आज अंग्रेजी नयाँ वर्ष तथा नेपाली टोपी दिवस विश्वभर टोपी लगाएर मनाइदै

काठमाडौं, १७ पुस – आज अंग्रेजी नयाँ बर्ष २०१९ को सुरुवात तथा नेपालमा आज नेपाली टोपी दिवस मनाइँदै छ। जनवरी १ तारिख । टोपी दिवस । अंग्रेजी नयाँ वर्षको रौनकमा विश्व डुबिरहँदा विश्वभर नै छरिएर रहेका नेपालीहरुले त्यही नयाँ वर्षमा टोपी लगाएर टोपी दिवस मनाउँछन् । पछिल्ला केही वर्षदेखि टोपी बचाउ अभियान पनि यसमा समेटिएको छ ।

विशेषगरी युवाहरुले टोपी दिवसमा ढाकाको टोपी ढल्काएर एकतावद्ध भएर हिंड्छन् । यतिसम्मकि टोपी पुरुषलेमात्र लगाउने भए पनि महिलाले समेत टोपी लगाएर ऐक्यवद्धता जनाएको पाइन्छ ।  युवाहरुले व्यक्तिको परिचय नागरिकता भएजस्तै राष्ट्रको परिचय ढाका टोपी भएकोले यसलाई बचाउनतर्फ सबैको ध्यान केन्द्रित गराउँदै आएका छन् ।

नेपालमा भने सन् २००८ देखि मनाउन थालिएको हो । नेपालमा अझै पनि युवाले टोपी लगाउँदा हेर्ने नजर फरक छ । बुढापाका र उच्च ओहदामा रहेकाहरुले भने टोपी लगाउँदै आएका छन् । यसले उनीहरुको ओजसमेत बढाएको पाइन्छ ।

 आज माइतीघरमा भेला भएर  युवायुवती तथा प्रौढहरुले  गत वर्षजस्तै ‘टोपी दिवस’ मनाएका छन् । कार्यक्रममा सहभागी महिलाले समेत ढाकाटाेपी लगाएका छन् । विश्वव्यापीकरणको प्रभावले अंग्रेजी नयाँ वर्ष मनाउने प्रचलन बढिरहेको भन्दै २०१४ जनवरी १ देखि  केही युवाहरुले नेपाली मौलिक पोशाक संरक्षणको अभियानका लागि ‘टोपी दिवस’ मनाउन सुरु गरेका हुन् ।

स्वतन्त्र राष्ट्रप्रेमी अभियान नेपाल, जागरुक युवा अभियान नेपाल, गुन्यूचोली राष्ट्रिय जागरण नेपाललगायतका संस्थाहरुले संयुक्त रुपमा टोपी दिवसको कार्यक्रम आयोजना गरेका हुन् । राष्ट्रिय पोसाक दौरा सुरुवाल र ढाका टोपीमा सजिएका सहभागीहरुले ढाका टोपीलाई पहिचान दिन माग गर्दै राष्ट्रिय पोसाकको संरक्षण गर्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा सन्हाइ, दमाहालगायतका परम्परागत बाजागाजा पनि बजाइएकाे थियो ।

टोपीलाई नेपाली पोशाकका रुपमा लिने गरिए पनि पछिल्लो समय यसलाई नेपाली पोशाकको सूचिबाट राज्यले हटाइएको भन्दै संविधान संशोधनमा यो विषयलाई पनि उठाउनुपर्ने माग समेत गरिएको छ।

ढाका टोपीको माथिल्लो भागको चुचुरोले हिमालको प्रतिनिधित्व गर्ने, बीचको भिरालो भागले पहाडको प्रतिनिधित्व गर्ने र सबैभन्दा तलको समथर भागले तराईको प्रतिनिधित्व गर्ने जागरुक युवा अभियान नेपालका सदस्य तथा युवा भएर पनि कहिल्यै टोपी शीरमा नछुटाउने व्यक्ति ज्ञानमणि नेपालले बताए।

नेपाली टोपीले सबै जाति तथा क्षेत्रको प्रतिनिधित्व गर्छ, तसर्थ नेपाली टोपी नेपाली पहिचानका रुपमा घोषणा गर्न उनको माग छ। ढाकाटोपी, कालोटोपी, भाद्गाउँले टोपी लगायत यी र यस्तै आकारप्रकारका विविध सामुदायिक टोपीहरु यस अन्तर्गत नै पर्छन्।

एकदिन मात्र टोपी लगाएर फोटो खिचाउने र ३६४ दिन मतलब नगर्नेहरुलाई तस्बिर खिचाउनका लागि टोपी नलगाउन उनीहरुको आग्रह छ। यसले गर्दा गम्भीर विषय पनि हल्का बन्‍ने उनीहरुको विश्लेषण छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार