काठमाडौं, १६ मंसिर – अहिले काठमाडौंमा एसिया प्यासिफिक शिखर सम्मेलन चलिरहेको अवस्थामा प्रधानमन्त्री कार्यालयमै रहेको हेलो सरकार युनिटमा गाउँगाउँमा धर्म प्रचार गर्दै धर्म परिवर्तन गर्ने काम भइरहेको भन्दै रोक्न मागसहितको दर्जनौं उजुरी आइरहेका छन् । यो सम्मेलन पनि धर्म प्रचारका लागि गरिएको आरोप लाग्दै आइरहेको छ ।
क्रिस्चियन धर्म प्रचार गर्दै पैसा बाँडियो, रोक सरकार
जंगे पिलर रातारात सार्ने काम गरियो, खोज सरकार
बोर्डिङको ज्यादति अचाक्ली भयो, कारबाही गर सरकार
महँगी बढेको बढ्यै भयो, रोक सरकार
यातायातको सिन्डिकेट गफमै सीमित भयो, रोक सरकार
प्रधानमन्त्री कार्यालयको हेलो युनिट कक्षमा पछिल्लो एक महिना यता आएका गुनासाका चाङमध्ये धर्म प्रचार रोक्नुपर्ने, जंगे पिलर खोज्नुपर्नेसहितका गुनासाहरू निकै संवेदनशील र महत्वपूर्ण भए पनि ती गुनासाको उचित सम्बोधन भने हुन सकेको छैन ।
हेलो सरकार युनिट शाखाका अनुसार कार्यालयमा एक महिनाको अवधिमा यस्तै प्रकृतिका झन्डै १ हजार गुनासा दर्ता भएका छन् । तर, दर्ता भएका मध्ये अधिकांश गुनासाको सम्बोधन हुन सकेको छैन ।
हेलो सरकार युनिटका प्रमुख उपसचिव प्रद्युम्न उपाध्यायले प्रधानमन्त्री कार्यालयमा प्राप्त भएका गुनासा सम्बोधन गर्न सम्बन्धित मन्त्रालयमा पठाइए पनि मन्त्रालयहरुले गम्भीरतापूर्वक नलिँदा जनताका उजुरीहरुको उचित सम्बोधन हुन नसकेको बताए । हेलो युनिट शाखा प्रमुख उपाध्यायका अनुसार पछिल्ला दिनमा उजुरी र गुनासा आउने क्रम बढेको छ । धर्म प्रचार रोक्न तथा भारतको सीमामा रहेका जंगे पिलरहरुको संरक्षण गर्ने मागसहितका उजुरी आउने क्रम बढेको उपसचिव उपाध्यायले जानकारी दिए ।
हेलो सरकार युनिट शाखामा परेका गुनासामध्ये १२ हजार ३६८ को सम्बोधन हुन नसकेको सो शाखाले जनाएको छ । हालसम्म हेलो सरकार युनिटमा ८० हजार गुनासा आएका छन् । केपी शर्मा ओली प्रधानमन्त्री भएपछि सर्वसाधारण जनताले गुनासा सम्बोधन हुने आशाले प्रधानमन्त्री कार्यालयको हेलो युनिट कक्षमा अधिक रूपमा गुनासा आउने क्रम बढेको थियो । तर, जनताले आशा गरेअनुसार सम्बन्धित निकायबाट गुनासाको उचित सम्बोधन भने हुन नसकेको हेलो युनिट कक्षका कर्मचारीहरुले बताएका छन् ।
हेलो युनिट शाखाका अनुसार पछिल्ला दिन नेपाल–भारत सीमा क्षेत्रका सप्तरी, नवलपरासी, कञ्चनपुरलगायत जिल्लाका स्थानीय बासिन्दाले सीमा क्षेत्रमा रहेका जंगे पिलर रातारात हराउन थालेको र नेपाली भूमि भारततर्फ पार्ने प्रयास भइरहेको भन्दै त्यसलाई रोक्न माग गर्दै दर्जनौं गुनासा आइरहेका छन् । त्यसरी आएका गुनासाको तत्काल सम्बोधन गरी त्यसको जानकारी पठाउनु भन्दै गृह मन्त्रालय र परराष्ट्र मन्त्रालयलाई पत्र पठाएको भए पनि ती मन्त्रालयबाट कुनै जवाफ नआएको हेलो युनिट शाखाका अधिकारीहरुको भनाइ छ ।
‘ती मन्त्रालयहरुले गुनासा सम्बोधन गर्न खासै तदारुकता नदेखाउँदा जनताका त्यस्ता ‘जेनन’ र राष्ट्रिय संवेदनशीलता बोकेका विषयको गुनासासमेत सम्बोधन हुन सकिरहेको छैन, जुन दुःखद हो,’ शाखाका उपसचिव उपाध्यायले राजधानीस“ग भने । हेलो युनिट शाखाका अनुसार केही समयअघि आफ्ना नानीबाबुलाई भर्ना गर्ने क्रममा बोर्डिङ स्कुलबाट ठगिनुपरेको भन्दै अभिभावकबााटै दर्जनौं उजुरी आएका थिए । हेलो सरकारले त्यसमा आवश्यक कारबाही गर्न शिक्षा मन्त्रालयलाई लेखी पठाए पनि कुनै पनि स्कुललाई कारबाही भएको छैन ।
‘हामीले त्यस्ता निजी स्कुलको खोजी गरी कारबाही गर्न सम्बन्धित मन्त्रालयलाई लेखी पठायौं तर मन्त्रालयले कुनै जवाफ नै पठाएको छैन,’ शाखाका एक अधिकृतले भने ।
हेल्लो युनिट शाखामा क्रिस्चियन धर्म प्रचारप्रसार भएको र त्यसलाई रोक्न माग गर्दै दर्जनौं उजुरी आइरहेका छन् । मुलुकको पूर्वी पहाडी, पश्चिम तथा मध्य भागका विभिन्न जिल्लाका दुर्गम, विकट र विपन्न बस्तीमा क्रिस्चियन धर्म प्रचारप्रसार गर्दै धर्म परिवर्तनको हर्कत भइरहेकाले छिटो रोक्न माग गर्दै उजुरी पर्ने क्रम बढेको हेलो युनिट शाखाले जनाएको छ ।
हेलो युनिट शाखामा उपत्यकामा पानीको चरम अभाव भइरहेको, धुलो धूवाँबाट जनता आजित भइरहेको, जिल्लामा ढुंगा, गिटी बालुवाको तस्करी व्यापक रूपमा भइरहेको, वन फडानी भइरहेको, विकास निर्माणका कार्यहरु अवरुद्ध भइरहेकाले त्यस्तो कार्यमा ध्यान दिन माग गर्दै दर्जनांै गुनासा दर्ता भइरहेको हेलो युनिट शाखाले जनाएको छ । – राजधानी दैनिक