उपत्यकाको फोहोर अब बञ्चरे डाँडामा फालिने

काठमाडौं, २० मंसिर – स्थानीय निकायले यसै वर्षको चैत महिनाभित्र उपत्यकाका सबै स्थानीय निकायको फोहोर व्यवस्थापन बञ्चरे डाँडा ल्यान्डफिल साइटमै गर्नुपर्ने जनाएको छ ।

उपत्यकाका फोहोरको दीर्घकालीन व्यवस्थापन गर्न कामपाका सहसचिव भरतप्रसाद अर्यालको संयोजकत्वमा गठित समितिले सिसडोल ल्यान्डफिल साइट आसपासका अन्य स्थानमा वैकल्पिक ल्यान्डफिल साइटको खोजी गर्दा जग्गा प्राप्तिपछि थप समस्या पर्ने भएकाले वञ्चरेडाँडामै ल्यान्डफिल साइट बनाउनुपर्ने सुझाव तयार गरेको छ ।

समितिले तत्काल वञ्चरेडाँडामा फोहोर व्यवस्थापनको पूर्वाधार निर्माण शुरु नगरे उपत्यकाको फोहोर व्यवस्थापन हुन नसकी विकराल समस्या सिर्जना हुन सक्ने चेतावनी दिएको छ । सो पूर्वाधार विकास निर्माणको कार्य गर्न प्रचलित सार्वजनिक खरिद ऐन तथा नियमावली अनुसार प्रकृया पूरा गर्न समस्या लाग्ने हुँदा मन्त्रिपरिषद्बाट निर्णय गराई छोटो प्रकृया अबलम्बन गरी तत्काल कार्य शुरु गर्न उपयुक्त देखिने निष्कर्ष निकालेको छ ।

हाल १८ स्थानीय निकायको फोहोर व्यवस्थापन हुने सिसडोल ल्यान्डफिल साइटको अवस्था जटिल बन्दै गएको र पछिल्लो समयमा फोहोर व्यवस्थापन गर्न समेत समस्या पर्न थालेपछि गएको भदौमा काठमाडौ महानगरपालिकाका सहसचिवको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरेको थियो ।

समितिले तयार गरेको प्रतिवेदनमा सिसडोल ल्यान्डफिल साइटको हालको अवस्था हेर्दा तत्कालै अर्को ल्यान्डफिल साइटको विकास गरी काठमाडौको फोहोरमैला अन्तिम बिसर्जन गर्नुपर्ने उल्लेख छ ।

सम्भावित वैकल्पिक ल्यान्डफिल साइटको अध्ययन गर्दा अन्य ल्यान्डफिल साइटको तुलानमा बञ्चरेडाँडाको जग्गा प्राप्ति भइसकेको, वातावरणीय मूल्यांकन ९ईआईए० भइसकेको, पहुँच मार्ग खोलिसकेको, कोल्पुखोला पुल निर्माण भइसकेको र फोहोरमैला व्यवस्थापन प्राविधिक सहयोग केन्द्रबाट विस्तृत ढाँचा ९डीपीआर० तयार भइसकेको अवस्थामा बञ्चरेडाँडामै फोहोर व्यवस्थापन गर्नुपर्ने उपयुक्त देखिएको सुझावमा उल्लेख छ ।समितिले प्रतिवेदन तयार गरे पनि सम्बन्धित निकायलाई बुझाएको छैन ।

कामपाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले अबको अन्तिम फोहोर बिसर्जन गर्ने स्थान बञ्चरेडाँडा नै भएको स्पष्ट पानुभयो । समितिले प्रतिवेदन दिएपछि थप अध्ययन गरिने जानकारी दिनुभयो ।

प्रतिवेदन प्राप्त गरेसँगै थप काम अघि बढाउने उहाले बताउनुभयो । प्रतिवेदनमा बैकल्पिक ल्यान्डफिल साइटको वैकल्पिक स्थान बञ्चरेडाँडा, चलेटार, श्यामेखोल्सा, सिस्टे गहिरो, खाल्टे खेत र चापे गहिरोको स्थलगत अवलोकन गर्दा चलेटार, सिस्टे गहिरो र चापे गहिरोको जग्गा सरकारबाट जग्गा प्राप्त भइनसकेको, ईआईए पनि गर्नुपर्ने र सो कार्यकालागि समय लाग्ने उल्लेख छ ।

तर दीर्घकालीन ल्यान्डफिल साइट बञ्चरेडाँडामा १ हजार ७ सय ९२ रोपनी जग्गा प्राप्ति भइसकेको, ईआईए सकिएको, कोल्पुखोलामा पक्की पुल निर्माण भइसकेको अवस्थामा बञ्चरेडाँडा नै अन्तिम विकल्पको रुपमा रहेको समितिको ठहर छ ।

सिसडोलदेखि बञ्चरेडाँडासम्मको सडकको पूर्वाधार विकास निर्माण, मर्मतलगायतका सम्पूर्ण कार्य तुरुन्त गर्नुपर्ने भएकाले सरकारले सडक विभागलाई ततकाल निर्देशक दिन अनुरोध गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ । सरकारले तत्काल पहल गरेमा चैतको अन्तिमसम्ममा बञ्चरेडाँडा ल्यान्डफिल साइटमै फोहोर व्यवस्थापन गर्न सकिने समितिको ठहर छ ।

जापानी सहयोग नियोग जाइकाले सन् २००२ मा बञ्चरेडाँडा दीर्घकालीन ल्यान्डफिल साइटको कन्सेप्चुयल डिजाइन तयार गरी १ अर्ब ८६ करोड लागत लाग्ने अनुमान गरेको थियो । जाइकाले सो ल्यान्डफिल साइट सन् २००९ सम्ममा सम्पन्न हुने जनाएको थियो । जाइकाले कन्सेप्चुयल डिजाइन तयार गरेको ९ वर्ष बितिसक्दापनि ठोस प्रगति हुन सकेको छैन ।

समितिको संयोजकमा कामपाका सहसचिव भरतप्रसाद अर्याल रहनुभएको थियो । टोखा, सूर्यविनायक, कामपा वातावरण व्यवस्थापन विभाग, ललितपुर महानगरपालिका र फोहोरमैला प्राविधिक सहयोग केन्द्र सदस्य रहेको टोलीले उपत्यकाको १८ वटै स्थानीय निकायको फोहोर व्यवस्थापनको अवस्था, सिसडोल ल्यान्डफिलसाइट, वैकल्पिक स्थानको अवलोकन, स्थानीय जनप्रतिनिधिलगायत सरोकारवाला र सिसडोल ल्यान्डफिल साइटपीडितसँग समेत छलफल गरेको थियो ।

हाल काठमाडौ र ललितपुर गरी दुई महानगरपालिकासहित १८ स्थानीय तहबाट दैनिक ८ सय ३ टन फोहोर सिसडोल ल्यान्डफिल साइटमा व्यवस्थापन भइरहेको छ । – नेपाल समाचारपत्र दैनिक

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार