प्रवासको निरन्तर यात्रा – दाहाल

पश्चिमा देशहरुमा जोक गरिन्छ – यदि डलर ट्रीमा किनिएको युज एंड थ्रो गरिने प्लास्टिकका चम्चा प्लेट धोएर पुन प्रयोग गरेको देखियो भने ति एसियन इमिग्राण्ट हुन् भन्ने थाहा पाए हुन्छ ।अमेरिकाका पुर्व उप राष्ट्रपति बाइडनले सार्वजनिक रुपमा भनेका छन् -अमेरिकाका ग्यास स्टेसन ७/११ र डंकिन डोनट जादा अलि अलि इन्डियन एक्सेण्ट जानेको हुनुपर्छ । माथिका भनाइहरु जुन अभिप्रायमा भनिएको भए पनि इमिग्राण्टको उपस्थिति र प्रभावको राम्रो उदाहरण भने पक्कै हो ।

सार्थक जीवनको उद्देश्यले एक ठाउँबाट अर्को ठाउँमा सर्ने चलन युगौ युग देखिको हो । निश्चित उद्देश्य प्राप्तिको लागि निरन्तर लागि रहनु नै सायद सार्थक जीवन हो । समय र परिस्थितिले जीवनका उद्देश्य भने फरक फरक हुने रहेछन । महाभारतका प्रमुख पात्र कृष्णलाई हेर्दा बाल्यकालमा उनि एक मखन चोर थिए ,जवानीमा एउटा राम्रो प्रेमी र समयसंगै कुरुक्षेत्र युद्धका एक रचनाकार । मामा कंशबाट बचाउन लुकाएर मथुराबाट नन्द गाउँ पुर्याइएका कृष्ण त्यो संकटका बीच पनि बिना पीर चिन्ता हुर्किएको उदाहरणले हामी संकटका बीच पनि असल सन्तान हुर्काउन सक्छौं भन्ने राम्रो संदेश दिएको छ ।

एउटा त्यस्तो सन्तान जसले जताततै प्रेम बाड्न सक्छ । साना साना व्यवधानबाट आत्तिने हाम्रो चरित्रको लागि त्यो एउटा राम्रो दृष्टान्त हो । कृष्णकै बिषयमा अर्को कथा के छ भने जब उनि गोकुल छोडेर द्वारका पुगे उनी फर्किएर गोकुल  कहिल्यै आएनन । उनी भन्थे बृन्दाबनमा मेरो एउटा प्रेमीको छवि  छ जो हज्जारौलाइ एकैचोटी  असिमित प्रेम बाढ्न सक्छ । जसको मुरलीको धुनले पुरै गाउँ लठिञ्छ । आज मेरो भूमिका फेरिएको छ प्रेमी कृष्ण आज धर्म र अधर्म , युद्ध र शान्तिको कुरा गर्छ । म नन्दगाउँमा  आफ्नो पुरानै छवि  राख्न चाहन्छु प्रेमी कृष्णको छवि जसका हरेक कुरामा गोकुलबासी मिठास र आकर्षण  भेट्छन  ।

अधरं मधुरं वदनं मधुरं नयनं मधुरं हसितं मधुरम् ।
हृदयं मधुरं गमनं मधुरं मधुराधिपतेरखिलं मधुरम्

(तिम्रो ओठ मिठो र आकर्षक छ तिम्रो शरीर आकर्षक छ तिम्रो आँखा ,हाँसो आकर्षक छ तिम्रो हृदय आकर्षक छ तिम्रो हिडाइ तिम्रा हरेक कुरा मिठा र आकर्षक छन् )

समय  यति गतिशील छ कि स्वयम् इश्वर भनिएका कृष्णले पनि आफ्नो भूमिकालाइ परिवर्तन गर्नै परेको छ । प्रेमी कृष्णबाट गीता ज्ञानदिने कृष्णको रुपान्तरण आफैमा रमाइलो पक्ष हो । रत्नाकर डाकु  रामायणका रचयिता बाल्मिकी बनेको ,आफु बसेको रुखको हाँगा काट्ने कालिदास संस्कृत साहित्यको विद्वान बनेको कथाले मानविय स्वभाव राम्रो संग देखाउछ ।

समय र परिस्थितिले मान्छेको बिचार ,व्यवहारमा  परिवर्तन गर्न मात्रै दबाब दिदैन बिचारको बेगको गति र त्यसको दबाबले उसलाई एकै स्थानमा बस्न पनि दिदैन । मथुरामा जन्मिएका कृष्ण गोकुलमा हुर्किए र द्वारकामा गएर बस्न पुगे । नेपालकै इतिहासको कुरा गर्दा गोर्खाका राजा  पृथ्वी नारायण शाहको एघारौ पुस्तामा  आइपुग्दा काठमाडौंको रैथाने बन्न पुगे ।

क्रिस्टोफर कोलम्बसले पत्ता लगाएपछि अमेरिकाको यात्रा शुरुगरेका युरोपियनहरु आज विश्व राजनीतिमा शक्तिशाली अमेरिकनको रुपमा चिनिन्छन  । रैथाने भनिएका नेटिव अमेरिकन पनि यूरोसियाबाट साइबेरियाको बाटो अलास्का हुँदै अमेरिका आइपुगेका हुन् ।स्थान्तरण मानविय स्वभाव हो । गतिशिलता जीवनको संकेत हो । गति वा चाल बिनाको कुनै कुरामा सायद नै जीवन भेटिन्छ होला । बिचारको गतिले  सार्थक जीवनको लागि दबाब दिदा मान्छे चलायमान हुन्छ ।

सुर्यको प्रकाशको गति भन्दा पनि तेज चल्ने हाम्रो सोचको गतिलाई रोक्न असम्भव छ । शायद त्यहि गतिहरुको दबाब र प्रभाबमा हाम्रा विचार र स्थान फ़ेरिरहनछन । मेरो पुर्खा हज्जारौ बर्ष लगाएर टिग्रिस र युफ़्रेटस नदीको बिचमा पर्ने  मेसोपोटामिया( हालको इराक ,कुवेत र सिरिया)बाट इन्दुकुश पर्वत हुदै भारतको कान्यकुब्ज पुग्यो उसको थर त्यहाँ पुग्दा भट्ट थियो रे  । नेपालको  हालको दैलेख जिल्लाको दह गाउँमा पुग्दा उसले आफ्नो थर दाहाल बनायो । उसको स्थान्तरणको गति त्यतिमा रोकिएन पश्चिम नेपालको दैलेखबाट पूर्वी नेपालको ओखल्ढुङ्गामा मेरो बुबा बाजेको जन्म भयो म स्वयम् काठमाडौंमा जन्मिए मेरी जेठी छोरी न्युजील्याण्ड र मेरा २ छोरा र १ छोरी अमेरिकामा जन्मिए । मेरो पुस्ताकै मेरा दाजुभाइ , दिदि बहिनि एसिया ,युरोप ,ऑस्ट्रेलिया र अमेरिकामा छन् । यो स्थानान्तरण  यतिमा रोकिदैन । म पछिको दशौ पुस्ता कहाँ हुन्छ होला कुनै भविष्यबाणी गर्नेले पनि  भन्न नसक्ला ।

मेसोपोटामिया सबै भन्दा पुरानो सभ्यता मध्येको एक हो । सभ्यताका फरक फरक परिभाषाहरु पाइएलान तर समान बिश्वास बोकेकाहरुले साझा ठाउँमा बस्तिको बिकास गर्नु,आर्थिक सामाजिक नियमहरुले सबै बाधिनुबाट शायद सभ्यताको शुरुवात भएको हो । जंगली घुमन्ते जातिबाट स्थाई बसोबास गर्ने चलनसंगै   तत्कालको लागि आवश्यक उत्पादन मात्रै हैन भविष्यको लागि चाहिने अन्नको उत्पादन पनि सभ्यताको शुरुवात संगै भएको देखिन्छ । मेसोपोटामियामा नै सिचाईको व्यवस्थित प्रयोग शुरु भै सकेको थियो । पछि हरप्पा र मोहेंजो दारोमा पुगी सक्दा सिचाई प्रविधि उत्कर्षमा पुग्यो ।  मेसोपोटामिया सभ्यताको  शुरुवातमा नै जौ रोप्ने उमार्ने काम भएको इतिहास भन्छ । पछि हरप्पा सभ्यतामा तिल,केराउको उत्पादन थपिएको देखिन्छ ।   हाम्रो जन्मदेखि मृत्यु संस्कारमा जौ,तिलको  को प्रयोग हुन्छ   । दशैमा जौ उमारेर आशिर्वादको साथ कान वा टाउकोमा राखिन्छ । श्रीमद्भागवत महापुराणमा भगवान् श्रीकृष्णले ‘औषधिनामहं यव’ अर्थात् औषधिहरूमा म जौ हुँ भनेको सन्दर्भ आउँछ। बिज्ञान जौमा हुने बेटा ग्लुकन फाइबरले कोलेस्ट्रोल बढ्न दिदैन,मुटु रोग र क्यान्सरबाट बचाउछ भन्छ  । जमरामा हुने अमिनो एसिड र विटामिनको  प्रयोगले पाचन शक्ति बढाउन सहयोग गर्छ भनिन्छ । मेसोपोटामियाको जौ उत्पादनको इतिहास , भागवतमा जौको बयान र दशैंमा हामीले लगाउने जौको जमरा   एक आपसमा जोडिएका  छन  कि छैन त्यो इतिहासका बिद्यार्थीले पत्ता लगाउने बिषय हुन सक्छ तर आफ्नो जीवन  निर्वाहको लागि महत्वपुर्ण बन्न पुगेको जौ ,तिललाई प्रत्येक शुभकार्यहरुमा सम्झिनु अस्वाभाविक मान्न सकिदैन ।

