स्वास्थ्य चौकीमै एक गर्भवतीको मृत्यु भएपछि

काठमाडौं, २१ मंसिर – जिल्लाको बेलका नगरपालिका–६ स्थित स्वास्थ्य चौकीमा बच्चा जन्माउन नसक्दा एक गर्भवतीको मृत्यु भएको छ । बेलका नगरपालिका–६ की १९ वर्षीया सम्झना राईको बेलका नगरपालिकास्थित रामपुर स्वास्थ्य चौकीमा मृत्यु भएको हो ।

जटिल प्रकारको प्रसूति सेवा नभएकै कारण गर्भवती राईको अस्पतालमा मृत्यु भएको बेलका नगरपालिकाकी उपप्रमुख राजकुमारी चौधरीले बताइन् ।

‘मुटुको समस्या भएकी सम्झनालाई सुत्केरी व्यथा लागेपछि स्थानीय बर्थिङ सेन्टरमा लगेका थिए, उनले भनिन् । ‘गर्भ जाँच गर्न आउँदा स्वास्थ्यमा समस्या छ, सुविधासम्पन्न अस्पतालमा लैजानू भनेर स्वास्थ्यकर्मीले भनेका रहेछन्, उनले भनिन्, ‘परिवारको हेलचेक्र्याइँले गर्भवती महिलाको मृत्यु भएको स्वास्थ्यकर्मिहरूको भनाइ छ ।’

धरान वा विराटनगरस्थित सुविधा सम्पन्न प्रसूति अस्पतालमा नलगेकै कारण मृत्यु भएको स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीले जानकारी दिएको छ । परिवारका सदस्यले भने स्वास्थ्यकर्मीले लापरवाही गरेको कारण आमा र बच्चा दुवैको ज्यान गएको आरोप लगाएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय उदयपुरका सूचना अधिकारी दुनियालाल यादवले भने, ‘गर्भवती सम्झनालाई सुत्केरी व्यथा लागेपछि अटोमा स्वास्थ्य चौकी पठाएर श्रीमान निशान राई पैसाको जोहो गर्न गाउँतिर लागेको भन्ने पनि सुनेको छु ।’

श्रीमान अस्पताल पुग्दा सम्झनाको मृत्यु भइसकेको थियो । राज्यले ठूलो धनराशि मातृशिशु मृत्युदरमा लगानी गरे पनि बच्चा जन्माउन नसक्दा आमा र बच्चाको मृत्यु हुनु भनेको विडम्बना हो, सूचना अधिकारी यादवले भने ।

मातृशिशु बचाउन सरकाले धेरै लगानी गरेको छ, उनले भने, ‘बच्चा जन्माउन नसकेकै कारण गर्भवतीको मृत्यु हुनु गम्भीर कुरा हो, यस घटनाबाट पाठ सिकेर अघि बढ्नु पर्दछ ।’ – राजधानी दैनिक

http://jagdambacement.com/

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार