काठमाडौं, ९ मंसिर – नेपाली कांग्रेस केन्द्रीय विधान संशोधन मस्यौदा समितिले आफ्नो प्रतिवेदन आज बसेको केन्द्रीय कार्य समितिको वैठकमा पेश गरेको छ । विधान संशोधन मस्यौदा समितिका संयोजक पूर्णबहादुर खड्काले पेश गरेका प्रस्तावित विधानको मस्यौदामाथि अध्ययन गर्न केन्द्रीय समितिका पदाधिकारी एवं सदस्यहरुलाई तीन दिनको समय उपलब्ध गराइएको छ ।
विधानको मस्यौदाको प्रस्तवनामा केही तथ्यगत ऐतिहासिक घटनाहरु थप गरिएको छ भने विद्यमान विधानमा कायम साधारण सदस्यता हटाई ‘नेपाली काँग्रेसको सदस्य’ बनाइएको छ । र, नवीनकरण पश्चात नेपाली काँग्रेसको सदस्यलाई क्रियाशील सदस्य भनिने व्यवस्था गरिएको छ ।
यस्तै, सदस्यता वितरण कार्यलाई सहज र व्यापक बनाइएको छ । सदस्यता प्राप्ति र नवीकरण गर्नका लागि संस्थागत एवं पारदर्शी कार्यविधि, आवश्यक योग्यता, शिफारिस गर्ने प्रक्रिया, सदस्यता प्रदान गर्ने तथा नवीकरण गर्ने कार्यविधि, सदस्यता सम्बन्धि उजुरी र पुनरावेदन सम्बन्धि व्यवस्था, केन्द्रीय सदस्यता व्यवस्थापन समिति सम्बन्धि व्यवस्था, सदस्यता दर्ता किताव, विदेशी जनसम्पर्क समिति सम्बन्धि व्यवस्था, सदस्यता सम्बन्धि अन्य थप व्यवस्था सम्बन्धि प्रावधान स्पष्ट उल्लेख गरिएको छ ।
स्थानीय तहको संगठन संरचना
स्थानीय तहको संगठनको छुट्टै परिच्छेदमा स्पष्ट व्यवस्था गरिएको छ भने टोल कार्यसमिति, गाउँपालिका वडा कार्यसमिति, नगरपालिका/उपमहानगर/महानगर वडा कार्यसमिति, गाउँपालिका कार्यसमिति, नगरपालिका/उपमहानगर/महानगरपालिका कार्यसमिति, प्रदेश सभा क्षेत्रीय कार्यसमिति, प्रतिनिधि सभा क्षेत्रीय कार्यसमिति, जिल्ला कार्यसमिति तथा कार्यसम्पादन समितिहरुको व्यवस्था गरिएको छ ।
मस्यौदामा प्रदेश कार्यसमिति, प्रदेश महाधिवेशन प्रतिनिधि, प्रदेश महासमिति सदस्य सम्बन्धि व्यवस्था पनि गरिएको छ । केन्द्रीय महाधिवेशन प्रतिनिधि र केन्द्रीय महासमितिको सदस्यको संख्या पुरानो संख्यामा नघट्ने गरि कायम गरिएको छ भने केन्द्रीय कार्यसमिति र केन्द्रीय कार्यसम्पादन समितिको संख्यामा परिवर्तन गरिएको छ । यस्तै पार्टीको तर्फबाट सबै तहमा हुने उम्मेदवारको योग्यता, संसदीय समिति, तहगत रुपमा उम्मेदवारको सिफारिस, उम्मेदवारको अनुमोदन र निर्णय सम्बन्धि व्यवस्थालाई विकेन्द्रीत गरि छुट्टै परिच्छेदमा व्यवस्था गरिएको छ ।
अनुशासन समितिसम्बन्धी
अनुशासन समितिसम्बन्धी व्यवस्थालाई थप फराकिलो र व्यवस्थित बनाइएको छ । यसमा तहगत पुनरावेदनको व्यवस्था सहित केन्द्रीय–प्रदेश–जिल्ला अनुशासन समिति गरी तीन तहको व्यवस्था गरिएको छ । मस्यौदामा केन्द्रीय निर्वाचन समितिसम्बन्धी व्यवस्थालाई थप परिष्कृत गरिएको छ ।
केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानको नाम संशोधन गरि केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान कायम गरिएको छ । काम, कर्तव्य र अधिकार सम्बन्धि थप व्यवस्थाहरु स्पष्ट गरिएको छ । स्थायी सचिवालयको व्यवस्था, सदस्यको संख्या थप गरि ५१ गरिएको छ । मस्यौदामा केन्द्रीय विभाग (२८ वटा) प्रदेश विभाग (२२ वटा) हरुको व्यवस्था गरी केन्द्रीय विभागको सदस्य संख्या ५१ कायम गरि काम, कर्तव्य र अधिकार स्पष्ट गरिएको छ ।
भ्रातृ संगठनलार्इ थप व्यवस्थित
भ्रातृ संगठन र शुभेच्छुक संस्थासम्बन्धी व्यवस्थालाई थप व्यवस्थित बनाई पार्टीको जिम्मेवारी र भ्रातृ संघ/शुभेच्छुक संस्थाका जिम्मेवारीको बारेमा थप स्पष्ट बनाइएको छ । नेपालको संविधान र प्रचलित कानूनलाई समेत मध्यनगर गरी सबै तहका संरचनामा सम्बन्धित तहको भूगोल र जनसंख्याको बनोट अनुसार समानुपातिक समावेशी प्रतिनिधित्वको व्यवस्थालाई सुनिश्चित गरिएको छ ।
पार्टीका सबै तहका कार्यसमितिको सभापति पदको निर्वाचनमा निर्वाचित सभापति पछि दोस्रो बढी मत प्राप्त गर्ने व्यक्ति सम्बन्धित कार्यसमितिको सदस्य हुने व्यवस्था थप गरिएको छ ।
मस्यौदामा संक्रमणकालीन अवस्थाका बारेमा स्पष्ट व्यवस्था गरिएको छ भने पार्टीमा विशिष्ठ योगदान पुर्याएका, २०४६ पूर्व पार्टीको पदाधिकारी भई काम गरेका तथा राष्ट्रिय जीवनका विविध क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएका व्यक्तिलाई पार्टीले सम्मान र अभिनन्दन गर्ने व्यवस्था गरिएको छ ।
जिल्ला-प्रदेश-केन्द्र सम्पर्क समितिको व्यवस्था गरिएको छ भने एउटै व्यक्ति पार्टी र भ्रातृ संघ एवं शुभेच्छुक संस्थाको दोहोरो जिम्मेवारीमा रहन नपाउने व्यवस्था थप गरिएको छ । त्यस्तै एउटै व्यक्ति एक भन्दा बढी भ्रातृ संघ/शुभेच्छुक संस्थाको सदस्य हुन नपाउने व्यवस्था थप गरिएको छ ।
केन्द्रीय कार्यसमितिको आगामी मंसिर १३ गते विहान ११ः०० बजे बस्ने बैठकमा मस्यौदा माथि विस्तृत छलफल आरम्भ गरिने नेपाली काँग्रेसले जनाएको छ ।