सभ्य ,शान्त हरप्पा सभ्यता कसरि समाप्त भयो भन्ने बिषयमा अनेकन तर्क पाइन्छन । बिशेषगरि आर्यनहरुको  बढ्दो प्रवेश वा आक्रमण एउटा कारण मानिएको छ भने अर्को नदिको बहावको परिवर्तनले ,उब्जाउ माटोको खोजीमा पुराना बस्तिहरु खाली हुदै गएको कुरा इतिहास भन्छ ।कारण जे सुकै भए पनि हाम्रा पुर्खा त्यहाँ रोकिएनन । अगाडी बढी रहे ।

मान्छेको एक ठाउंबाट अर्को ठाउंमा जाने क्रममा उसले नया नया संस्कृति ,सभ्यता र प्रबिधिलाइ स्वीकार गर्दै अगाडि बढ्छ । बाँसुरीलाई  जियाहू सभ्यताको देन भनिन्छ तर  भगवान कृष्णको मनपर्ने  बाद्य यन्त्र भनेर  भारतबर्षमा भनिन्छ  । जियाहू र हरप्पा सभ्यताको मिश्रणको यो राम्रो उदाहरण हुन सक्छ । वाइन को पहिलो उद्पानको देन पनि जियाहू सभ्यतालाइ नै जान्छ । चीनको त्यो सभ्यतालाई इटालीले सबै भन्दा बढी वाइन उत्पादन गरेर उछिनेको छ भने भ्याटिकन सिटि लगायात युरोपका बिभिन्न देश प्रयोगमा अगाडि देखिएका छन् । चामलको उत्पादन गर्ने पहिलो श्रेय पाएको चीनको जिहायु सभ्यतालाइ भारत चामल प्रयोग गर्ने  दोस्रो देशको रुपमा पछ्याईरहेको छ । नेपाली चामललाइ खाने मात्रै हैन आशिर्वादसहित अक्षताको रुपमा निधारमा लगाई रहेका छौ । भनिन्छ चीनको किन बंशको आसपासमा देउतालाई  चामलको रक्सि  चढाउने चलन शुरु भयो । काठमाडौंका गुजेश्वरी लगायतका मन्दिरमा रक्सि चढ्ने गरेको हामी देख्दैछौ ।

मान्छेसंगै उसको चालचलन ,खानपिन पनि सर्छ । ज्ञानका लागि ,देशभित्रको आन्तरिक असुरक्षाले गर्दा ,आर्थिक समृद्धिको लागि कारण जे भनिए पनि एकैठाउँमा नबस्नु,जिवनमा फरक फरक अनुभवको खोजि गर्नु  मानविय स्वभाव हो । गान्धी भारतमा जन्मिए र दक्षिण अफ्रिकामा अध्ययन गर्न पुगे र त्यो नै भारत स्वतन्त्र बनाउने अभियानका लागि प्रेरणा र ज्ञानको स्रोत बन्न पुग्यो । मार्टिन लुथर किङ्ग अलाबामामा जन्मिए ,उनको “I  have a Dream ” भन्ने लोकप्रिय भाषण वाशिंग टन  डिसीमा गरिएको थियो र  टेनेसीको एउटा होटलमा गोलि हानियो  । बुद्ध ज्ञानप्राप्तिका लागि दरबार छोडेर गया पुगे , कुशीनगरमा महपरिनिर्वाण प्राप्त गरे । मेरो मामाघरको पुर्खा सेनराजासंग पाल्पा तनहुँ हुदै भारत पुगे र भारतीय मुलका नेपाली हुन पुगे ।भारतीय र नेपाली संस्कृतिको मिश्रणको त्यो नेपाली समाज नेपालमा बस्ने नेपालीका लागि अनौठो लाग्न सक्छ ।

पुरुषभन्दा महिला बढी आफ्नो जन्मस्थान छोड्छन । बिश्वब्यापी चलन अनुसार बिवाहपछि महिला ,पुरुषको घरमा जाने चलन बढी छ वा महिला पुरुष दुवै आफ्नो जन्मघर छोडेर अन्त कतै बस्छन । तथ्यांक हेर्ने हो भने संसारभरिबाट  कानुनी रुपमा अमेरिकामा  पुरुषभन्दा बढी  महिला प्रवेश गर्छन । त्यहि अनुसार डिवोर्सका घटनाहरु हुन्छन । शायद महिलाले नया घर ,समाजमा प्रवेश गरेपछि आफ्ना पुराना संस्कारलाइ पुरुषले भन्दा बढी त्याग गर्नुपर्ने हुन्छ । कहिले काहीं त्यो नै समस्याको कारण बन्न पुग्छ । खानपान देखि भाषा ,बोलि व्यवहारसम्मले हामीलाई कहिले काहीं अफ्ट्यारो बनाइरहेको हुन्छ। न्यु जील्याण्डको बसाइ  छोडेर अमेरिका स्थाई रुपमा आउने क्रममा हामीले धेरै सामान छोड्यौ । तर अतिरिक्त शुल्क तिरेर सेल पकाउने भाँडा र चुल्हो ल्याएको सम्झिन्छु ।

जतिसुकै राष्ट्रवादको डंका पिटेपनि ,नारा लगाएपनि राष्ट्रवादी देखिनेहरुका पुर्खा पनि हजारौ बर्ष देखि एकै ठाउँमा छैनन् र उसका सन्तान पनि हुनेछैनन । २०० बर्ष अघि २२ से २४ से राज्यमा जुन राष्ट्रवाद थियो जो किर्तिपुर् बचाउन आफ्नो नाक काट्न तयार भए तिनकै सन्तान आज पुर्खाको नाक काट्नेहरुले बनाएको  नेपाल बचाउन तयार भएका छन्। बिजेता  शासकको दबाब र प्रभावमा  स्वाभाविक घटनाको रुपमा यस्तो  निरन्तर भैरहन्छ  । धर्म ,सम्प्रदायको नाममा  राज्य बिस्तार गरेर शासन गर्ने चलन घट्दै जाँदा राष्ट्रियताको नारा लगाएर राज्य गर्ने र नागरिकलाइ विभाजित गर्ने चरित्र हरेक राष्ट्रमा देखिदैछ ।

प्रवाशीलाइ अधिकार दिने र नदिने ,मातृभूमिप्रति कर्तब्य हुन्छ हुदैन यी सबै बिषयहरु  भावना वा  स्वार्थले जन्माउने बिषयहरु हुन् । भावनालाइ कुनै  भौगोलिक सीमाले छेक्न सक्दैन । २०० सय बर्ष अघि  हिन्दुस्तानबाट पाकिस्तान र बंगलादेश बन्नु अगाडि  भारतीयको रुपमा  फिजी आएकाहरु आफुलाई फिजी इन्डियन भनेर चिनाउछन । त्यहाँ स्वार्थभन्दा भावाना बलियो छ । भारतीय सरकारले  ती फिजी इन्डियनलाइ भारतीयको मान्यता दिने नदिने बिषय बहसमा छैन न फिजी इन्डियन त्यो बिषयमा धेरै चासो राख्छन  । तर राजनीतिक स्वार्थले फिजी इन्डियन प्रधानमन्त्री महेन्द्र चौधरी  रैथाने फिजी  सेनाको कु मा भने  परे ।

प्रवाशीको नाममा अनेकन संस्थाहरु खोलिनु ,केहीले आफ्नो व्यक्तिगत पहिचान स्थापित गर्न प्रवाशिको  नेतृत्व  गर्न खोज्नु  स्वार्थबाट प्रेरित छ ।  सयौंको संख्यामा बिदेशिएका  भारतीयहरु फर्केको सुनिएपनि ती विदेशमा भन्दा राम्रो वा उस्तै अवसर प्राप्त हुँदा फर्केका हुन् । आफु हुर्किएको समाजमा नै राम्रो अवसर प्राप्त हुँदा ती फर्किएका हुन् । त्यसमा भावना र स्वार्थ दुवै मिसिएको छ ।

 अन्त्यमा  संचार ,यातायातले  संसार नै खुम्चिएर बहुसांस्कृतिक एकल  राष्ट्रजस्तो हुन पुग्दा आप्रवाशी र स्थानिय भन्ने बहस  नै  केवल राजनीतिक स्वार्थले जन्माएको नेताहरुको शब्दजाल  जस्तो लाग्न थालेको छ ।

-hamrakura.com

http://jagdambacement.com/

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार