आर्थिक नीति पास भएपछि आज नेपाली कांग्रेसको वैठकमा राजनीतिक प्रस्ताव पेस गरिदै

काठमाडौं, २५ मंसिर – रामकृष्ण चापागाईँ, नेपाली कांग्रसको केन्द्रीय कार्यसमितिको बैठकले आर्थिक नीति प्रस्ताव समितिको सुझाव पारित गरेको छ । समग्र आर्थिक नीति प्रस्ताव समितिका संयोजक सहमहामन्त्री डा. प्रकाशशरण महतले केन्द्रीय सदस्यहरुको सुझाव समेटेर प्रस्ताव पारित गरिएको जानकारी दिनुभयो ।

संयोजक डा।महतले यही मंसिर २८ देखि पौष ३ सम्म हुने महासमिति बैठकमा पेश गर्न केन्द्रिय समितिमा उक्त प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । उक्त प्रस्तावअनुसार आर्थिक नीति उच्च उत्पादकत्वमा आधारित दिगो र फराकिलो आर्थिक वृद्धि, समतामुलक लोककल्याणकारी राज्य, रोजगारमुखी युवा–केन्द्रित उद्यमशीलता, सार्थक वित्तीय संघीयता र सदाचारयुक्त आर्थिक सुशासनमा केन्द्रित रहेको थियो ।

यस्तै उच्च उत्पादकत्वमा आधारित दिगो र फराकिलो आर्थिक वृद्धिका लागि व्यापक स्वदेशी र विदेशी लगानी भित्र्याउने र यसको लागि लगानी प्रक्रियालाई जिम्मेवारीसहितको विकेन्द्रीकृत एकद्वार प्रणाली लागू गर्ने रणनीति अपनाउनुपर्ने कुरा उक्त प्रस्तावमा उल्लेख छ ।

कृषि क्षेत्रमा देखिएको प्रतिफल भन्दा लगानी ज्यादा भएको स्थिति हटाउन वास्तविक किसानको आवश्यकताहरुलाई ध्यानमा राखी सुलभ व्याज दरमा कृषि ऋण सहितको अनुदान नीति ल्याउने जनाइएको छ ।

पर्यटनको विविधिकरण गर्नुपर्ने, नेपाललाई धार्मिक–सांस्कृतिक दृष्टिले अन्तर्राष्ट्रिय पर्यटकीय गन्तव्य स्थलको रुपमा विकास गर्नुपर्ने, व्यापार घाटा कम गरी स्वदेशी जलविद्युतको उपभोग बढाउन २०३० देखि पेट्रोलियम पदार्थमा आधारित यातायातका साधनको प्रयोग पूर्ण अन्त्य गर्दै घरायसी प्रयोजनमा विद्युत उपभोग बढाउनुपर्ने, ‘मास ट्रान्जिट सिष्टम’ को विकास गर्नुपर्ने, स्मार्ट सिटीको अवधारणा कार्यान्वयन गर्नुपर्ने जस्ता विषय उक्त नीतिमा उल्लेख छ ।

सहमहामन्त्री डा।महतका अनुसार यस्तै गुणस्तरीय शिक्षा र स्वास्थ्य, सूचना प्रविधियुक्त अध्ययन, रोजगारमूलक प्राविधिक र व्यवसायिक शिक्षा, आदिमा पनि जोड दिइएको छ । यसैबीच आज मंगलबार बस्ने बैठकमा राजनीतिक प्रस्ताव पेश हुने भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार