निर्मलाका बुबा यज्ञराजको कलेजोमा संक्रमण

काठमाडौं, १०  मंसिर – बलत्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तका बुबा यज्ञराजको कलेजोमा संक्रमण देखिएको छ। छोरीका हत्यारालाई कारबाहीको माग गर्दै धर्नामा रहेका उनको स्वास्थ्य अवस्था बिग्रदै गएपछि आइतबार साँझ त्रिवि शिक्षण (टिचिङ) अस्पतालमा उपचारका लागि ल्याइएको थियो ।

प्रारम्भिक स्वास्थ्य परीक्षणमा यज्ञराजको कलेजोमा संक्रमण देखिएको हो। आकस्मिक विभागका डाक्टर तिर्थमान श्रेष्ठका अनुसार उनको कलेजोमा संक्रमणका साथै मुटुको चाल १३० पुगेको छ। उनले भने, ‘नर्मल व्यक्तिको मुटुको चाल सयको हाराहारीमा हुनुपर्छ ।’

धर्नामा बसेरहेको अवस्थामा हाँस्ने, रुने, बर्बराउने, गालीगलौज गर्ने जस्ता अस्वाभाविक लक्षण देखिन थालेपछि उनलाई उपचारका लागि काठमाडौं ल्याइएको थियो । तर, चिकित्सकहरुले भिडियोमा आएको जस्तो गम्भिर अवस्था नभएको बताएका छन् । श्रेष्ठले भने, ‘उहाँमा मानसिक समस्या नहुने भन्ने भएन तर, जसरी भिडियोमा देखाएको थियो त्यस्तो अवस्था हामीले पाएनौँ ।’ बाटोमा लट्याउने औषधि दिँदै आएकाले चिकित्सकले उनको अवस्थाका बारेमा भन्न नसक्ने बताए ।

डा श्रेष्ठका अनुसार सिटी, एमआरआई, रगतको रिपोर्ट नर्मल देखिएको छ । सडकमा दौडिएकाले देब्रे खुट्टाको दुई वटा औँला भाँचिएको छ। अहिले औँलामा प्लस्टर गरिएको छ । उनलाई जनरल वेडमा सारिएको छ। मानसिक रोग विशेषज्ञको सल्लाह बमोजिम कुनै औषधि चलाइएको छैन। आइतबार रातभरिको अवस्था हेरेर आज निर्णय लिने डा श्रेष्ठले बताए ।

धेरै दिन चिसोमा धर्ना बसेका कारण र पानीको कम प्रयोग, अत्याधिक ज्वरोले पनि कलेजोमा संक्रमण भएको हुन सक्ने चिकित्सकहरुले अनुमान गरेका छन् । उपचारमा संलग्न चिकित्सकका अनुसार यज्ञराजलाई ९९.८ डिग्री ज्वरो आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार