पोखरा, १७ कार्तिक – पोखरा पल्टन पोखरामा जारी नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) टी–ट्वान्टी क्रिकेटको दोस्रो चरणमा प्रवेश गरेको छ ।शनिबार पोखरा रंगशालामा भएको समूह चरणको आफ्नो अन्तिम खेलमा हुलास काठमाडौं रोयल्सलाई ४ विकेटले हराउँदै पोखराले दोस्रो चरणमा स्थान पक्का गरेको हो ।
पोखरा रंगशालामा काठमाडौंले दिएको १०४ रनको लक्ष्य पोखराले १५ ओभर ५ बलमा मात्र ६ विकेट गुमाएर पुरा गर्यो । पोखराका लागि मोहमद नाभिदले ३६ रन, रबि इन्दर सिंहले २२ रन, रोहित कुमार पौडेलले अविजित १५ रन, आसिफ शेखले १६ र कुशल भुर्तेलले १४ रन बनाए । काठमाडौंका अमर सिंह रौटेलाले ३ विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङ गरेको काठमाडौंले १९ ओभर १ बलमा अलआउट हुँदै १०३ रन जोडेको थियो । काठमाडौंका लागि कप्तान ज्ञानेन्द्रले सर्वाधिक ३१ रन जोडे । यस्तै अमित श्रेष्ठले २१ रन बनाए । ओपनर अमित श्रेष्ठले २१ रन, पवन सर्राफले १२ रन, नरेश बुढाऐरले ६ रन, आदिल खानले ७ रन, अमरसिंह रटेउलाले १ रन बनाए ।
बलिङमा पोखराका स्पिनर ललितनारायण राजवंशीले ३, मोहमद नावेद र रासिद खानले २ २ विकेट, तथा विक्रम यादवले १ विकेट लिए ।जितसंगै पोखराले ५ खेलबाट ६ अंक जोडेको छ । र, शीर्ष तिनमा रहदै पोखराले शीर्ष स्थानमा उक्लिएको छ । काठमाडौंको पनि ५ खेलबाट ६ अंक छ । काठमाडौं पनि प्ले अफमा पुगेको छ ।
पोखराको जितसँगै बुटवल ब्लास्टर्स र विराटनगर टाईटन्स भने प्रतियोगिताबाट बाहिरिएको छ । अब चितवन राइनोज र एक्स्पर्ट धनगढीमध्ये एक टोलीले दोस्रो चरणमा स्थान बनाउने छन् । अन्तिम खेलमा शनिबार दिउँसो १ः १५ बजे चितवन राइनोज र विराटनगर टाइटन्सबीच प्रतिस्पर्धा हुनेछ ।