भैंसेपाटीमा मन्त्री निवास बनाउने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं, २१ मंसिर  –  सरकारले राष्ट्रियसभा अध्यक्ष, प्रदेश प्रमुख मुख्यमन्त्री र मन्त्रीहरुका लागि ललितपुरको भैंसेपाटीस्थित सैबु आवास क्षेत्रमा आवास बनाउने भएको छ । मन्त्रिपरिषद्को पछिल्लो बैठकले राष्ट्रियसभा अध्यक्ष, उपध्यक्ष, उपसभामुख र मन्त्रीहरुका लागि २७ वटा भवन निर्माणको निर्णय गरेको हो ।

बैठकले ललितपुर महानगरपालिकाको सैवु भैसैपाटीस्थित सैवु आवास क्षेत्रमा सांसद आवासका लागि छुट्याइएको १४९ रोपनी चार आना ३.२८ दाम जग्गामा ती भवनहरु निर्माण गर्ने तयारी गरेको हो । सो जग्गामा प्रदेश प्रमुख  र मुख्यमन्त्री आवास सम्पर्क कार्यालयका लागि थप १४ वटा भवन समेत निर्माण गर्ने सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले बताएका छन् ।

आज एक विज्ञप्तिमार्फत सरकारका निर्णयहरु सार्वजनिक गर्दै मन्त्री बास्कोटाले पूल्चोकस्थित हाल मन्त्री निवास रहेको परिसरमा समेत १० वटा राजकीय अतिथि गृह निर्माण गर्ने निर्णय भएको बताएका छन् ।

मन्त्रिपरिषद बैठकले केही दिनअघि युनिभर्सल पिस फेडरेसनले पुरस्कारस्वरुप दिएको १ लाख अमेरिकी डलर र सोही बराबरको रकम थपेर प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार कोषको स्थापना गर्ने निर्णय समेत गरेको छ ।

मन्त्रिपरिषद बैठकले नेपाल भारत एकीकृत भन्सार जाँच चौकी वीरगञ्जको स्थापना गर्दा विस्थापित भएर घरबारविहीन हुन पुगेका परिवारलाई प्रति परिवार एक लाख ५० हजार रुपैयाँ र यसअघि मुआब्जा पाएर पनि बसोबासको व्यवस्था गर्न नसकेका परिवारलाई प्रति परिवार एक लाख रुपैयाँ दिने निर्णय पनि गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार