काठमाडौं, ८ पुस – नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले नेकपाका अध्यक्ष पुष्पकमल प्रचण्डको अभिव्यक्तिप्रति आपत्ति प्रकट गर्दै क्रिश्चियन धर्मको प्रचार गर्ने कम्युनिस्टहरुले कांग्रेसकाे चिन्ता गर्नुपर्दैन । ‘नेपाली कांग्रेस प्रजातान्त्रि पार्टी भएकोले कम्युनिस्टजस्ता विचार दबाएर राख्ने प्रवृति छैन। त्यसकारण महासमिति बैठकमा हिन्दु राष्ट्रको कुरा उठेको हो। यसलाई नेकपाका नेताहरु टिप्पणी गरेको सुहाउँदैन।’
उनले भने, ‘संविधान बनाउँदा को-कोसँग बसेर के विषयमा बहस गरेर संविधान बनाउनु भयो। प्रचण्ड नेतृत्वको पार्टीको सरकार जो क्रिश्चियन धर्म फैलाउन प्रचार गरिरहेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले धर्म प्रचारकलाई चिठी लेखेर निमन्त्रणा गर्नुहुन्छ। त्यसकारण उहाँहरुले अनि धर्म निरपेक्षको बहस गर्न सुहाउँदैन।’ उनले थपे, आफू संविधानमा भएका प्रावधानका विषयमा नेकपाका शिर्ष नेतासँग बहस गर्न तयार रहेको बताएका छन्।
नेकपाका अध्यक्षसमेत रहेका प्रचण्डको कुरा सुनेर आफूलाई उदेक लागेका बताए। देश चलाउने प्रधानमन्त्रीलाई एक एनजिओले चलाएर तीनदिनसम्म होटलमा राख्दा उहाँ किन बोल्नु भएन भन्दै डा शेखरले प्रश्न गरेका छन्। उनले भने, ‘संविधान संशोधन र जनमत संग्रह गर्न दुईतिहाइ बहुमत चाहिन्छ। त्यो त नेकपासँग छ। अनि शुसिल स्वर्गबाट आउनुहुन्छ भनेर टिप्पणी गर्न सुहाउँदैन।
प्रचण्डले शनिबार एक कार्यक्रममा लामो संघर्ष र सबैभन्दा लोकतान्त्रिक विधिबाट संविधान बनाएको र त्यसको नेतृत्व कांग्रेस गरेको स्मरण गराएका थिए। उनले भनेका थिए, ‘सुशील कोइरालालाई गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समोवशीतासहित संविधान निर्माणको पिता भनेर कांग्रेसले शायद केन्द्रीय समितिबाटै निर्णय गरेको छ । पिता त अब स्वर्गमा हुनुहुन्छ, हिन्दु धर्को कुरा गरेर त्यो पितालाई स्वर्गबाट झार्न खोजेको हो र ?’
त्यस्तै डा शेखरले कांग्रेसले स्थानीय र प्रदेशको टिकट बाँड्ने अधिकार प्रदेशलाई नै दिनुपर्ने तर्क गरेका छन्। उनले भने, ‘विधानमा प्रदेशलाई टिकट बाँड्ने अधिकार छैन। सात प्रदेशका १२ ठाउँमा विधान छलफल भयो। तर, प्रदेशबाट आएको सुझावलाई किन इन्कार गरियो ? केन्द्रीय समितिबाट मात्रै छलफल गराए पनि हुन्थ्यो नि।
उनले आजै विधान पास गर्नुपर्ने बताए। केन्द्रीय सदस्यहरुले महासमिति सदस्य र जिल्ला सभापतिले राखेका कुरालाई नजर अन्दाज नगर्न पनि उनले आग्रह गरेका छन्। उनले भने, ‘अहिले यसै विधानलाई स्वीकार गरेर हिड्नुपर्छ। विधान भनेको सम्झौताको दस्ताबेज हो। यसलाई पुन परिवर्तन पनि गर्न सकिन्छ। केही त्रुटीहरु छन् भने त्यसलाई केन्द्रीय कार्यसमितिले परिवर्तन गर्दै जानुपर्छ।’
उनले नेपाली कांग्रेसका महासमिति सदस्य तथा प्रतिनिधिहरुले देखाएको धैर्यताको प्रशंसा गरेका छन्। उनले भने, ‘नेपाली कांग्रेसका साथीहरु जो विभिन्न जिल्लाबाट आउनु भएको छ। यति संयमित त कुनै पनि पार्टीका हुँदैन। जाडोको मौसम छ। चार दिनका लागि बोलाएको बैठक १० दिन भइसक्यो। अन्य पार्टीमा अहिलेसम्म भाँडभैलो भइसक्थ्यो।’