राष्ट्रपति भण्डारी कतार भ्रमण १२ गतेबाट, यस्तो छ कार्यतालिका

काठमाडौं, १२ कार्तिक – राष्ट्रपति विद्यादेवी भण्डारी दोस्रो पटक राष्ट्रपतिमा निर्वाचित भएपछिको पहिलो विदेश भ्रमणका शिलशिलामा आज सोमबार कतार प्रस्थान गर्ने भएकी छन्। राष्ट्रपति विद्यादेवी भण्डारी ४ दिने औपचारिक भ्रमणका लागि कतार जाने भएकी छिन्। भण्डारीले अक्टोबर २९ देखि नोभेम्बर १ तारिख ९ कात्तिक १२ देखि १५ सम्म कतारको औपचारिक भ्रमण गर्ने भएकी हुन्।

कतारका राजकुमार शेख तमिम बीन हमाद अलथानीको निमन्त्रणामा राष्ट्रपति भण्डारी कतार जान लागेकी हुन्। परराष्ट्र मन्त्रालयद्वारा शुक्रबार जारी विज्ञप्तिमा ३० तारिखका दिन भण्डारीले राजकुमार अलथानीसँग पनि भेटवार्ता गर्नेछिन्। सोही दिन कतारको अमिरी दिवसमा कार्यक्रमको आयोजना हुनेछ।

कतारका अमिर सेख तामिम बिन हमाद अल थानीको औपचारिक निमन्त्रणमा उनी चार दिने भ्रमणका लागि दोहा प्रस्थान गर्ने भएकी हुन्। त्यहाँका अमिर थानीसँगको शिष्टाचार भेट गर्ने राष्ट्रपति भण्डारीले त्यहाँ कार्यरत नेपालीको श्रम सुरक्षा, चुनौतीसँगै नेपालमा कतारी लगानी भित्र्याउने प्रस्ताव गर्ने बताइएको छ ।

भ्रमणका क्रममा कृषि तथा पशुपंक्षी विकास, स्वास्थ्य, सुरक्षा सहयोग, कुटनीति राहदानी बहाकलाई दुवै मुलुकले छुट दिने लगायतका विषयमा हस्ताक्षर हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । उनको भ्रमण टोलीमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, परराष्ट्र सचिव शंकरदाश बैरागी, नेपाल उद्योग परिसंघ (सीएनआई)का अध्यक्ष हरिभक्त शर्मा नेतृत्वको व्यवसायीको टोली पनि सहभागी हुँदैछ ।

भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले त्यहाँ रहेका नेपाली समुदायलाई सम्बोधन गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ । आफ्नो सम्बोधनमा उनले त्यहाँ सिकेको सीप र अनुभवलाई नेपालमा बाढ्न आग्रह गर्ने बताइएको छ । आइतबार बसेको मन्त्रिपरिषदको बैठकले राष्ट्रपति भण्डारीको कतार भ्रमणलाई स्वीकृत गरेको छ ।

भण्डारी लामो समयदेखि अरेबियन मुलुकले नाकाबन्दीका कारण समस्याग्रस्त बनिरहेको कतारमा हुन लागेको भ्रमणलाई कूटनीतिक मामिलाका जानकारले भने कूटनीतिक अपरिपक्वता भनेका छन् । कुटनीतिक मामिलाका जानकार एवं पूर्व राजदूत जयराज आचार्य विवाद भइरहेको मुलुकमा सकेसम्म राष्ट्रप्रमुखको भ्रमण हुन नहुने बताउँछन्।

‘कतार हाम्रा लागि महत्वपूर्ण हो तर अहिले त्यहा नाकाबन्दीको अवस्था छ, त्यसबारेमा नबुझी भ्रमण गर्नु राम्रो होइन,’ आचार्यले भने । नाकाबन्दी किन भइरहेको छ भन्ने कुरा बुझ्न आवश्यक रहेको उनको भनाइ छ । भण्डारीको कतार भ्रमणले नेपाललाई तत्कालै प्रतिकूल असल नपरे पनि यसले कूटनीतिको प्रयोग सस्तो रूपमा भइरहेको भने देखिने आचार्य बताउँछन्। ‘राष्ट्रप्रमुख जसले बोलायो त्यतातिर जाने होइन, कूटनीतिक मान्यताको पालनामा पनि ध्यान दिनुपर्छ,’ आचार्यले भने।

पराराष्ट्र मन्त्रालयका उच्च अधिाकारी भने कुनै पनि मुलुकले अन्य मुलुकसँगको सम्बन्धभन्दा पनि आफ्नो स्वार्थलाई प्राथमिकतामा राख्नुपर्ने बताउँछन्। ‘कतारमा लाखौँ नेपाली कामदारले काम गरिरहेका छन्, हाम्रा कामदारको हित हाम्रो प्राथमिकता हो, त्यसैले हामीलाई अरुको सम्बन्ध कस्तो छ भनेर हेर्न आश्वयक हुँदैन,’ ती अधिकारीले भने।

उच्चस्तरको भ्रमणले कतारमा कार्यरत नेपाली कामदारको हित प्रवद्र्धनमा सहयोग पुग्ने ती अधिकारीको दाबी छ। ‘हामीले हचुवाको भरमा राष्ट्रपतिको भ्रमण तय गरेको होइन, यसबाट नेपाल र नेपाली कामदारका पक्षमा सकारात्मक प्रभाव पर्ने निश्चित भएरै भ्रमणको तय गरिएको हो,’ उनले भने। मुलुकका आपसी विवादका कारण कुनै अर्काे मुलुकको राष्ट्रप्रमुखले भ्रमण गर्न नहुने भए कुनै न कुनै मुलुकको सम्बन्ध अर्काे मुलुकसँग बिग्रिएको हुनाले कुनै पनि मुलुकको भ्रमण गर्न नहुने ती अधिकारीको तर्क छ। राष्ट्रपतिको भ्रमण हतारमा तर नभएर लामो समयको तयारी पछि तय भएको परराष्ट्रमन्त्रालयले जनाएको छ।

http://jagdambacement.com/

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार