काठमाडौं, ७ मंसिर — डडेल्धुरामा मेला हेरेर फर्किएको स्कुल बस दुर्घटना हुँदा १७ जनाको मृत्युु भएको छ भने २८ जना घाइते भएका छन् । डडेल्धुराको अमरगढीस्थित उग्रतारा मन्दिरमा लागेको मेला हेरेर फर्कने क्रममा बिहीबार साँझ डा. केआईसिंह राजमार्गअन्तर्गत अमरगढी नगरपालिका–११ रडुवाखोलामा से१क २९३ नम्बरको बस दुर्घटनामा परेको हो ।
सो बस डोटीको शिखर नगरपालिकाको बान्डुरीसैनमा रहेको पिसजोन एकेडेमीको रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।
स्कुल बस भए पनि बसमा विद्यार्थी नरहेको जनाइएको छ । बस बान्डुरीसैनका स्थानीयले मेला हेर्न रिजर्भ गरेर ल्याएको प्रहरीको भनाइ छ ।
डडेल्धुराको अमरगढी नगरपालिका-११ रडुवाखोलामा पाँच सय मिटर तल खसेको डडेलधुरा जोशीले जानकारी दिए। दुर्घटनामा करिब २८ जनाभन्दा बढी घाइते भएको उनले बताए। जोशीका अनुसार घाइतेलाई उपचारका लागि उपक्षेत्रीय अस्पताल पठाइएको छ।
घाईते हुनेहरुमा सकायल डडेल्धुराका ईन्द्र भुल, रमेश भुल, पुरन भुल, कोराल डडेल्धुराका सुनिता रावल, विनोद किमाडी (ठेगाना नखुलेको), गोवघाटका श्याम ओझा, शिखर ६ डोटीका भिम बलायर, शिखर १० डोटीका सरिता बलायर, तिल्ताली डोटीका सोनिया रावल, सन्तोष रावल, बन्डोरसैन डोटीका भरत बलायर, सिल्ताडा डोटीका नारद बलायर, भेटा डडेल्धुराकी ईश्वरी दमाई, बेलापुर डडेल्धुराका थानेश्वर अवस्थी, तल्छी ७ डोटीकी हरिना बोहरा, बन्लेक १० डडेल्धुराकी सावित्री धामी, शिखर १० डडेल्धुराका रमेश धामी, र गन्यापधुरा डडेल्धुराका सुशिल बोहरा रहेका छन् ।
प्रहरीका अनुसार मृतकको सनाखत हुन सकेको छैन भने घाइतेको उद्दार गरी डडेल्धुरास्थित उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ । बस सडकबाट करिब ३ सय मिटर तल खोलामा खसेको थियो ।