संविधानले दिंदैन नत्र दुईटा प्रधानमन्त्री हुन पनि बेर लाग्ने थिएनः प्रम ओली

काठमाडौं, १ पुस – प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले संविधानले दिएको भए दुईवटा प्रधानमन्त्री बन्न बेर नलाग्ने बताएका छन् । तत्कालीन एमाले निकट पेशागत प्रगतिशील कानून व्यवसायी सङ्गठन र नेकपा (माओवादी केन्द्र) निकट गणतान्त्रिक प्रगतिशील कानून व्यवसायी एशोसिएशनबीच एकीकरण गरी आज नेपाल कानून व्यवसायी सङ्गठन घोषणा गर्न पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

प्रधानमन्त्री ओलीले भने, “प्रजातन्त्रको नमूना काम गर्ने हाम्रो पार्टी नै हो, दुई अध्यक्ष भएर राम्ररी पार्टी चलाएका छौं, यतिको राम्रो उदाहरण संसारमा कहीँ देखिएको छैन । संविधानले दिँदैन, नत्र दु्ई जना मिलेर प्रधानमन्त्री भई देश पनि चलाउथ्यौँ ।” ‘डमरुलाई कसैले आक्रमण गर्छ भने बघिनी जतिसुकै ठुलो भीड भए पनि प्रतिकारमा उत्रने बताउँदै प्रधानमन्त्री ओलीले गणतन्त्रका धरोहरहरुविरुद्धको दुस्प्रचारका विरुद्ध बोल्नु आफ्नो कर्तव्य भएको बताए ।

उनले सफलतातर्फ अघि बढिरहेको सरकारका विरुद्ध अनेक किसिमका दुस्प्रचार गरिएको पनि बताए। ‘हामी अहिले असाधारण सफलताको विन्दुमा छौँ’ उनले भने, ‘तर यो सफलताको विरुद्ध भयानक प्रचार युद्ध सञ्चालनमा छ। त्यसलाई परास्त गर्नुपर्दछ।’

नेपाल प्रहरीले तालीम केन्द्र पनौती सार्ने भनेर १५ सय रोपनी जग्गा किन्ने तीन दशक अगाडिको निर्णय भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भने, “राष्ट्रपतिले प्रहरीको ठाउँ लिन खोजेको रे, यो राष्ट्रपतिका विरुद्ध होइन, गणतन्त्रका विरुद्ध हो, गणतन्त्रका विरुद्ध बोल्ने र राजतन्त्र ब्युँत्याउँछौं भन्ने सपना नदेखे हुन्छ ।”

उक्त अवसरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अर्का अध्यक्ष पुष्पकमल दाहालले देशलाई समृद्ध बनाउने अभियानमा कानून व्यवसायीले काम गर्नुपर्ने बताए। कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका बीचमा हुने कमीकमजोरीलाई पूर्णता दिन पार्टीका कानून व्यवसायीले महत्वपूर्ण भूमिका खेल्नुपर्ने उनको अभिब्यक्ति थियो ।

नयाँ गठन भएको नेपाल कानून व्यवसायी सङ्गठनको संयोजक रुद्र नेपाल र सहसंयोजक डा. दिनमणि पोखरेलको नेतृत्वमा ४५ सदस्यीय कार्यसमिति चयन भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार