सरकार देखिन भन्नेहरुका लागि देखाउन तामझाम गरेको -प्रधानमन्त्री ओली (पूर्णपाठ सहित)

काठमाडौं, ११ मंसिर  -योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको प्रचारप्रसारमा धेरै नै आलोचना भएपछि प्रधानमन्त्री केपी ओलीले शुभारम्भ कार्यक्रममा नै आलोचकहरुलाई जवाफ दिएका छन् । उनले प्रज्ञा प्रतिष्ठान, कमलादीमा भएको शुभारम्भ कार्यक्रममा सरकार देखिन भन्नेहरुका लागि देखाउन तामझाम गर्नुपरेको बताए ।

प्रधानमन्त्री ओलीले सरकार कहाँ छ भनेर प्रश्न गर्नेहरुलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोष शुभारम्भ गरेर गतिलो जवाफ दिइएको बताएका छन् । कसैले सरकार कहाँ छ ? कसैले जुम्रा पनि मारेन, सिन्को भाँचेन भन्ने गरेको भन्दै उनले भने, ‘यो सरकार जुम्रा मार्न बनेको होइन । देश विकास गर्न बनेको हो

केही दिनमा मेलम्ची आउने र त्यसले सरकार कहाँ छ भन्ने जवाफ दिने उनले बताए । ‘बाटोमा धुलो उड्न कम भएको छ, जवाफ पाउनुपर्ने हो, काठमाडौंमा सडक बढारिन्छ धोइन्छ, अनि थाहा पाउनुहुन्छ सरकार कहाँ छ ?’ उनले भने, ‘कलंकी नागढुंगा सडक हेर्न जानुस्, त्यहाँ छ सरकार ।’

जता फर्कियो, त्यता सरकार देख्न थालेपछि विरोध गर्नेहरु आफैं चुप लाग्ने पनि प्रधानमन्त्री ओलीले बताए । सामाजिक सुरक्षा योजना घोषणा कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, ‘मजदुरलाई सोध्नुस्, श्रमजीविलाई सोध्नुस्, दुख पाएका गरिबलाई सोध्नुस् सरकार कहाँ छ ?’

अरु के के भने प्रधानमन्त्रीले ? (पूर्णपाठ सहित)

– आज हामी एउटा नयाँ प्रकृतिको कार्यक्रममा सरिक हुँदैछौं । सिंगो नेपाली समाजलाई एउटा नयाँ युगतर्फ प्रवेश गराउँदै छौं । हुँदा खाने र हुने खाने, रोजगारीमा रहेका र रोजगारी गुमाएका वा नभएका सबै नागरिकलाई समेट्ने नयाँ प्रणालीको थालनी गर्दैछौं ।

– पहिलो सामाजिक सुरक्षा दिवस र सामाजिक सुरक्षा योजनाको शुभारम्भको यस सुखद् अवसरमा म, सबैमा बधाई तथा सुरक्षित भविष्यको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।

– मैले पहिलो पटक प्रधानमन्त्री हुँदा भनेको थिएँ, यो सरकारले सबैका लागि सबैको सहभागितामा सामाजिक सुरक्षाको योजना लागू गर्छ । आजको यो कार्यक्रम, त्यसैको निरन्तरता हो भन्न पाउँदा मलाई गर्व लागी रहेको छ ।

– हामी आजको यस कार्यक्रममार्फत सबैलाई भन्न चाहन्छौं, हाम्रो राज्य नियन्त्रणकारी संस्था मात्रै हैन, आफ्ना नागरिकको अभिभावक पनि हो । यसले भर/अभरमा सुरक्षा दिने र श्रम गरे वापत उचित पारिश्रमिक दिने दुवै गर्छ ।

– आजको यस दिनसम्म आईपुग्न हामीले धेरै घुम्तिहरु पार गरेका छौं । आजभन्दा २५ बर्ष पहिले हामीले नै पहिलो चोटी अल्पमतको सरकार बनेका बेला जेष्ठ नागरिक सुरक्षा कार्यक्रम अन्तरगत सामाजिक सुरक्षाको नयाँ प्रणाली थालेका थियौं । त्यो, एउटा दलको सरकारले एक आर्थिक वर्ष वा एक कार्यकालमा सीमित हुने गरी ल्याएको एउटा आर्थिक सहायताको कार्यक्रम थिएन, एकचोटी शुरु भएपछि निरन्तरता पाउने प्रकृतिको सामाजिक प्रणालीको थालनी थियो ।

– कनिका छरेको, ढुकुटी रित्याएको र आर्थिक अनुशासन भङ्ग गरेको जस्ता अनावश्यक, गैरजिम्मेवार आरोपका बीच हामीले पाका उमेरका हाम्रा अभिभावकहरुलाई सम्मान स्वरुप मासिक १०० रुपैंया जेष्ठ नागरिक भत्ता र समाजमा अपहेलित हुँदै एकल जीवन बाँच्न बाध्य हाम्रा दिदी बहिनी र छोरी/चेलीहरुको पीडालाई संबोधन गर्न ‘असहाय तथा विधवा महिला भत्ता’को थालनी गरेका थियौं ।

– परम्परागत रुपमा हाम्रो समाज सहयोगी र आत्मीय रहँदै आएको छ । हाम्रो कल्याणकारी समाज, पाहुना आएकाहरुलाई आफ्नो ओछ््रयानै छोड्नेदेखि भर/अभरमा सबै मिलेर विपतमा परेकालाई सहयोग गर्ने परम्परा सहित अघि बढेको छ । जनताले आफ्नै अनुभवमा गुठी, ढिकुर वा ढुकुटी, धर्म–भकारी, अ‍ैंचो/पैंचो, पर्म, सघाउ वा जाती/समुदायमा आधारित सेवा समिति मार्फत ऐक्यवद्धता र सहयोग दिइने प्रचलन रहँदै आएको छ ।

– आधुनिकतासँगै यी परम्पराहरु भत्किन पुगे । तीन/चार पुस्ता सँगसँगै रहने ठूला/ठूला सामुहिक परिवारहरु स–साना परिवारमा विभक्त भए । ‘पुरानोलाई छोडेको तर नयाँ प्रणालीमा नजोडिएको’ त्यो संक्रमणकालीन खाडललाई जोड्न के गर्ने भन्नेमा बहस भइ रहेको थियो, योजना चाँहि बनी रहेको थिएन । ‘सक्नेले खाने, नसक्ने जाने’ जस्तो अमानवीय र गैरजिम्मेवार राज्यको भूमिकामा परिवर्तन जरुरी थियो । त्यसैका लागि यस किसिमको प्रवन्ध आवश्यक थियो ।

– कतिले यसलाई बुझेनन् । कतिले यसलाई कम्युनिस्ट सर्वसत्तावादी कार्यक्रम ठाने । कतिले यसलाई बुझेर पनि बुझ पचाए । दलगत स्वार्थमा चोट पुग्ने ठानी निन्दा/भत्सर्ना गरे, भाँड्न खोजे ।

– जे होस् अहिले त्यो राम्रो थालनीको जनक आफैं बन्ने होडवाजी देखिन्छ । त्यस्ता योजनाहरुको ममी/ड्याडी मैं हुँ भन्नेहरुको दावी/प्रतिदावी पनि सुनिन्छ । भत्ता पाउने ‘उमेरको हद घटाउने र भत्ताको दर बढाउने’ नाटक गर्ने होडवाजीमा साथीहरु लागेको देखिन्छ ।

– आजको यस कार्यक्रम मार्फत हामी २५ बर्ष अघि थालेको त्यो कार्यक्रममा थप नयाँ आयाम दिँदैछौं ।

– सरकारी सेवामा रहेकालाई, ‘मान र मानो’ दुवै दिने तर अन्य सेवामा रहेकालाई वेवास्ता गरिने प्रचलनलाई सुधार्ने प्रयास थालेका छौं । श्रमको सम्मान गर्ने, सबैलाई श्रममा लाग्न उत्प्रेरित गर्ने र आधुनिक सभ्य समाज अनुरुप सिङ्गो समाज मिली– सबैको संरक्षण गर्ने प्रणालीमा प्रवेश गर्दैछौं ।

– यो नयाँ प्रणाली, लक्षित उमेर समूह वा समुदायलाई मात्र हैन, सबैका लागि हो ।

– ज्याला रोजगारी हुने र नहुने

– युवा हुन् वा वृद्ध

– स्वस्थ्य हुन् की विरामी

– बालबच्चा भएका वा नभएका

– आम्दानी भएका वा नभएका सबैलाई हो ।

– ‘कोक्रोमा आउँदैदेखि कात्रोमा नबेरिएसम्मको सुरक्षा’ भन्दै भाका टिप्नेहरु पनि–पछि पछि आए । के गर्ने र कसरी गर्ने भन्ने अवधारणा नै नभएकाहरुले स्वास्थ्य विमाको आफैं च्याम्पियन भएको धमास लगाउन पनि भ्याए । के हुँदैछ, राज्यले कसरी र के गर्दै भन्ने अत्तो पत्तो नभएकाहरुले हाम्रो संविधानले परिकल्पना गरेको ‘समाजवाद उन्मुख राज्य’लाई ‘दलाल पूँजीवादी’ भन्न पनि भ्याए ।

– पत्रपत्रिकामा कसैले सोधेछन्– सरकार हरायो, कहाँ छ ? के गर्दैछ ?आज म भन्न चाहन्छु, सरकार यहाँ छ, श्रमजीवी जनताको वीचमा छ । उनीहरुको भविष्य सुरक्षित गर्ने योजना निर्माणमा तल्लीन छ । त्यसलाई लागू गर्न कटिबद्ध छ । भोली कसै कसैले भन्न पनि सक्छन्– यो तामझाम किन? मेरो जवाफ हुनेछ– ‘देखिन, थाहा पाइन’ भन्नेहरुलाई ‘देखिने गरी, सुनिने गरी’ हाम्रा योजनाको जानकारी गराउन आजको कार्यक्रम आयोजना गरिएको छ । साथ दिने सहयात्रीहरुसँग खुशी र उत्सव मनाउन यो कार्यक्रम आयोजना गरिएको छ ।

– म ठान्दछु, समाज निराशामा रहेको अवस्थामा हौसला दिनुपर्छ । प्रणाली भत्केको बेलामा सपना देखाउनु पर्छ । र, शासनको बागडोर हातमा पर्नासाथ ती सपना र आशहरुलाई मूर्तता दिने काम गर्नुपर्छ ।

– विगतमा हामीले त्यसै गर्ने प्रयास ग¥यौं । र, अहिले हामी त्यही गर्दै छौं ।

– उदारिकरणको राक्षसले हाम्रो अर्थव्यवस्थामाथि बुलडोजर चलाएको बेला, हाम्रा सार्वजनिक संस्थाहरु कौडीको मोलमा लिलाम भइरहेको बेला, भविष्यको आशाको त्यान्द्राहरु छिनालिएको बेला, औद्योगिकिकरण विकासका बाटाहरु स्वार्थका नङ्ग्राले चिथोर्दै भत्काइ रहेको बेला, हामीले एउटा प्रणाली थालेका थियौं । त्यसको शुरुवात पाकाहरुबाट ग¥यौं, ती हाम्रा अभिभावकहरुमा लामो आयु बाँच्ने आशा जगायौं । ‘साठी नाघेका मानिस हाम्रो के भर’ भन्ने निराशाको ठाँउमा ‘कम्तिमा पनि ७० ननाघी, राज्यले दिने भत्ता नलिइ मर्दिन’ भन्ने मान्यता स्थापित गरायौं । छाडा पूँजीवादी व्यवस्थामा सन्तानले फ्याँक्छ, तर न्यायिक राज्यमा मेरो सरकार छ, मेरो राज्य छ त्यसैले मलाई पाल्छ भन्ने सन्देश प्रवाह ग¥यौं ।

– के हो, के हो भन्ने अनिश्चय चिरिएपछि, हुँदो रहेछ भन्ने विश्वास बसेपछि हामीले समाजको अर्को कमजोर पक्ष र हाम्रो भविष्य, बालबालिकाको हितमा अग्रसर भयौं ।

– स्मरण गरौं त ? गर्भमा रहेदेखि नहुर्केसम्म शिशु संरक्षण र स्याहारको ‘सुनौलो १ हजार दिन’को अवधारणा कसले ल्यायो?“वालसंरक्षण अनुदान, मातृत्व संरक्षण सुविधा, सबैको लागि शिक्षा” जस्ता कार्यक्रम यसपछिका श्रृंखला हुन् । नयाँ बर्षको थालनी गर्दा स्कूल जाने उमेर भएका बालबालिकाहरुलाई भर्ना अभियान कुनै रमाइलोको लागि गरिएको थियो र? कार्यक्रमका रुपमा लक्षित क्षेत्र र समुदाय केन्द्रीत सामाजिक सहायताका यस्ता योजना त छँदै छन् ।

– आज हामी सामाजिक सुरक्षा योजनाहरुको शुरुवात गर्दैछौं । यो सामाजिक सुरक्षा भनेको, सामाजिक साझेदारीमा आधारित अभियान हो ।

– राज्यले सबै नागरिकहरुप्रति समान व्यवहार गर्छ । तर त्यो समानता उमेरको हिसावले बाल्यकाल, सक्रिय उमेर, र वार्धक्य कालमा फरक फरक हुन सक्छ ।

– बाल्यकालमाः स्याहार । शिक्षा स्वास्थ्यमा समानता

– सक्रिय उमेरमाः अवसर । योग्याता र दक्षताको आधारमा रोजगारी

– पाको उमेरमाः सम्मान र संरक्षण ।

– सामाजिक सुरक्षाको थिति यसैगरी बसाइन्छ । स्पष्ट हुनुपर्ने कुरा के छ भने सामाजिक सुरक्षा भनेको दान दातव्य हैन, नत यो बचत हो । यो एउटा ऐक्यवद्धतामा आधारित प्रणाली हो ।

–समाजिक सुरक्षा भनेको ‘ढुकुटीबाट झिक्दै –बाँड्दै हैन, ढुकुटीमा भर्दै– भरथेग गर्दै’ अघि बढ्ने विधि हो ।

– एउटा भनाई छ नि, एक थुकी सुकी– सय थुकी नदी । ठीक त्यस्तै सामाजिक सुरक्षाका योजना भनेको पनि ‘एक/एक मिली सबैलाई, सबै मिली एक/एकलाई’ भने जस्तै हो ।

– सामाजिक सुरक्षा भनेको आम्दानी गुम्दाः सट्टा आम्दानीको रुपमा, आम्दानी अपुग हुँदाः थप आम्दानीको रुपमा र आम्दानी नै नहुँदाः सहायक आम्दानीको रुपमा दिइने भरथेग हो ।

– यस्ता सहयोग सर्वकालीक र योगदानमा आधारित हुन्छ । योगदानमा आधारित भनेको राज्यको सहभागितामा कमाउन सक्नेले योगदान गर्ने र रोजगारी दिनेले ऐक्यवद्धता जनाउने विधि हो । त्यसैले सामाजिक सुरक्षा भनेको अधिकार र दायित्वको समिश्रण हो ।

– सामाजिक सुरक्षाका योजनाहरुले ज्यालाजीवी, जंगी/निजामती र स्वरोजगारीमा रहेका सबैलाई समेट्छ । यसले औपचारिक वा अनौपचारिक श्रम क्षेत्रमा कार्यरत सवै श्रमिकलाई समेट्छ । म स्पष्ट पार्न चाहन्छु– अव सामाजिक सुरक्षाको दायराबाट कोही पनि बाहिर पर्दैनन् । आजबाट सुरु हुने सामाजिक सुरक्षाका योजनाहरु मूलतः ज्याला रोजगारी र स्वरोजगारीमा रहेकाहरुप्रति केन्द्रित छ ।

– सामाजिक सुरक्षा कोषको नारा– ‘सहभागिता, योगदान र सामाजिक सुरक्षा’मा यसको विधि, प्रकृया र दायरा स्पष्ट प्रतिविम्बित छ । काममा रहेका श्रमजीवी जनतालाई सुरु गर्न लागिएको पाँच वटा सुरक्षाका योजनाहरु– औषधोपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना, दुर्घटना तथा असक्त सुरक्षा योजना, आश्रित परिवारको सुरक्षा र बृद्धावस्था सुरक्षा योजनाले हाम्रो श्रमको संसारमा श्रमशक्ति किन्ने र श्रमशक्ति बेच्ने दुवै पक्षलाई थप हौसला प्रदान गर्ने मेरो विश्वास रहेको छ । श्रमजीवी वर्गको उच्च ज्यालाको आकांक्षा र उद्यमी व्यवसायीको उच्च उत्पादकत्वको अपेक्षा दुवैको यी योजनाहरुबाट सम्बोधन हुन्छ । सुरक्षा हुनुप¥यो भन्ने श्रमिक र श्रम शर्त खुकुलो हुनु प¥यो भन्ने रोजगारदाताको सुमधुर भेट यहाँ हुन्छ ।

– सामाजिक सुरक्षा र लोककल्याणकारी राज्यको हाम्रो अवधारणाको सम्बन्धमा म फेरि एकपल्ट स्पष्ट पार्न चाहन्छु । हामीले भनेको राज्य जनताको राज्य हो । सार्वभौेमसत्ता जनतामा रहेको र जनता नै शक्तिका र राज्य शक्तिका समेत श्रोत रहेको राज्य हो । हामीले भनेको लोकतन्त्र जनताका निम्ति काम गर्ने जनताको शासन व्यवस्था हो, जहाँ जनता सर्वशक्तिमान– अन्तिम शासक हुन्छन् ।

