मर्मत थालनी गर्दा लामो दूरीका सवारी साधन ९ देखि १४ घण्टासम्म जाममा बस्न बाध्य भएकाछन् ।