काठमाडौं, ६ कात्तिक – नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संघीय सरकारलाई उछिनेर प्रदेश सरकार अघि बढे दुर्घटना हुने बताएका छन् । विजयादशमी, दिपावली तथा छठ पर्वको अवसरमा नेकपा प्रदेश २ कमिटीद्धारा मंगलबार जनकपुरमा अयोजित चियापान कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
प्रदेश २ ले प्रहरी ऐन पारित गरेको सन्दर्भमा उनले संघीय सरकारले समयमै प्रहरी ऐन नल्याउँदैमा उछिनेर प्रदेशले ल्याउनु गलत भएको बताए । उनले संघीयता कार्यान्वयन संक्रमणकालमा रहेकाले विस्तारै अघि बढ्नुपर्ने उल्लेख गर्दै हचुवाकाे भरमा कानुन ल्याउनु उपयुक्त नहुने स्पष्ट पारे ।
सोही कार्यक्रममा अतिथि रहेका प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले संविधानको अक्षरस पालना गर्न चाहेको उल्लेख गर्दै त्यसमै टेकेर प्रहरी ऐन ल्याएको बताए । उनले संविधानले दिएको अधिकार प्रदेश संसद र सरकारले प्रयोग गरेको उल्लेख गरे ।
चियापान कार्यक्रममा पार्टी अध्यक्ष प्रचण्ड, महासचिव बिष्णु पौडेल, शिक्षामन्त्री गिरीराज मणि पोखरेल, पूर्वधार तथा यातायातमन्त्री रघुबीर महासेठलगाएतका सहभागी थिए ।