काठमाडौं, १३ मङ्सिर – काठमाडौं उपत्यकामा चल्ने सवारी साधनमा बिहिबारदेखि जोर-बिजोर प्रणाली लागू भएको छ। एशिया प्यासेफिक सम्मेलनलार्इ ध्यानमा राखेर मंसिर १३ गते देखि १६ सम्म ४ दिनका लागि जोर बिजोर प्रणाली लागू गरिने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ। आज काठमाडौंमा बिजोर नम्बरका सवारीमात्र सञ्चालन अनुमति पाउने भएका छन्।
महाशाखाका अनुसार १३ र १५ गते बिजोर नम्बरका सवारी साधन गुडाउन पाइने छ भने १४ र १६ गते जोर नम्बर प्लेटका सवारी साधन मात्रै चलाउन पाइने छ। नेपालमा पहिलो पल्ट आयोजना हुन लागेको समिटमा भाग लिन सात राष्ट्रका प्रमुखसहित पाँच सय विदेशी पाहुनाहरु सहभागी हुने भएकोले उनीहरुको सवारी अावागमलार्इ सहज बनाउन यस्तो नियम लागू गर्न लागिएको जनाइएको छ।
अत्यावश्यक सेवाका सवारी साधनलाई जोर बिजोर लागु हुनेछैन। एम्बुलेन्स, दुध, प्रेस, पानी र फोहोर फाल्ने सवारीलार्इ भने निर्वाध रुपमा चल्ने पाउने ट्राफिक महाशाखाले जनाएको छ।
राजधानीका सडकमा दैनिक १० लाख बढी सवारी गुडछन् । बागमती अञ्चलमा ११ लाख ७० हजार सवारीसाधन दर्ता छन्। सडक भने दुई सय किलोमिटर मात्र छ। उपत्यकामा ट्राफिकको दरबन्दी १४५० छ । ड्युटीमा खटिँदा एक प्रहरीले कम्तीमा १० हजार सवारीसाधनको अनुगमन गर्नुपर्छ।