अब सिंहदरबारबाटै भ्रष्टाचार विरुद्धको अभियान थालिने

काठमाडौं, २४ मंसिर — सुशासनका विज्ञ एवं नागरिक समाजका प्रबुद्ध व्यक्तित्वले भ्रष्टाचार नियन्त्रणको सुरुवात माथिबाटै गर्न सुझाएका छन्। भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा ट्रान्सपरेन्सी नेपालले आइतबार आयोजना गरेको कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख नवीनकुमार घिमिरेले विभागीय मन्त्रीले नीतिगत निर्णयका नाममा मन्त्रिपारिषद्मा प्रस्ताव लगे भ्रष्टाचारमा तानिने चेतावनीसमेत दिए।

‘गाउँपालिका, मालपोत, न्यायालयसम्म भ्रष्टाचार छ्यापछ्याप्ती छ’, त्रिभुवन विश्वविद्यालउका पूर्वउपकुलपति डा। केदारभक्त माथेमाले भने, ‘९० प्रतिशत युवा बाहिरिएका छन्। कसरी सुशासनमा विश्वास गर्ने रु ’

भ्रष्टाचारभन्दा स्वाभिमान ठूलो विषय भएको र मुलुकमा यस्ता व्यक्ति बिरलै रहेको महालेखापरीक्षक डा। टंकमणि शर्माको भनाइ छ। जिल्लाको भन्दा नियामक निकाय रहेको केन्द्रमै भ्रष्टाचार बढी हुने गरेको उनले बताए। ‘कर्मचारीलाई पक्रिने हो भने एकसाथ हाकिम र मन्त्रीलाई पनि समात्नुपर्छ। मन्त्रीले भ्रष्टाचार गरे प्रधानमन्त्रीले र नेताले गरे पार्टीले जिम्मा लिनुपर्छ’, उनले भने।

माथिल्लो ‘पोलिसी’ र ‘पोलिटिकल लेभल’मै भ्रष्टाचार बढी रहेकाले अख्तियारलाई कारबाहीमा जान चुनौती बढेको पूर्वसभामुख दमननाथ ढुंगानाले बताए। कार्यकारी तहमै हात नहाले भ्रष्टाचार नरोकिने उनको दाबी छ। ‘अख्तियारले हात हाल्न नसक्ने ठाउँमा बढी भ्रष्टाचार छ। दलकै वरपर भ्रष्टाचारी छन्’, उनले भने, ‘दरबारका भ्रष्टाचारी बालुवाटार छिरेका छन्।’

अख्तियारका प्रमुख आयुक्त घिमिरेले ३९ वर्षको सेवामा दाग नलाग्ने गरी बाँकी दुई वर्ष भ्रष्टाचार नियन्त्रणमा काम गरेर बिताउने प्रतिबद्धता जनाए। ‘कछाड बाँधेर काम गर्ने किसानको आँखामा राज्यको उपस्थिति कति छ, त्यसैबाट जनताले धारणा बनाउँछन्। सुशासन चुनौतीपूर्ण छ। अब जनता सेवा लिन आउने होइन, ढोकामै पु¥याउनुपर्छ’, उनलेभने, ‘प्रणालीमै शंका हुने हो कि भन्ने छ।’ ट्रान्सपरेन्सीले यस वर्षको सदाचार सम्मान ९५ वर्षीय अभियन्ता डा। गौरीशंकरलाल दासलाई प्रदान गरेको छ।

प्रधानमन्त्रीद्वारा अख्तियारको प्रशंसा

प्रधानमन्त्री केपी ओलीले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता कायम गर्न सरकार कठोर रूपमा लागिपर्ने बताएका छन्। भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा अतिख्यार दुरुपयोग अनुसन्धान आयोगले आइतबार आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले भ्रष्टाचारविरुद्धको प्रयासमा सकारात्मक रूपमा अघि बढेको भन्दै अख्तियारको प्रशंसासमेत गरे।

‘भ्रष्टाचार रोक्न जिम्मेवारीमा रहेका संस्था र प्रमुख स्वच्छ हुनुपर्छ’, उनले भने, ‘आफू मातहतका निकायका मान्छेका आँखामा गिर्ने काम नगर्नुस्।’ भ्रष्टाचार गर्दिनँ र अरूलाई पनि गर्न दिन्नँ भनेर आफूले प्रतिबद्धता व्यक्त गरेकोमा पहिलो सर्त पूरा गरेको पनि उनले दाबी गरे। ‘दोस्रो सर्त पूरा गर्ने प्रयासमा छु’, उनले भने। नातावाद, कृपावाद, आफन्तवाद, दल केही नभनी कानुनी राज्यको पक्षमा उभिन उनले राष्ट्रसेवकलाई सुझाए।

सुशासनका लागि भ्रष्टाचार चुनौतीका रूपमा रहेको र सामूहिक प्रयासले मात्र नियन्त्रण गर्न सकिने अख्तियारका प्रमुख आयुक्त घिमिरेको भनाइ छ। वेश्यावृत्तिभन्दा पनि भ्रष्टाचार डरलाग्दो हुने उनले बताए। भ्रष्टाचार नियन्त्रण गर्न नसके विवेक र न्याय हराउने भएकाले कर्मचारीलाई सचेत हुन उनले सुझाए। भ्रष्टाचार विश्वमै महारोगका रूपमा रहेको र सामूहिक प्रयासले मात्र नियन्त्रण गर्न सकिने ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालका अध्यक्ष खेमराज रेग्मीको भनाइ छ।  – अन्नपूर्ण पोष्ट दैनिक

http://jagdambacement.com/

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार