खाद्य संस्थानले सुरु गर्‍याे दसैंका लागि खसीबोका र च्याङ्ग्रा बिक्री

काठमाडाैं, २६ असोज – सरकारले दसैंका लागि आजदेखि काठमाडौं उपत्यकामा खसीबोका तथा च्यांग्रा बिक्री वितरण सुरु गरेको छ । नेपाल खाद्य संस्थान, बागमती अञ्चल कार्यालयले थापाथलीस्थित धान गोदामबाट खसी, बोका तथा च्यांग्रा बिक्री वितरण सुरु गरेको हो ।

संस्थानका अनुसार बिहीबार साँझसम्म १८० खसीबोका तथा चार सय च्यांग्रा काठमाडौं ल्याइसकिएको छ  । मुस्ताङबाट एक हजार च्यांग्रा खरिद गरी ल्याउने लक्ष्य राखिए पनि करिब ९०० च्यांग्रा ल्याइने वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक योगेन्द्र गौचनले जानकारी दिएका छन्। दाङलगायत पश्चिमी जिल्लाबाट खसीबोका ल्याउने तयारी गरे पनि त्यहाँका व्यापारीले कुनै चासो नदेखाएपछि मकवानपुर र पर्साबाट खसीबोका खरिद गरी ल्याइएको महानिर्देशक गौचनले बताए।

दाङबाट खसीबोका ल्याउन नसकिएपछि मकवानपुर र पर्साबाट लक्ष्यभन्दा आधा करिब ५१० वटा खसी बोका मात्र खरिद गरिएको उनले बताए। दसैंका बेला खसीबोका तथा च्यांग्राको कारोबार उच्च हुने गर्छ । व्यापारीले चर्को मूल्य लिएर खसीबोका तथा च्यांग्रा बिक्री गर्दा उपभोक्ता ठगिने गरेका छन्।

बजार भाउलाई हेरेर सुपथ मूल्यमा खसी, बोका र च्याङग्राको मूल्य निर्धारण गरिएकाे संस्थानले दाबी गरेकाे छ। संस्थानका बागमती अञ्चल कार्यालय प्रमुख सुरेन्द्रराज विष्टले बजारको भन्दा सस्तो मूल्यमा बिक्री वितरण हुने बताए। संस्थानले जिउदाे च्यांग्राकाे मूल्य रु‍ ७०० र खसिकाे मूल्य ५०० माबिक्री गरेकाे जनाएकाे छ ।

सिंग हेरेर छान्नुस् खसी
चौपायाको स्वास्थ्य परीक्षण गरी पशु स्वास्थ्य निर्देशनालयले रंग लगाउने गर्छ। पशु प्राविधिकहरूले चौपायाको स्वास्थ्य परीक्षण गरेर स्वस्थ र उपभोगयोग्य चौपायामा हरियो रंगको चिह्न लगाएका हुन्छन् भने बिरामी र उपभोग गर्न नमिल्ने चौपायामा रातो रंग लगादिएका हुन्छन्।

सामान्य स्वास्थ्य परीक्षण गरेर त्यसका आधारमा निर्देशनालयले रंग लगाउँछ। निर्देशनालयले सम्बन्धित स्थानीय तहसँग समन्वय गरेर त्यस्तो क्वारेन्टाइन स्थापना गर्ने तयारी भएको बताएको छ।

रोगी हुन्छन् यस्ता चौपाया
निर्देशनालयका अनुसार चौपायाको शारिरीक लक्षण हेरेरै पनि ती उपभोगयोग्य भए/नभएको पत्ता लगाउन सकिन्छ। छाम्दा तापक्रम बढी भएको, सिंगान बगेको, चिप्रा लागेको, झुम्म परेको देखिने चौपाया रोगी हुन सक्छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार