जन्ति गएकाे जिप दुर्घटना, बेहुलाका आमा-बुवासहित ६ को मृत्यु

दाङ, २७ मंसिर – पूर्वपश्चिम राजमार्गअन्तर्गत लमही नगरपालिका–९ रिहारमा बिहीबार बिहान विवाह बोकेको जिप र बस ठोक्किँदा ६ जनाको मृत्यु भएको छ । जीप र यात्रु बस आपसमा ठोक्किँदा बेहुलाका आमा-बुवासहित ६ जनाको मृत्यु भएको छ । अन्य केहि घाइते भएको प्रहरीले जनाएको छ ।

बेहुली लिएर चितवनको गितानगरबाट बाँकेको शमसेरगञ्ज जाँदै गरेको बा १२ च ३१२२ नम्बरको स्कारपियो जीप र महेन्द्रनगरबाट काठमाडौंतर्फ जाँदै गरेको ना ५ ख ४०९० नम्बरको बस बिहीबार बिहान २ बजेतिर ठोक्किएका हुन् ।

घाइतेमध्ये बाँके राप्ती सोनारीगाउँपालिका ८ शम्शेरगञ्ज बस्ने बर्ष ४९ का विश्वनाथ अधिकारी, सोहि ठाउँका वर्ष ५ का प्रविन केसी, वर्ष ५३ का मानबहादुर केसीको लमहीस्थित फ्लोरेन्स अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीको भनाई छ । यस्तै सोहि गाउँपालिका ८ का बर्ष ४९ कि बिमला खत्री, बर्ष ३१ दिपक कुमार खड्का र कोहलपुर नगरपालिका १२ का बर्ष ७८ का दक्त बहादुर खत्रीको लमही अस्पतालमा मृत्यु भएको हो ।

मृतकहरुमा बेहुलाका बुवा मानबहादुर केसी, आमा बिमला खत्री र भतिज प्रविन केसी रहेका छन् । दुर्घटनामा बेहुलाकै आफन्त ४५ वर्षीया गितादेवी खत्री र चालक २१ वर्षीय यमबहादुर मगर घाइते छन् । उनीहरुलाई उपचार गर्न बाँकेको कोहलपुर पठाइएको प्रहरीले जनाएको छ ।

बेहुला र बेहुली भने अर्काे गाडीमा थिए । बुवा-आमा र आफन्त चढेको जीप भने विपरित दिशाबाट आइरहेको बससँग ठोक्किएको हो । बसका यात्रुहरु भने सकुशल छन् ।

स्कारपियाे गाडीमा ८ जना सवार भएकाे भन्दै प्रहरीले ६ जनाकाे मृत्यु भएकाे र २ जना घाइते भएकाे जनाएकाे छ ।  घाईते दुबैलाई नेपालगञ्ज कोहलपुर मेडिकल कलेजमा रिफर गरिएको फ्लोरेन्स अस्पताल लमहीका प्रमुख डा।पुष्प भुषालले बताएका । मृत्यु भएको सबैको शव पोष्टमाटमका लागि लमहि अस्पतालमा राखिएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार