काठमाडौं, २० कार्तिक – १२औं महाधिवेशन गराउन असफल भएपछि नैनसिंह महर अध्यक्ष रहेको नेविसंघको वर्तमान केन्द्रीय समिति भंग हुने चरणमा पुगेको छ । वर्तमान केन्द्रीय समितिको थपिएको तीन महिनाको कार्यकालसमेत यही मंसिर २ गतेदेखि समाप्त हुँदैछ । कार्यकाल समाप्त भएपछि कमिटी स्वतः भंग हुने विधानमा व्यवस्था छ ।
साविकको समितिले महाधिवेशन गराउन नसकेको अवस्थामा तत्काल तदर्थ समिति बनाउने प्रचलन नेपाली कांग्रेसमा छ । वर्तमान समितिको अस्तित्व अझै दुई साता रहने अवस्था भए पनि तदर्थ समितिको अध्यक्ष अब को होला ? भन्ने चर्चा सुरु भएको छ । तदर्थ समितिले महाधिवेशन गराउन करिब एक वर्षको समय पाउने छ ।
आफू चुनाव नलड्ने र एक वर्षभित्र महाधिवेशन गराउन सक्ने काविल विद्यार्थी नेताको खोजी नेपाली कांग्रेसभित्र भएको छ । यसक्रममा करिब एक दर्जन विद्यार्थी नेताहरूको नाम चर्चामा छ । कसैकसैले महरलाई नै तदर्थ अध्यक्ष तोक्ने सम्भावना रहेको पनि बताएका छन् ।
महरले यसका लागि मुभ पनि गरिसकेको समाचार स्रोतले जनाएको छ । तर अढाई वर्षको समय पाउँदा पनि महाधिवेशन गराउन नसक्नेलाई तदर्थ अध्यक्षको जिम्मेवारी दिँदा फेरि त्यही हविगत दोहोरिने आशंका पनि पार्टीका नेताहरूले गरेका छन् । यही कमिटीमध्येबाट जिम्मेवारी दिइए महामन्त्री सरोज थापालाई र बाहिरबाट ल्याइए रत्न कार्की या राजीव ढुंगानाले अवसर पाउने चर्चा छ ।
वर्तमान कार्यसमितिको म्याद भदौ २ गते नै सकिए पनि तीन महिनाभित्र निर्वाचन सम्पन्न गर्न निर्देशन दिँदै आगामी मंसिर २ गतेसम्म म्याद थपिएको थियो । त्यसैले दशैं–तिहारको बीचमा भए पनि कात्तिक १६, १७ र १८ गतेदेखि महाधिवेशन गर्ने निर्णय नेविसंघले ग¥यो, तर सकेन ।
महाधिवेशन गराउन नसकेपछि महरले कात्तिक १७ गते नै राजीनामा दिने अनुमान गरिएको थियो, तर उनले राजीनामा नदिएपछि अन्योलता उत्पन्न भएको छ । कांग्रेसको महासमिति बैठकमा वर्तमान कार्यसमितिको म्याद ६ महिना थप्ने प्रस्ताव लैजान पार्टीलाई अनुरोध गर्ने तयारी अध्यक्ष महरको थियो, तर महासमितिको बैठक सर्ने भएकाले यो तयारी पनि तुहिएको छ ।
नेविसंघ अहिले जुन हालतमा गुज्रिरहेको छ, त्यो हालत कायमै रहने हो भने तदर्थ समितिले पनि एक वर्षभित्र महाधिवेशन गर्नसक्ने छैन । सांगठनिक अवस्था लथालिंग छ । अराजकता बढेर गएको छ । कसैले कसैलाई टेर्ने अवस्था छैन ।
आगामी फागुन १४ गते स्ववियुको निर्वाचन हुन गइरहेका कारण नेविसंघभित्रको अन्योलता जतिसक्दो छिटो चिर्नुबाहेक नेपाली कांग्रेसका लागि अर्को विकल्प छैन ।