–मैले लगातार भन्दै आएको छु– यो जनताको जनवाद हो । जनताको जनवाद वा लोकतन्त्र राजनीतिक अधिकार वा स्वतन्त्रताका हकहरुमा मात्र सीमित हुँदैन । यो राजनीतिक, आर्थिक, सामाजिक, साँस्कृतिक लगायतका सामाजिक जीवनका सम्पूर्ण क्षेत्रहरुमा पैmलिएको पूर्ण लोकतन्त्र हुन्छ । हामी यही पूर्ण लोकतन्त्रको पक्षमा छौं । यसैलाई भनिन्छ, सामाजिक न्याय र समानता सहितको लोकतन्त्र ।

हाम्रा भविष्यका कर्णधार वालबालिकाहरुलाई भोकै–नाङ्गै राख्ने, पढ्न–लेख्न अवसर नदिने, हाम्रा युवाहरुलाई शिक्षा, रोजगारी र आय आर्जनका अवसरबाट वञ्चित पार्ने र हाम्रा अभिभावक– जेष्ठ नागरिकहरुलाई वेसहारा बनाउने सिमित मान्छेहरुको सामन्ती स्वार्थी शासन हामीलाई चाहिदैन थियो । र, हामीले फाल्यौं पनि । त्यस्तो व्यवस्थाको संस्थापक र संरक्षक जनविरोधी राणाशासन र राजतन्त्र हामीले फाल्यौं । केही मानिसहरु हिजोका अनुचित लाभका अवसरहरु अहिले झलझली सम्झिएर, कहिले धर्मको बहान बनाउँदै त कहिले लोकतन्त्रलाई सराप्दै १०४ बर्षको अन्धकार युग र २४० बर्षको अत्याचारी सामन्तीतन्त्रलाई जनताले विर्से की भन्दै राजतन्त्र फर्काउन सिसडोल उधिनिरहेका छन् ।

गणतन्त्रका हाम्रा संस्थामाथि केही धावा बोल्न उद्यत छन् । उनीहरुले बुझ्नु पर्ने थियो, राष्ट्रपति–उपराष्ट्रपति जस्ता संस्थाहरु विभत्स हत्याकाण्डका आकस्मिक उपज हैनन् । जनताको लामो बलिदानपूर्ण संघर्षबाट स्थापित जनताका आकाँक्षाका प्रतिरुप हुन् । हाम्रो गणतन्त्रका अति सम्मानित संस्थाहरु हुन् । आफैं सक्रिय नहुने ती मर्यादित संस्थाहरुप्रतिको आक्रमण, विरोधीहरुको असहिष्णुताको उपज हो र चरम राजनीतिक असहिष्णुता पनि हो भन्ने म ठान्दछु । विरोधका लागि विरोध गर्ने, हिंसात्मक वकालत गर्ने उत्श्रृंखल तत्वहरु, राष्ट्रिय एकताको सन्दर्भमा भ्रम फैलाउने, राष्ट्रिय एकतालाई कमजोर बनाउने त्यस्ता तत्वहरुको क्रियाकलाप प्रति पनि सरकार सजग छ भन्ने कुरा म स्पष्ट पार्न चाहन्छु ।

उनीहरुले यो पनि बुभ्mनु पर्ने– अब देश अघि बढ्यो । अगाडि बढिसक्यो । अब मुलुक सुशासन र विकासको बाटोमा लम्कियो । हरेक क्षेत्रमा अब नेपाल हरेक दिन एक कदम अगाडि १

– मैले अघिल्लोपल्ट प्रधानमन्त्री हुँदै भनेको थिएँ– यो उर्वर देश, यहाँ चरा, मुसा, किरा, फट्याँग्रा पनि भोकले मर्दैनन् । यस्तो देशमा अब जनताको सरकार छ , यहाँ कोही भोकै पर्दैन, भोकले मर्नु पर्दैन १ आज फेरि म सबैलाई आश्वस्त पार्न चाहन्छु ।

– सम्पूर्ण प्रयास जनताका लागि, सम्पूर्ण उपलब्धि जनताको सम्पती १ पछाडी परेको वर्ग, क्षेत्र र समुदायलाई विशेष प्रवन्ध गरी अगाडि ल्याऔं १ गरिवीको वितरण होइन, सबै मिलेर समृद्धि हासिल गरौं, सबैलाई सुख बाँडौं १ राज्य रक्षक हो, संरक्षक हो, सहयोगी हो । यही हो, लोककल्याणकारी राज्य, समाजवाद उन्मुख लोकतान्त्रिक राज्य १ हाम्रा आजका प्रयासहरु यस यात्राका थप कदमहरु हुन् ।

– अन्त्यमा, यस भव्य समारोहको आयोजनाका लागि आयोजकलाई बधाई सहित सबैलाई शुभकामना ।

http://jagdambacement.com/

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार