ने.वि.संघको उमेरहदमा विवाद, पौडेल-सिटौलाको चेतावनीले कांग्रेस बैठक स्थगित

काठमाडौं, २५ असोज – नेपाल विद्यार्थी संघको विधानमा लगाइएको उमेर हद बन्देजको विषयलाई लिएर प्रमुख प्रतिपक्षी दल कांग्रेसभित्र विवाद बढेको छ। संस्थापन पक्षले नेविसंघ विधान संशोधन गर्दै १२औं महाधिवेशनबाटै उम्मेदवार बन्न ३२ वर्षे उमेर हद लगाउने गरी बहुमतबाट निर्णय गरेपछि कांग्रेसभित्र संस्थापन र संस्थापनइतर समूहबीच विवाद चर्केको हो।

सो विषयमा विवाद बढेपछि बिहीबारका लागि डाकिएको केन्द्रीय समिति बैठक नै स्थगित गरिएको छ । संस्थापनइतर समूहले बहुमतका आधारमा निर्णय हुने बैठकमा उपस्थित हुनुको तुक नहुने भन्दै बहिष्कारको चेतावनी दिएपछि संस्थापन पक्षले बुधबार बैठक स्थगित गरेको हो।

गत आइतबार बसेको केन्द्रीय समिति बैठकले बहुमतबाट नेविसंघ विधानमा ३२ वर्षे उमेर हद कायम हुनेगरी विधान संशोधन गर्ने निर्णय गरेको थियो । सो विधानलाई पारित गर्न भन्दै सभापति शेरबहादुर देउवाले बिहीबार (आज) का लागि केन्द्रीय समिति बोलाएका थिए ।

पार्टी नेतृत्वले निर्णय गर्दा विधि र प्रक्रियाको उल्लंघन गर्दै निर्णय लिएको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेलसहित नेता कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह र अर्जुननरसिंह केसीले ‘नोट अफ डिसेन्ट’ लेखेका थिए ।

उनीहरूले नेविसंघले निर्णय गरेर पठाएको विधानलाई पार्टी नेतृत्वले हस्तक्षेप गरेर आफूखुसी ढंगले परिमार्जन गरेको आरोप लगाउँदै आएका छन् ।वरिष्ठ नेता रामचन्द्र पौडेलले विधि र प्रक्रिया नाघेर गरिने कुनै पनि बैठकमा सहभागी नहुने जनाए । ‘पार्टी विधि विधानमा चल्नुपर्छ, मनोमानी गरेर निर्णय गर्ने हो भने बैठकको औचित्य छैन,’ वरिष्ठ नेता पौडेलले भने ।

नेता सिटौला भने केन्द्रीय समितिमा सहभागी नहुने भन्दै मंगलबार नै विराटनगर गएका छन् । उनी झापा, वीरगन्ज र बारामा हुने कार्यक्रम सकेर २८ असोजमा राजधानी फर्किनेछन् ।

कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले बुधबार विज्ञप्ति जारी गर्दै बैठक स्थगित भएको जनाएका छन्। ‘असोज २५ गते बिहान ११ बजेका लागि बोलाइएको केन्द्रीय कार्यसमितिको बैठक अर्को सूचना प्रकाशित नहुन्जेलसम्मका लागि स्थगित गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार