काठमाडौं, २ पुस – मेलम्ची खानेपानी आयोजनाका ८ जना विदेशी कर्मचारी समातिएका छन् । क्रिष्मस डे मनाउने बहानामा मेलम्ची खानेपानी आयोजना निर्माणको ठेक्का लिएको इटालियन कम्पनी सिएमसीका कर्मचारीहरु भाग्न खोजेपछि प्रहरीले नियन्त्रणमा लिइएको हो ।
महानगरीय प्रहरी वृत्त, दरबारमार्गको टोलीले उनीहरुलाई आइतबार राति ठमेलको एक रेस्टुरेन्टबाट नियन्त्रणमा लिएर खानेपानी मन्त्रालयको जिम्मा लगाएको वृत्तका प्रमुख डीएसपी दानबहादुर मल्लले बताए ।
‘उनीहरु ठमेल एरियामा हुनसक्ने भन्दै निगरानी गरिदिन मन्त्रालयबाट खबर आएपछि लोकेट गरिदिएका हौं’ उनले थपे, ‘हामीले मन्त्रालयकै जिम्मा लगाएका छौं ।’ यसअघि एक जना कर्मचारीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अध्यागमनले रोकेको थियो ।
अनुसन्धानका क्रममा उनैले अन्य कर्मचारी पनि भाग्न खोजेको सूचना दिएका थिए । सोही आधारमा थप ८ जना कर्मचारी पक्राउ परेका हुन् । ‘उनीहरुले पासपोर्ट तयार पार्नेदेखि लिएर टिकट काट्न समेत भ्याइसकेका थिए’, एक अधिकारीले भने, ‘गैरजिम्मेवार तरिकाले भाग्न खोजेपछि प्रहरीको सहयोग लिएका हौं ।’