‘निर्मला प्रकरणमा मेरो कुनै कमजोरी देखिए बर्दी खोलिदिए हुन्छ’ – अार्इजीपी खनाल

काठमाडौं, २४ मंसिर – नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले निर्मला पन्तको बलात्कारपछि हत्या घटनाको अनुसन्धानमा कुनै दबाव नरहेको बताएका छन् । सोमबार बसेको संसदको दिगो विकास तथा सुशासन समितिको बैठकमा सांसदहरुको जबाफ दिँदै आईजीपी खनालले साे कुरा बताएका हुन् ।

उनले  निर्मला हत्या प्रकरणमा आफूले कसैलाई जोगाउनेतर्फ नलागेको पनि बताएका छन् । ‘हाम्रो सामर्थ्यले सक्ने काम गरिरहेका छौँ, अनुसन्धानलाई प्रभावित पार्ने काम नभइदिएको भए सहज हुन्थ्यो,’ महानिरीक्षक खनालले भने, ‘तर यो घटनामा कसैको दबाब छैन र कसैको दबाबले अनुसन्धान प्रभावित हुँदैन, प्रमुखका रुपमा कुनै कमजोरी देखिए संसद्‍मा राखेर मेरो बर्दी खोलिदिए हुन्छ ।

अनुसन्धान भइरहेको घटनामा विभिन्न तवरबाट अनुसन्धान प्रभावित गर्न खोजिएकोबारे चिन्ता ब्यक्त गर्दै खनालले त्यसरी अनुसन्धान प्रभावित गर्न नखोजेर सबैले सहयोग गरेमा चाँडै परिणाम दिने बताए ।  सांसदहरुले शान्ति सुरक्षाको अवस्था किन यति कमजोर भयो ? विगतमा राम्रो सफलता पाएको प्रहरी अनुसन्धान किन फितलो भयो ? निर्मला पन्तको बलात्कारपछि हत्या गर्नेहरु किन पत्ता लागेनन् भन्ने प्रश्न गरेका थिए ।

राष्ट्रियसभाको दिगो विकास तथा सुशासन समितिले निर्मला पन्तको हत्याको अनुसन्धानबारे छलफल गर्न प्रहरी महानिरीक्षक खनाललाई बोलाएको थियो ।  उनले अनुसन्धानका लागि नियन्त्रणमा लिइएका केही व्यक्तिको नाम हतारमा दिइएका कारण अनुसन्धानमा कमजोरी भएको आशंका गरिएको उल्लेख गरे ।

आईजीपी खनालले नेपाल प्रहरीले अपराधका घटना अनुसन्धानमा ९७.५ प्रतिशतसम्म सफलता पाएको उदाहरण सुनाउँदै निर्मला प्रकरणमा आफूले कसैलाई जोगाउन नखोजेको पनि उल्लेख गरे । ‘निर्मला प्रकरणको अनुसन्धानमा समय लागेकै हो, यसमा प्रहरीबाट केही कमजोरी पनि भएका छन्’, उनले भने, ‘तर प्रहरी कसैलाई जोगाउने नियतका साथ काम गरेको छैन, यसमा मैले कसैलाई बचाउन लागेको या ढाकछोप गरेको पाइएमै संसदमै लगेर मेरो बर्दी खोलिदिनुस् ।’

उनले समग्र शान्तिसुरक्षा र सुशासनका सम्बन्धमा आफूले मात्र नभई गृह मन्त्रालयको नेतृत्वले जवाफ दिँदा उचित हुने बताए । ‘ महानिरीक्षक खनालले भने ‘कुनै अप्रिय घटना नहुन दिनका लागि सुरक्षालाई दृढताका साथ सबै सतर्कता र सक्रियता अपनाइएको छ, महिला र बालबालिकालाई बाहिर निस्कनै गाह्रो छ भन्ने होइन, सहज परिस्थिति छ ।

समितिका सदस्यले मुलुकका शान्ति सुरक्षा र सुशासनका क्षेत्रमा देखिएको चुनौतीबारे चिन्ता प्रकट गर्दै कुनै खास घटना विशेषमा मात्र नभई समग्र सुरक्षा र सुशासनमा सरकार केन्द्रित हुनुपर्नेमा जोड दिएका थिए ।

प्रहरी महानिरीक्षकको भनाइ सुनेपछि बैठकले पन्तको घटनामा संलग्न दोषीलाई चाँडो सार्वजनिक गरी कानूनी कारवाहीको दायरामा ल्याउन निर्देशन दिएको छ । समितिका सभापति तारादेवी भट्टले मुलुकमा भएका अन्य घटना हुन नदिन अझ सजग र कर्तव्यनिष्ट हुन प्रहरीलाई निर्देशन दिइन् ।

साउन १० गते घरबाट निस्केकी कञ्चनपुरको भीमदत्तनगर नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्त त्यसको भोलीपल्ट गाउँकै उखुबारीमा बलात्कारपछि हत्या गरिएको अवस्थामा भेटिएकी थिइन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार