काठमाडौं, १३ मंसिर – प्रधानमन्त्री केपी शर्मा ओलीले जता हेर्यो त्यतै सरकार भनेर गरेको सम्बोधन जवाफ पोस्टरमार्फत दिइएको छ।निर्मलाको न्यायको माग गर्दै काठमाडौं सडक पेटी तथा विभिन्न स्थलका भित्तामा रातारात पोस्टर टाँसेर प्रधानमन्त्री ओलीलार्इ सरकार भेटिए पनि न्याय नभेटिएको जवाफ फर्काइएको छ।
कार्यक्रम राम्रो भए पनि भड्किलो भएको, बलात्कारपीडितले न्याय नपाइरहेका बेला पोल–पोलमा सरकार भेटिएको भन्दै सरकारप्रति व्यंग्यका वर्षा गरेका प्रधानमन्त्री ओलीलार्इ पोस्टरमार्फत जवाफ फर्काइएको हो।
नकारात्मक प्रतिक्रियाहरुको भेल लागेपछि प्रधानमन्त्री स्वयं नै प्रतिरक्षामा उत्रिए पनि सवाल–जवाफ रोकिएको छैन । बरु, यो नयाँ कलेबरमा देखापरेको छ ।
यही सिलसिलामा सरकारको सामाजिक सुरक्षा कार्यक्रम प्रचारकै शैलीमा ‘सरकार भेटियो, न्याय भेटिएन’ लेखिएका पोस्टरहरु टाँसिएका छन् । बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको तस्वीर राख्दै काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न क्षेत्रमा गएराति पोस्टर टाँसिएको हो ।
निर्मलालाई न्याय दिन माग गर्दै टाँसिएको पोस्टरमा अंग्रेजीमा लेखिएको छ, ‘न्याय दिन ढिलाइ गर्नु न्याय दिन इन्कार गर्नु हो।’ #Impunity दिइएको पोस्टर स्वतन्त्र युवाहरुले स्वतःस्फूर्त रकम खर्चेर टाँसेका जनाइएको छ।
यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीका लागि १८ करोडको गाडी खरिद गर्न लागिएको समाचार सार्वजनिक भएलगत्तै व्यंग्य गर्दै भीखसमेत मागेको थियो । कञ्चनपुरमा गत साउन १० गते बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको हत्यारा अझै पत्ता लाग्न सकेको छैन।