जलवायु परिवर्तनका कारण मानव सभ्यता र पृथ्वीको प्राकृतिक अवस्था नै समाप्त हुने चिन्ता

काठमाडौं, १८ मंसिर – वातावरणविद् सर डेभिड एटेनबर्गले जलवायु परिवर्तन मानव समुदायका लागि हजारौं वर्षपछिको सबैभन्दा ठूलो चुनौतीका रुपमा देखा परेको बताएका छन् । उनको भनाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जलवायु परिवर्तनका कारण मानव सभ्यता र पृथ्वीको प्राकृतिक अवस्था नै समाप्त हुने चिन्ता व्यक्त गरिएको छ ।

पोल्यान्डको क्याटोविसमा आयोजना गरिएको जलवायु सम्बन्धि सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । यो सम्मेलन सन २०१५ मा फ्रान्सको पेरिसमा भएको जलवायु परिवर्तन सम्बन्धि पेरिस सम्झौतापछिको सबैभन्दा महत्वपूर्ण सम्मेलन हो ।

‘अहिले हामी संसारमा मानव सिर्जित विपत विश्वव्यापी रुपमा सामना गरिरहेका छौं । जलवायु परिवर्तनका कारण मानव समुदायले सामना गर्नुपरेको यो हजारौं वर्षपछिको सबैभन्दा ठूलो संकटको अवस्था हो,’ सर डेभिडले भने, ‘यदि हामीले अहिले नै कुनै कदम चालेनौं भने हाम्रो सभ्यता नै अन्त्य हुनसक्छ ।’

सोमबार पोल्यान्डमा सुरु भएको सीओपी२४ शिखर सम्मेलनको उद्घाटन सत्रमा बोल्दै संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले विश्व विनासकारी जलवायु परिवर्तन रोक्ने आफ्नो योजनामा धेरै टाढा रहेको बताएका छन् । हालै एक पछि अर्को गर्दै आएका घातक रिपोर्टमा भूमण्डलीय तापमानमा भइरहेको बेलगाम वृद्धिलाई रोक्नका लागि मानवले ग्रीन हाउस ग्याँस उत्सर्जनमा जबरजस्त कटौती गर्नुपर्ने उनको भनाई थियो ।

यसैगरी संयुक्त राष्ट्रसंघका वातावरणसम्बन्धी प्रमुख पेट्रिसिया एसपिनोसाले पनि विश्वव्यापी तापमान वृद्धिका कारण मानवजातिले हालसम्मकै सबभन्दा धेरै खतराको सामना गरिरहेको बताएकी छन् ।

उनले भनिन् ‘जलवायु परिवर्तनले विश्वका विभिन्न समुदाय नराम्ररी प्रभावित भएका छन् । प्राकृतिक विपदले जताततै विनाश निम्त्याइरहेको छ । यस्तोमा जलवायु परिवर्तनको प्रभाव कम गर्न हामीले आपतकालीन कदमहरू चाल्न थाल्नु अपरिहार्य भएको छ ।’

जलवायु परिवर्तनलाई सीमित पार्ने कार्यमा संलग्न चार वरिष्ठ अधिकारीहरूले पृथ्वी ग्रह चौबाटोमा आइपुगेको बताएका छन् । राष्ट्रसंघले प्रायोजन गरेको वार्ताटोलीका चार पूर्व प्रमुखहरूले निर्णायक कदम चाल्न अपिल पनि गरेका छन् । पेरिस सम्झौतामा तोकिएका लक्ष्य भेट्टाउने हो भने संसारले कार्बन उत्सर्जनको मात्रामा व्यापक कटौती गर्नपर्ने विज्ञहरूले औंल्याएका छन् ।

कन्फरेन्स अफ द पार्टीज वा कोप भनिने यो सम्मेलन गत अक्टोबरमा जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघको अन्तरसरकारी प्यानेल वा आइपीसीसीले विश्वव्यापी तापमान वृद्धिलाई डेढ डिग्री सेल्सियसमा सीमित पार्नु पर्ने निचोडसहितको रिपोर्ट आएपछिको पहिलो हो ।

आइपीसीसीले तापमान वृद्धिलाई डेढ डिग्री सेल्सियसमा सीमित पार्न सरकारहरूले हरित गृह ग्यास उत्सर्जनलाई सन् २०३० भित्र ४५ प्रतिशतले कटौती गर्नु पर्ने बताएका छन् ।

सन् २०१५ मा भएको जलवायु परिवर्तन सम्बन्धि पेरिस सम्झौतामा हस्ताक्षर गर्ने करिब २ सय देशले वैश्विक तापमान वृद्धिलाई २ डिग्री सेल्सियसभन्दा कम राख्ने र सम्भव भएमा १।५ डिग्री सेल्सियसभन्दा माथि जान नदिन यसै महिना एक नियम पुस्तिकालाई अन्तिम रुप दिनुपर्नेछ । — अन्नपूर्ण पोष्ट दैनिक

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार