प्रकाश दाहालको स्मृतिमा जान भन्दै स्थगित भयो अर्थसमितिको विशेष बैठक

काठमाडौँ, ३ मङ्सिर –नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका पुत्र प्रकाशको वार्षिकी कार्यक्रममा जानका लागि अर्थ समितिको बैठक नै स्थगित भएको छ ।

सोमबार बिहान ९ बजे अर्थ समितिको बैठक डाकिएकामा पूर्व मन्त्रीहरुसमेत संसद सचिवालयमा उपस्थित भइसकेका अवस्थामा साढे ९ बजे एकाएक बैठक स्थगित गरी १ बजेलाई सारिएको हो ।

सार्वजनिक खर्च प्रणाली अस्तव्यस्त र सुस्त भएपछि सरकारलाई निर्देशन नै दिने गरी बस्दै गरेको बैठक स्थगित भएपछि नेताहरु तथा कर्मचारीहरुसमेत रिसाएका छन् । बैठक दिउँसो १ बजे बस्ने बताइएको छ ।

यो अर्थ समितिको १० औं बैठक हुनेछ । बिहान बस्ने बैठकका लागि पूर्व प्रधाानमन्त्री एवं अर्थ मन्त्री डा बाबुराम भट्टराई, पूर्व अर्थमन्त्री विष्णु पौडेल, वर्तमान अर्थमन्त्री डा युवराज खतिवडा, अर्थ समितिका सदस्य लगायत उपस्थित भइसकेका थिए ।

यसैबीच प्रकाशको सम्झनामा बिहान १० बजे प्रचण्ड निवास खुमलटारमा प्रकाश दाहाल स्मृति कार्यक्रम गर्दैछ ।

कार्यक्रममा प्रकाशको बारेमा प्रकाशित स्मारिका बिमोचनसमेत हुने उनको परिवारले जानकारी दिएको छ । दिवङ्गत प्रकाश र उनकी दिदी ज्ञानु दाहालको स्मृतिमा निर्माण भएको प्रज्ञा स्मृति प्रतिष्ठानले कार्यक्रमको आयोजना गरेको हो ।

तत्कालीन माओवादी केन्द्रका पोलिट्व्यूरो सदस्य एवं प्रचण्डका स्वकीय सचिवसमेत रहेका प्रकाशको गत वर्ष मंसिर ३ गते हृदयघातका कारण निधन भएको थियो । एमाले–माओवादीको चुनावी गठबन्धनको तयारीका लागि काठमाडौं आएका बेला प्रकाशको आकस्मिक निधन भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार