काठमाडौं, ८ पौष- नेपाली कांग्रेसको जारी महासमिति बैठकमा विधान संशोधनको मस्यौदा पेस गरिएको छ । पदाधिकारीसहितका मूल विषयमा विवाद रहँदा विधानकै कारण महासमिति बैठकमा नेताहरुबीच घोचपेच चल्दै आएको थियो भने महासमितिमा विधानको मस्यौदा पेस हुन सकेको थिएन ।
लामो विवादपछि कांग्रेस विधानको मूल जडका रूपमा रहेका पदाधिकारीमा १४ जना रहने गरी शुक्रबार साँझ सहमति भएको थियो । सहमतिबाट पदाधिकारीसहित विधानमा राख्ने अन्य व्यवस्थालाई अन्तिम टुंगो लगाइएपछि शनिबारको बन्द सत्रमा विधानको मस्यौदा पेस गरिएको हो । विधान मस्यौदा बनाउन गठित मस्यौदा समितिका संयोजक पूर्णबहादुर खड्काले विधानको मस्यौदालाई बन्द सत्रमा प्रस्तुत गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।
‘केन्द्रीय समितिबाट अनुमोदन गरिएको विधान मस्यौदालाई शनिबार महासमितिमा पेस गरिएको छ,’ प्रवक्ता शर्माले भने ।
कांग्रेस विधानमा शुक्रबार मात्रै महाधिवेशनमार्फत निर्वाचित हुनेगरी १३ जना र निर्वाचित केन्द्रीय सदस्यबाट मनोनीत हुने एक जना गरी कुल १४ जना पदाधिकारी रहने टुंगो लागेको थियो । यससँगै कांग्रेसमा अब एक जना सभापति, दुई–दुई जनाका दरले उपसभापति र महामन्त्री, आठ जना सहमहामन्त्री तथा एक जना कोषाध्यक्ष गरी कुल १४ जना पदाधिकारी रहनेछन् ।
यस्तै सभापतिदेखि सहमहामन्त्रीसम्मका १३ जना पदाधिकारी महाधिवेशन प्रतिनिधिको मतमार्फत निर्वाचित भएर आउनुपर्नेछ भने एक जना कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्यमध्येबाट सभापतिले केन्द्रीय समितिमा सिफारिस गर्नेछन् ।
गत २९ मंसिरबाट सुरु भएको महासमिति बैठकमा विधानका विषयमा नेताहरुबीच कुरा मिल्न नसक्दा महासमिति बैठकस्थल नै प्रदर्शनी मार्गबाट पार्टी केन्द्रीय कार्यालय सारिएको थियो । मस्यौदा पेस भएपछि शनिबार मात्रै विधानसहितका अन्य प्रतिवेदनमाथि २६ जना महासमिति सदस्यले धारणा राखेका छन् । विधानमाथि महासमिति सदस्यहरुले धारणा राख्ने क्रम नसकिएपछि महासमिति बैठक आइतबार बिहान फेरि बस्ने प्रवक्ता शर्माले जानकारी दिए ।
६ सय प्रतिनिधिले धारणा राख्न नाम टिपाएकोमा हालसम्म ४ सयभन्दा बढीले धारणा राखिसकेको उनले जानकारी दिए ।
यसैबीच कांग्रेसको जारी महासमितिको शनिबारको बन्द सत्रले तत्कालीन फोरम लोकतान्त्रिकसँग भएको पार्टी एकतालाई अनुमोदन गरेको छ । हाल सो दललाई कांग्रेससँग एकता गराएका तत्कालीन फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार उपसभापति छन् । उनी कांग्रेस संसदीय दलका उपनेतासमेत छन् ।
कांग्रेसको हालको विधानमा एक मात्र उपसभापति रहने व्यवस्था भए पनि तत्कालीन फोरम लोकतान्त्रिकसँगको पार्टी एकताको पूर्वसहमतिअनुसार उनलाई उपसभापति बनाइएको थियो । उनीसँगको पार्टी एकताका समयमा भएको पूर्वसहमति कार्यान्वयनका लागि यसअघि कार्यदलसमेत बनाएको थियो । उपसभापति विमलेन्द्र निधिको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल बनाइएको थियो । सो समितिले फोरम लोकतान्त्रिकसँगको पूर्वसहमतिअनुसारको मोडालिटीमा केन्द्रीय सदस्य, प्रदेश, जिल्ला, क्षेत्र र नगर स्तरमा नेताहरुको व्यवस्थापनका विषयमा काम गर्ने बताइएको छ । – राजधानी दैनिक