काठमाडौं, १२ मंसिर – सर्वोच्च अदालतको भावी प्रधानन्यायाधीशमा सर्वोच्चका न्यायाधीश चोलेन्द्रशमशेर जबरा एक्ला योग्य व्यक्ति देखिएका छन् ।प्रधानन्यायाधीश बन्न सर्वोच्चमा तीन वर्ष न्यायाधीशका रूपमा काम गरेको हुनुपर्ने संवैधानिक व्यवस्थाअनुसार न्यायपरिषद्ले न्यायाधीशद्वय दीपकराज जोशी र जबराको नाम सिफारिस गरेको छ ।
न्यायाधीश जोशीको नाम रोस्टर भए पनि यसअघि प्रधानन्यायाधीशका लागि संसदीय सुनुवाइ समितिबाट अयोग्य ठहरिएको कैफियत विवरणका कारण उनको अगाडिको यात्रामा कठिनता उत्पन्न भएको हो भने जबरा एक्ला योग्य व्यक्ति बन्न पुगेका हुन् । सर्वोच्चका न्यायाधीशमध्ये जोशी वरिष्ठतामा एक नम्बरका न्यायाधीश हुन् भने जबरा दोस्रो वरीयतामा छन् ।
न्यायपरिषद्का सचिव नृपध्वज निरौलाले संविधानले तोकेको व्यवस्थानुसार योग्यता पुगेका न्यायाधीशद्वय जोशी र जबराको विवरणसहितको अभिलेख संवैधानिक परिषद्को सचिवालयमा पठाइएको बताए । यसअघि परिषद्ले योग्यता पुगेका तीन जनाको विवरण पठाउने गरेको थियो ।
संवैधानिक प्रावधानअनुसार प्रधानन्यायाधीश बन्नका लागि तीन वर्ष सर्वोच्चमा काम गरेको हुनुपर्ने प्रावधानअनुसार दुई जना मात्र भएपछि दुईको मात्र नाम सिफारिस भएको हो ।
न्यायाधीश जोशीका नाम यसअघि संवैधानिक परिषद्ले प्रधान्यायाधीशका लागि सिफारिस गरेको थियो । जोशीको शैक्षिक प्रमाणपत्रको विषय विवादित बनेपछि संघीय संसद्अन्तर्गतको संसदीय सुनुवाइ समितिले जोशीको नाम अस्वीकृत गरेको थियो ।
जोशीले सुनुवाइ समितिमा पेस गरेको प्रमाणपत्रअनुसार २०२९ सालमा ३६६७ सिम्बोल नम्बरबाट एसएलसी पास गरेको उल्लेख थियो । तर, २०२९ सालमा उक्त सिम्बोल नम्बरबाट हिमबहादुर लेकाली नाम गरेका विद्यार्थीले नारायण विद्यामन्दिर हाई स्कुलबाट एसएलसी दिएका तर पास नभएको रेकर्ड फेला परेको थियो । शैक्षिक प्रमाणपत्रमा धेरै त्रुटी र शंका देखिएको कारण देखाउँदै जोशीलाई प्रधानन्यायाधीशमा अनुमोदन गर्न नसकिने सुनुवाइ समितिले ठहर गरेको थियो ।
जोशी अस्वीकृत भएसँगै संवैधानिक परिषद्ले न्यायाधीश ओमप्रकाश मिश्रको नाम सिफारिस गरेको थियो । सुनुवाइ समितिले उनको नाम अनुमोदन गरेसँगै मिश्र प्रधानन्यायाधीश बनेका थिए ।
गत २५ साउनमा प्रधानन्यायाधीश बनेका मिश्रले आगामी १६ पुसमा अवकाश पाउँदै छन् । उनी ६५ वर्षे उमेरहदका कारण पूर्ण कार्यकाल पूरा नहुँदै बिदा हुन लागेका हुन् । प्रधानन्यायाधीशको अवधि ६ वर्षको हुने संवैधानिक प्रावधान छ । सर्वोच्चमा प्रधानन्यायाधीशको ६५ वर्षे उमेरहद तोकिएको छ भने न्यायाधीशको ६३ वर्षको उमेरहदको व्यवस्था छ । – राजधानी दैनिक