नयाँ युगको सुरुवाती, सामाजिक सुरक्षा दिवस : प्रधानमन्त्री ओली

काठमाडौं, ११ मंसिर – प्रधानमन्त्री केपी शर्मा ओलीले प्रथम सामाजिक सुरक्षा दिवसलाई नयाँ युगको सुरुवाती दिनको संज्ञा दिएका छन् ।पहिलो सामाजिक सुरक्षा दिवस तथा योगदानमा आधारित सामाजिक सुरक्षा योजना लागू भएको अवसरमा एक सन्देश दिँदै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।


आजको दिनबाट सरकारले हुँदाखाने र हुनेखाने, रोजगारीमा रहेका र रोजगारी गुमाएका सबैलाई समेट्ने नयाँ प्रणालीको थालनी गरेको प्रधानमन्त्रीको सन्देशमा उल्लेख छ । प्रधानमन्त्री ओलीको सन्देशमा आजबाट सामाजिक सुरक्षाका योजनाहरु लागू भएको उल्लेख छ ।

अघिल्लोपटक प्रधानमन्त्री हुँदा नै सबैको सहभागितामा सामाजिक सुरक्षाको योजना लागू गर्ने प्रतिबद्धता व्यक्त गरेको प्रधानमन्त्री ओलीले स्मरण गरेका छन् । ‘श्रमको सम्मान गर्ने, सबैलाई श्रममा लाग्न उत्प्रेरित गर्ने र आधुनिक सभ्य समाजअनुरूप सबैको संरक्षण गर्ने प्रणालीमा हामी आजैबाट प्रवेश गर्दै छौं,’ प्रधानमन्त्रीको सन्देशमा उल्लेख छ ।

प्रधानमन्त्री ओलीले सबै देशवासीलाई सामाजिक सुरक्षा योजना शुभारम्भको अवसरमा सुरक्षित भविष्यको शुभकामना पनि व्यक्त गरेका छन् ।

यसैबीच, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सिङ्गो नेपाल र नेपालीका लागि सामाजिक सुरक्षा योजना आम श्रमजीवी नागरिकका लागि गौरवको विषय भएको उल्लेख गर्दै नयाँ युगको शुरुवात हो भनेका छन् । उनले योजनाको सफल कार्यान्वयनका लागि रोजगारदाता, श्रमिकलगायत सरोकारवाललाई सहयोगका लागि अपिल गरेका छन् ।

श्रमिकको हकहितलाई मध्यनजर गर्दै सरकारले पहिलो पटक श्रमिक र तिनका आश्रित परिवारको लागि सामाजिक सुरक्षा योजना सुरु गर्न लागेको हो। काठमाडौंको प्रज्ञा भवनमा हुने विशेष कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सुरक्षा योजनाको घोषणा गर्ने कार्यक्रम छ।

यो योजनाले देशमा सामाजिक सुरक्षाको नयाँ युगको सुरुवात गर्नुका साथै दीगो व्यवसायिक वातावरण, अशल श्रम सम्बन्धको निर्माण तथा आम श्रमिकको मर्यादित जीवनको लागि सर्वाधिक महत्व राख्ने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।सामाजिक सुरक्षा दिवसलाई उत्सवका रुपमा मनाउन मन्त्रालयले सबै सरकारी एवं गैरसरकारी संघसंस्थालाई अनुरोध गरेको छ।

योगदानमा आधारित सामाजिक सुरक्षा योजना श्रमिक र रोजगारदाताले गरेको योगदानका आधारमा आकस्मिक रुपमा आइपर्ने समस्याको निराकरण गर्न र भविष्यलाई सुरक्षित बनाउन अगाडि सारिएको सुरक्षा कार्यक्रम हो। हाललाई पहिलो चरणमा यस योजनाले औपचारिक क्षेत्रको प्रतिष्ठानस्तरका श्रमिकहरुलाई समेट्ने छ। दोश्रो चरणमा अनौपचारिक र स्वरोजगारलाई यस योजनाले समेट्ने मन्त्रालयले जनाएको छ।

सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधिमा वृद्ध अवस्था सुरक्षा योजनाका लागि रोजगारदाताले श्रमिकको न्युनतम पारिश्रमिकबाट निश्चित प्रतिशत जम्मा गरिदिने र व्यक्ति स्वयमले पनि योगदान गरेको रकमबाट पेन्सन या उपदान लिन सक्ने व्यवस्था गरिएको छ ।

योगदानमा आधारित सामाजिक सुरक्षा अन्तर्गत रोजगारदाताले श्रमिकको न्युनतम तलबबाट ११ प्रतिशत रकम कट्टा गर्नेछन् । र श्रमिकको न्युनतम तलबको २० प्रतिशत रोजगारदाताले थप गरी जम्मा ३१ प्रतिशत रकम कोषमा जम्मा हुनेछ ।

जम्मा भएको रकमबाट औषधोपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजनाका लागि १ प्रतिशत, दुर्घटना तथा अशक्तता सुरक्षा योजनाका लागि १ दशमलव ४० प्रतिशत, आश्रित परिवार सुरक्षा योजनाका लागि शून्य दशमलव २७ प्रतिशत र बाँकी २८ दशमलव ३३ प्रतिशत वृद्ध अवस्था सुरक्षाका लागि विभाजन हुनेछ ।

सरकारले श्रमिकको न्युनतम पारिश्रमिक १३ हजार ४ सय ५० रुपैंया तोकेको छ । उदाहरणको लागि श्रमिकको तलब १३ हजार ४ सय ५० रुपैयाँ छ भने उसको तलबबाट १ हजार ४ सय ७९ रुपैंया ५० पैसा काटिनेछ ।

त्यसमा रोजगारदाताले २ हजार ६ सय ९० रुपैंया थप्नेछ । अब सामाजिक सुरक्षा कोषमा श्रमिकको मासिक योगदान ४ हजार १ सय ६९ रुपैंया ५० पैसा हुनेछ । यही रकमबाट सरकारले बिभिन्न स्किममार्फत श्रमिकलाई सहयोग उपलब्ध गराउँछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार