दिलकुमारी घर्ती ९ केजी अवैध लागूऔषधसहित फन्दामा,हुन्डी कारोबारमा २ पक्राउ, ज्ञवाली हातहतियारसहित पक्राउ

काठमाडौँ, १ मङ्सिर –हुन्डीको कारोबारमा संलग्न रहेको अभियोगमा कास्की पोखरा महानगरपालिका-८ स्थित लुम्बिनी मनिट्रान्सफरका संचालक सोही महानगरपालिका-५ मालेपाटन बस्ने ५३ वर्षीय नेत्रलाल ज्ञवाली र मनिट्रान्सफरका कर्मचारी सोही महानगरपालिका-२ बिन्दवासिनी बस्ने ३० वर्षीय प्रकाश थापालाई शुक्रबार दिउसो प्रहरीले पक्राउ गरेको छ ।

उक्त मनिट्रान्सफरमा अबैध तरीकाले हुन्डी कारोबार भएको भन्ने सूचना आएपश्चात ४ नम्बर प्रदेश प्रहरी कार्यालय, प्रदेश अनुसन्धान समूह पोखरा र जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको संयुक्त प्रहरी टोलीले बिभिन्न ब्यक्तिको नाममा हङकङबाट अबैध रुपमा आएको रकम १ लाख ५० हजार रुपैयाँ सहित कारोबारमा संलग्न दुवैजनालाई पक्राउ गरेको हो ।

 

हातहतियार सहित पक्राउ 

सुनसरी बराह नगरपालिका-११ बस्ने ३५ वर्षीय श्यामदेव मण्डललाई मेड इन युएसए लेखिएको अटोमेटिक पेस्तोल १ थान, म्यागाजिन २ थान र १ राउण्ड गोली सहित शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
धरान उपमहानगरपालिका-८ स्थित चेक प्वाईन्टमा १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगर र अस्थायी प्रहरी पोष्ट तिनकुनेबाट खटिएको संयुक्त प्रहरी टोलीले धरानबाट ईटहरीतर्फ जाँदै गरेको को.२८ प ७१८४ नम्बरको स्कुटर जाँच गर्ने क्रममा चालक मण्डलले कमरको भागमा लुकाई बोकेको अवस्थामा उक्त हतियार सहित फेला पारी पक्राउ गरेको हो ।

 अवैध लागूऔषध सहित पक्राउ :
तेह्रथुम र रोल्पाबाट अवैध लागूऔषध सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
तेह्रथुम लालीगुँरास नगरपालिका-४ बाट धनकुटा खाल्सा छिन्ताङ सहिदभूमि गाउँपालिका-२ का ६५ वर्षीय पूर्ण राईलाई अवैध लागूऔषध गाँजा ५ केजी सहित शुक्रबार दिउसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय बसन्तपुर र अस्थायी प्रहरी पोष्ट चित्रेबाट खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

रोल्पा थवाङ गाउँपालिका-२ बलाङजा बस्ने ५१ वर्षीया दिलकुमारी घर्तीलाई करिब ९ केजी अवैध लागूऔषध चरेस सहित शुक्रबार दिउसो प्रहरीले पक्राउ गरेको छ । माडी गाउँपालिका-२ घर्तीगाउँस्थित बजारमा ईलाका प्रहरी कार्यालय घर्तिगाउँको प्रहरीले रा.१ ख ७४२ नम्बरको बस जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 स्कुटर चोरी गरी भाग्दै गरेको अवस्थामा पक्राउ :
बा.५३ प ६५७६ नम्बरको स्कुटर चोरी गरी भाग्दै गरेको अवस्थामा भक्तपुर नगरपालिका-१ सल्लाघारी बस्ने सिन्धुलीका रबिन थापालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
भक्तपुर नगरपालिका-१ सल्लाघारीस्थित रामभोले मोटर ड्राइभिङ सेन्टरबाट उक्त स्कुटर र २ थान मोबाइल चोरी भएको खबर प्राप्त हुनासाथ घटनामा संलग्नको खोजी गर्ने क्रममा मध्यपुर ठिमी नगरपालिका-४ स्थित चोकबाट थापालाई उक्त स्कुटर र मोबाइल सहित प्रहरीले फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार