राजनीतिक दुशमनी ! गोविन्दराज जोशी समूहद्वारा समानान्तर कमिटीको घोषणा

दमौली, ६ पौष – नेपाली कांग्रेसका पूर्व सहमहामन्त्री गोविन्दराज जोशीनिकट समूहले तनहुँमा समानान्तर कार्यसमितिको तयारी गरेको छ ।बिहीबार दमौलीमा पत्रकार सम्मेलन गर्दै जोशीनिकट नेता–कार्यकर्ताले जिल्ला नेतृत्वप्रति असन्तुष्टि जनाउँदै अलग्गै विशेष भेलाको घोषणा गरेका हुन् ।

पार्टीको जिल्ला नेतृत्व परिवर्तन गर्न भन्दै उनीहरुले आगामी माघ ८ गते विशेष अधिवेशन आयोजना गर्ने भएका छन् । जोशीनिकट समूहले पार्टी नेतृत्वको गतिविधि कमजोर भएको र निर्वाचनमा समेत सबै सीटमा पराजय भोग्नुपरेको भन्दै त्यसप्रति चर्को असन्तुष्टि व्यक्त गरेको थियो ।

पत्रकार सम्मेलनमा नेता जोशीले चुनावमा पार्टी कमजोर हुनुमा नेतृत्वको हात भएको भन्दै सोही कारण नेतृत्व परिवर्तन गर्नुपरेको दावी गरे । नेता जोशीले पार्टीका क्षेत्रीय प्रतिनिधिलाई महाधिवेशन डाक्ने अधिकार भएको जिकिर गर्दै विशेष अधिवेशन बोलाइएको बताएका छन् । ‘पार्टी नेतृत्वले सही काम गर्न नसकेको साथीहरुले ठहर गरेकाले क्षेत्रीय प्रतिनिधिहरुले अधिवेशन घोषणा गरिएको हो,’ जोशीले भने ।

यस अधिवेशनमा उनले पार्टीको विधानअनुसार २५ प्रतिशतभन्दा बढी क्षेत्रीय प्रतिनिधि आउने दावी गरेका छन् । अधिवेशन आयोजनाका लागि डिल्लीराम अधिकारीको नेतृत्वमा आयोजक समिति समेत गठन गरेको बताइएको छ ।

जोशी समूहले घोषणा गरेको अधिवेशनप्रति भने पार्टी नेतृत्वको समर्थन छैन । पार्टीकै विधानविपरित देखिने यस अधिवेशनबाट चुनिने नयाँ कार्यसमिति कांग्रेसको समानान्तरक कमिटीकै हैसियतमा रहने छ ।

प्रतिनिधिसभा निर्वाचनको बेला कांग्रेस नेता रामचन्द्र पौडेलविरुद्ध उम्मेदवारी दिएका नेता जोशीको उमेदवारी निर्वाचन आयोगले खारेज गरिदिएको थियो । तनहुँमा कांग्रेसका दुई प्रभावशाली नेता रामचन्द्र पौडेल र गोविन्दराज जोशीबीच लामो समयदेखि राजनीतिक दुशमनी कायम छ । – अन्नपुर्ण पोष्ट दैनिक

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार