दाङ, ६ पुस – दाङमा विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका– ३ राम्री नजिक बा ४ ख ९७६६ नम्बरको विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको दाङका एसपी बेलबहादुर पाण्डेले बताउनुभयो । दुर्घटनामा १० जना घाइते भएका छन् ।
सल्यानको कपुरकोटस्थित मुलपानी वनस्पती उद्यानको अवलोकन भ्रमण गरेर फर्किंदै गरेको विद्यार्थी र शिक्षक चढेको बस शुक्रबार साँझ दुर्घटनामा परेको हो । बसमा सहिद कृष्णसेन प्राविधिक शिक्षालयका शिक्षक तथा विद्यार्थीसहित ३१ जना चढेका थिए । बसमा ९ जना महिला र २२ जना पुरूष थिए ।
बस झण्डै सात सय मिटर तल भीरमा खसेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले जानकारी दिनुभयो ।
यही बर्षदेखि सञ्चालनमा आएको सहिद कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालय घोराहीको गाडी दुर्घटनामा परेको प्रिन्सिपल यादव सुवेदीले जानकारी दिनुभयो । यही बर्ष सिटिइभिटीको आंगिक कलेजको रुपमा स्थापना भएको शिक्षालय घोराही १७ गैरागाउँमा सञ्चालन भैरहेको थियो । वन विज्ञानमा अध्ययनरत विद्यार्थीहरु जुलोजी र बोटानीका शिक्षकसहित फिल्ड भ्रमणका लागि शुक्रबार कपुरकोट गएका थिए ।
दुर्घटनामा घाईते हुनेहरुमा जुम्ला तातोपानी गाउाँपालिका १४ बस्ने १८ वर्षीया हिमाली हमाल, जुम्ला चन्दनाथ गाउपालिका ३ बस्ने १६ वर्षीय कुशेन्द्र खत्री, जिल्ला दाङ घोराही उपमहानगरपालिका १५ रतनपुर बस्ने १७ वर्षीया समिक्षा रोकाया, जिल्ला अछाम मंगलसेन नगरपालिका बस्ने १८ वर्षीया बिक्रम भण्डारी, जिल्ला रुकुम त्रिबेणी गाउँपालिका ३ बस्ने १६ वर्षीय प्रेम बहादुर खड्का, जिल्ला दाङ घोराही उपमहानगरपालिका १९ स्यूजा बस्ने १७ वर्षीया मेनुका रिजाल, जिल्ला जुम्ला चन्दनाथ गाउँपालिका २ बस्ने १७ वर्षीय जिबन भण्डारी, सोही ठाउँ बस्ने १६ वर्षीया पर्शा रोकाया, जिल्ला अछाम मंलगसैन नगरपालिका बस्ने १९ वर्षीय यूवराज ढुंगाना, जिल्ला रुकुम सानोभेरी गाउँपालिका ३ बस्ने १६ वर्षीया रोजिना पुन रहेका छन् ।