जाडो बढ्यो, वर्षा र हिमपातको सम्भावना

काठमाडौँ, २८ कात्तिक –मुलुकका पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा क्षणिक वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमानसम्बन्धी विज्ञप्ति जारी गर्दै पहाडी भेगका एक÷दुई स्थानमा हल्का वर्षा हुनुका साथै उच्च हिमाली भू–भागमा हिमपातको सम्भावना औँल्याएको छ ।

दिउँसो देशको पश्चिमी भू–भाग, मध्य र पूर्वका पहाडी भेगमा सामान्य बदली रहने तथा बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ ।

रातको समयमा पश्चिमी तथा पूर्वी पहाडी भेगका केही स्थानमा आंशिकदेखि सामान्य बदलीको सम्भावना छ । पश्चिमी पहाडी भेगका केही स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको हो ।

बिहीबार पश्चिमी तथा पूर्वी पहाडी भेगमा आंशिक बदली हुने र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । बिहानैदेखि काठमाडौँ उपत्यकासहित देशका पहाडी भेगमा सामान्य बदली रहेको छ ।

उपत्यकामा बढी चिसो महसुस गरिएको छ । महाशाखाको पछिल्लो विवरणअनुसार बुधबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ९ तथा अधिकतम तापक्रम २२ डिग्री सेल्सियस रहेको छ ।

ताप्लेजुङ र जुम्लामा न्यूनतम तापक्रम माइनस डिग्रीमा झरेको छ । सबैभन्दा बढी विराटनगरको अधिकतम तापक्रम ३० डिग्री सेल्सियस छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार