काठमाडौं, १ पुस – करिब ६ वर्षपछि भएको महासमिति बैठकमा बोलेका नेताहरुले गुट र व्यक्तिगत स्वार्थका कारण पार्टी धराशायी भएको भन्दै विगतका कमीकमजोरी सुधार्नुपर्ने बताए। लम्बेतान भाषणकै क्रममा कांग्रेस उपसभापति विजयकुमार गच्छदारले पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलको ‘अचम्मको प्रेम’ सुनाउँदै महासमिति बैठकको उद्घाटन समारोहमा सहभागीलाई हसाएनन् मात्र, नेताद्वयलाई हातेमालो गर्दै एकता सन्देश दिन लगाए ।
शनिबारदेखि सुरु भएको महासमिति बैठक उद्घाटन समारोहमा अहिलेसम्म भएका सबै पदाधिकारीले सम्बोधन गरे तर, अधिकांश नेताहरु देउवा र इतरको गुटमा प्रष्ट देखिएका थिए । देउवा समूहका नेताहरु चुनाव गराउनु यो ऐतिहासिक भएको भन्दै नेतृत्वको प्रतिरक्षामा उभिएका थिए भने इतरका नेताहरुले चुनाव हार लगायतका विषयमा नेतृत्वमाथि प्रश्न उठाएका थिए।
फोरम लोकतान्त्रिकलाई कांग्रेसमा विलय गराएर उपसभापति भएका गच्छदारले त्यसमा ब्रेक लगाए । ‘आजै एकताको संदेश दिनुपर्छ । दुबै नेताले कसम खाएर अगाडि बढ्नुपर्छ । अहिल्यै हात उठाएर एकताको संदेश दिनुस्’ भन्दै उनले कर गरे ।
देउवा र पोडेलले पालोपालो उभिएर हात हल्लाए तर, बोलिरहेका गच्छदारसँग दुई नेताको छेउमा रहेका उपसभापति विमलेन्द्र निधि र महामन्त्री शशांक कोइरालाले उछेर हात नै तानेपछि देउवा र पौडेल दुबैले उठेर हातेमालो गरे । यद्यपि वरिष्ठ नेता पौडेलले असहज मानेको प्रष्टै देखिन्थ्यो ।
उपसभापति विमलेन्द्र निधिले पनि विगतलाई बिर्सिएर एकता कायम गर्न दुई नेतालाई आग्रह गरे । आरोप प्रत्यारोप चलिरहेको उद्घाटन समारोहमा एकाएक एकताको माहौल देखियो ।
सभापति भन्दा अगाडि बोलेका वरिष्ठ नेता पौडेलले ‘जुगाँको रेखी बस्दादेखि नै सँगै रहेको दुई नेताबीच किन एकता नहुने’ भन्दै सम्बोधन सुरु गरेका थिए । सेन्टिमेन्टल नेता भएकाले गच्छदार भन्दा प्रत्यार नलागेको तर, विमलेन्द्र निधिले पनि भनेपछि एकतामा आश पलाएको पौडेलले सुनाए ।
उनले देउवासँग हातेमालो गर्न आनाकानी गर्नुको कारण पनि घुमाउरो रुपमा सुनाए । गिरिजाप्रसाद कोइराला र कृष्णप्रसाद भट्टराईले पोखरामा हातेमालो गरेको तर, काठमाडौं आएपछि दुर्घटना भएको तथा आफूले पनि पटक पटक धोका खाएको भन्दै उनले भने, अगुल्टोले हानेको कुकुर विजुली देखेर तर्सिन्छ नि ।’
वरिष्ठ नेता पौडेलले आफूसँगै एकताको पक्षमा रहेको तर, एकता केका लागि भन्ने प्रश्न गरे । उनले भने, चुनावमा नराम्ररी हारेका छौं । यो हारलाई जितमा कसरी परिणात गर्ने ? यसमा एकता गरौं । मुद्दा, कार्यशैलीमा एकता गरौं, पार्टीमा केके कमजोरी छ, त्यसलाई हटाउन एकता गरौं ।’
पार्टीमा न्याय, निश्पक्षता र पारदर्शीताबाट हुनुपर्ने र नेतृत्वमा सबैलाई मिलाएर लैजान्छु, सबैलाई याय दिन्छु भन्ने अठोट हुनुपर्ने उनले बताए । नेता पौडेलले भने, ‘यहाँ हात उठाएर मात्र हुँदैन । एकताका निश्चित आधारहरु खोज्नुपर्छ ।’
पार्टी सभापति देउवाले सम्बोधन सुरु गर्दा साझँको झण्डै साढे ६ बजिसकेको थियो । साँझको गास र बास आफैं व्यवस्थापन गर्नु पर्ने भनिएकाले महासमिति सदस्यहरुलाई हिड्न हतारो भइरहेको थियो । त्यसैले सभापतिले के भनिरहेका छन् कमैले ध्यान दिए । आपसका कुराकानीले हल्लाखल्ला थियो ।
‘एकछिन प्लिज सुनिदिनुस्, चित्त नबुझे भोलि बोल्नुस्’ शान्त बस्न आग्रह गर्दै देउवाले भने । उनले लिखित सम्बोधन गरेको भए पनि हल्लाखल्लाका बीच भाषण सुन्न मुस्लिक थियो । यद्यपि उनले पटक पटक शान्त बस्न आग्रह गर्दै झण्डै सम्बोधन गरे ।
पार्टी सभापति देउवाले देउवाले मिलाएर लैजाने र कसैले पनि पार्टी छाड्नुपर्ने अवस्था आउन नदिने बताए । आफ्नो विरोध गर्ने छुट पनि रहेको र, गल्ती भएको भए सुधार गर्ने पनि बताए । उनले अघि भने, तर, ओलीको खिलापमा पनि बोल्नुस् । कम्तिमा माधव नेेपालले जत्ति हिम्मत गर्नुस् ।’
सम्बोधन अन्त्य गर्दै आलोचकलाई प्रश्न गरे, ‘म किन ठीक छैन ? उसो भए ओली ठीक छ त ?’