निर्मला हत्याको १०० दिन, हत्यारा अजै पत्ता लागेन

काठमाडौं , १६ कार्तिक – कञ्चनपुरको भीमदत्त नगरपालिका २ उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको एक सय दिन पूरा भएको छ। तर, अहिलेसम्म हत्यारा पक्राउ परेका छैनन्। प्रहरीको अनुसन्धान उपलब्धिहीन देखिएको छ। अनुसन्धान सूक्ष्म र साँघुरो पार्दै लगिएको प्रहरी अझै दाबी गर्छ।


‘अनुसन्धान भइरहेको छ, तर यहाँ पुग्यो भन्ने अवस्था छैन।’ जिल्ला प्रहरी कार्यालयका अनुसन्धान अधिकृत डीएसपी कृष्णराज ओझाले भने, ‘केन्द्रदेखि जिल्लासम्म थुप्रै टोली अनुसन्धानमा खटिएका छौं।’ ‘अनुसन्धानका थुप्रै पाटा हुन्छन्, ती सबै प्रयोग गरिएको छ’, उनले भने, ‘ प्रहरीले सम्पूर्ण शक्ति लगाएको छ।’

निर्मलाका आमाबुवा न्यायका लागि भौंतारिरहेका छन्। हत्यारा पक्राउ पर्लान् र न्याय पाइएला भन्ने उनीहरूको आशा मर्दै जान थालेको छ। ‘न्याय मागिरहेका छौं’, निर्मलाका बुवा यज्ञराजले भने, ‘सरकारले उल्टै पीडा दियो।’ सरकार हत्यारा पत्ता लगाउनभन्दा अन्य विषयतर्फ केन्द्रित भएको उनको आरोप छ। ‘न्यायका लागि शान्तिपूर्ण आन्दोलन गर्दा उल्टै गोली हाने। दुःख मात्रै भयो’, उनले थपे, ‘न्याय नपाएसम्म निरन्तर लडिरहन्छौं।’ आन्दोलनका घाइतेको उपचारमा समेत सरकारले लापरबाही गरेको उनले बताए।

‘चारैतिर भौंतारिँदा परिवारको दैनिकी चलाउन समस्या हुन थालिसक्यो’, निर्मलाकी आमा दुर्गादेवीले भनिन्, ‘सरकारले अहिलेसम्म किन हत्यारा पक्रन सकेन, को छ जसलाई जोगाउन यत्रो खेल भइरहेको छ।’ दुई प्रहरीको बर्खास्तलाई आँखा छल्ने काम भएको उनले गुनासो गरिन्।

‘न्याय मागेका माग्यै छौं’, उनले भनिन्, ‘कतैबाट सुनुवाइ भएन।’ निर्मलाका हत्यारालाई कारबाहीको माग राखेर आन्दोलनमा लागेका अधिकारकर्मीसमेत सरकारको शैलीप्रति रुष्ट भएका छन्। ‘न्यायका लागि सय दिनसम्म सडकमा भौंतारिँदा पनि अहिलेसम्म सरकारले हत्यारा पक्रन सकेको छैन’, नागरिक संघर्ष समितिका संयोजक मीना भण्डारीले भनिन्, ‘शक्तिशाली भएरै होल जोगाइएको छ।’ सरकारले यसलाई गम्भीरतापूर्वक नलिए थप कडा आन्दोलन गरिने उनले चेतावनी दिए।

प्रहरीले अनुसन्धानकै क्रममा पाँच जनाको डीएनए परीक्षण गरिसकेको छ। थप चारको डीएनए परीक्षण भइरहेको छ। ठोस परिणाम आउन नसकेपछि प्रहरीले शंकास्पद अन्यको पनि डीएनए परीक्षणका लागि रगतको नमुना संकलन गरेको छ। ‘पुनः चार जनाको रगत संकलन गरी परीक्षणका लागि पठाएका छौं, रिजल्ट के आउछ हेरौं’, कञ्चनपुरका एसपी कुबेरसिंह कडायतले भने, ‘यी चारजनाको डीएनए म्याच नभए शंकास्पद सबैको डीएनए जाँच्ने छौं।’ बर्खास्त गरिएका तत्कालीन एसपी डिल्लीराज विष्ट, उनका छोरा किरण विष्ट, अर्का युवक आयुष विष्ट, दिलीपसिंह विष्ट र चक्रदेव बडूको डीएनए जाँच भइसकेको छ।

गृहमन्त्रालयले एसपी विष्टसँगै र वडा प्रहरी कार्यालय इन्स्पेक्टर जगदीश भट्टलाई बर्खास्त गरेको छ। डीएसपीद्वय ज्ञानबहादुर सेट्टी र अंगुर जिसी, इन्स्पेक्टर एकेन्द्र खड्का, सई हरसिंह धामी, असई रामसिंह धामी र जवान चाँदनी साउँदलाई निलम्बन गरी अनुसन्धान थालिएको छ।

साउन १० गते साथी रोशनी बमको घरमा होमवर्क गर्न गएकी बालिका निर्मला पन्तको साउन ११ गते निम्बुखेडास्थित उखुबारीमा शव भेटिएको थियो। उनको साउन १० गते नै बलात्कारपछि हत्या भएको थियो। हत्यारा पक्राउको माग गर्दै महेन्द्रनगरमा आन्दोलन चर्किएको थियो। भदौं ४ गते घटनाको २६ दिनपछि प्रहरीले भीमदत्त नगरपालिका १९ बागफाँटाका ४१ वर्षीय दिलीपसिंह विष्टलाई अभियुक्त भन्दै सार्वजनिक गरेपछि महेन्द्रनगरमा आन्दोलन चर्किएको थियो।

आन्दोलन हिंसात्मक बन्दै गएपछि भदौं ७ र ८ गते प्रहरीले गोली चलाएको थियो। प्रहरीको गोली लागेर ८ गते भीमदत्त नगरपालिका १८ सन्नी खुनाको मृत्यु भयो भने अन्य घाईते छन्। घटनाको सत्यतथ्य छानबिन गर्न चौतर्फी दबाब बढेपछि सरकारले भदौ ७ गते गृहमन्त्रालयका सह–सचिव हरिप्रसाद मैनालीको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको थियो। शुरुमा १५ दिन र पछि १५ दिन म्याद थपेर समितिलाई छानबिन गर्न समय दिइएको थियो। समितिले असोज ९ गते प्रतिवेदन गृहमन्त्रीलाई बुझाएको थियो । — अन्नपूर्ण पोष्ठ दैनिक

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार